शिवहरिप्रसाद भट्टराई
राजविराज
औद्योगिक वातावरण नभएको भन्दै उद्योगीहरू विस्थापित भएपछि उद्योग विहीन रहेको सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा बर्षौपछि अत्याधुनिक उद्योग सञ्चालनमा आएको छ। मिलन डेरी एन्ड फुड इन्डष्ट्रिज प्रालिले शुक्रबारदेखि औद्योगिक क्षेत्रबाट आफ्नो उत्पादन शुरू गरेको हो।
पाँच करोड रुपियाँको लागतमा देशकै सबैभन्दा ठूलो दही प्रोसेसिङ र पूर्वाञ्चलमै सबैभन्दा ठूलो दूध प्रोसेसिङ युनिट युक्त डेरी एन्ड फुड इन्डष्ट्रिजको शुक्रबारै राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक कैलाश ढुंगेलले उद्घाटन गर्नुभयो। १५ हजार लिटर क्षमताको स्वचालित डेरी उद्योग सञ्चालनमा आएपछि सप्तरीलगायत आसपासका जिल्लाका किसान तथा उपभोक्ता लाभान्वित हुने प्रबन्ध निर्देशक राघोप्रसाद सिंहले जानकारी दिनुभयो। २०६३ सालदेखि म्यानुअल प्लान्ट (हातबाटै दुग्ध पदार्थ उत्पाद गर्ने विधि) सञ्चालन गर्दै आए पनि माग बढ्दै गएपछि स्वचालित मेसिनसहितको उद्योग शुरू गरेको उहाँको भनाइ छ।
उहाँले अहिले पनि औद्योगिक क्षेत्रमा ढुक्कसँग उद्योग सञ्चालनको वातावरण नभएको प्रतिक्रिया दिँदै आफूले शुरू गरेपछि अन्य उद्योगी पनि आकर्षित हुने र त्यसपछि वातावरण बन्दै जाने विश्वासका साथ उद्योग सञ्चालन गरेको बताउनुभयो। उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्न मात्र आफूले ४०⁄४० लाख रुपियाँ खर्चिनु परेको जानकारी दिनुभयो।
निकै संघर्षपछि हाल विद्युत्को हटलाइन सेवा तथा पानीको व्यवस्था मिलाइएको जानकारी दिनुभयो।निर्वाध रूपमा उद्योग सञ्चालनका लागि अहिले पनि सुरक्षा चुनौती कायमै रहेको बताउँदै औद्योगिक क्षेत्र प्रशासनले त्यसतर्फ ध्यान दिनुपर्ने सिंहले बताउनुभयो। वसविट्टी गाविसस्थित दुई सय ९४ रोपनी (२२ विगाह) क्षेत्रफल लामो समयदेखि उद्योग विहीन हुँदा संरक्षण अभावमा लथालिङ छ। औद्योगिक क्षेत्रको पर्खाल ठाउँ ठाउँमा भत्केको कारणले आसपासका बस्तीबाट गाईवस्तु समेत निर्वाध रूपमा प्रवेश गर्ने गरेका छन्।
बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक, चमेना गृह, अतिथि गृह, विद्युत्, टेलिफोनलगायतका सुविधा सहित १० वटा उद्योग सञ्चालनको क्षमता रहेको औद्योगिक क्षेत्रमा अहिले अन्य कुनै पनि उद्योग सञ्चालनमा छैनन्। औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख सञ्जय थापाका अनुसार पहिले स्थापना भएका महालक्ष्मी खाद्य उद्योग, कृष्णा खाद्य उद्योग, पदमज्योति प्लाष्टिक उद्योग, माँ भगवती कृषि टोम्याटो फुड इन्डष्टिज«, अल नेपलिज टि एन्ड कफी सेन्टर प्रालि, एस एन्ड को इलेक्ट्रोनिक्स प्रालिलगायतका उद्योग बन्द भइसकेका छन्। उहाँले भत्केको पर्खाल मर्मत गरी सुरक्षाको प्रबन्ध मिलाइने बताउँदै उद्योगधन्दा आकर्षण तथा सुरक्षाका लागि औद्योगिक सुरक्षा बलको आवश्यकत्ता रहेको बताउनुभयो।
जिल्ला सुरक्षा समन्वय समितिले यसबारे निर्णय गरेर पठाए पनि अहिलेसम्म काम नभएको उहाँको भनाइ छ। जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत प्रेमकुमार उपाध्यायले भने सुरक्षा समन्वय समितिको निर्णय अनुसार तीन महिना अघि नै गृह मन्त्रालयमा सिफारिस पठाई सकेको जानकारी दिनुभयो।