पोल्ट्री क्षेत्रमा विदेशी लगानीको विरोध



नेपाल समाचारपत्र
हेटौंडा
नेपाल पोल्ट्री मञ्चका केन्द्रीय सचिव शिवराम केसीले २२ जिल्लाको खुला बोर्डरका कारण नेपालमा कुखुरा व्यवसाय समस्यामा परेको बताउनु भएको छ। उहाँले नेपालमा पर्याप्त कुखुराजन्य उत्पादन हुँदा पनि खुला बोर्डरका कारण व्यवसायीले सीमित स्वार्थका लागि बाहिरी उत्पादन ल्याउँदा समस्या भएको भन्दै सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो।

मकवानपुर कुखुरा व्यवसायी संघको १०औं साधारणसभामा उहाँले नेपाल र नेपालीका लागि यहींका व्यवसायीको उत्पादन पर्याप्त हुँदा सरकारले विदेशी लगानी भित्त्याउन खोजेकोप्रति दुखेसो पोख्नुभयो। उहाँले भन्नुभयो–‘नेपाल र नेपालीका लागि पर्याप्त उत्पादन दिन हामी तयार रहँदा सरकारले विदेशी लगानी ल्याउन खोज्नुले यहाँका व्यवसायीमाथि आक्रमण गर्न खोजिएको छ।’ पोल्ट्री क्षेत्रमा आउन लागेको लगानी रोक्न किसान र व्यवसायी एक भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कुखुरा व्यवसायमा आवद्ध रहेर मकवानपुरमा ३ हजार परिवार पूर्णरुपमा रोजगारी रहेको बताइएको छ। संघआबद्ध ७ सय ७१ सहित कुखुरका विभिन्न व्यावसायिक क्षेत्रमा रहेर ३ हजार परिवार रोजगारीमा रहेको बताइएको हो।

साधारणसभामा संघ अध्यक्ष राजु अधिकारीले किसानले पालेको कुखुराले जिल्लाको आर्यआर्जनको स्तरमा विकास गरेको बताउनुभयो। कुखुराको मासु र अण्डाबाहेक कुखुराबाट उत्पादन भएका मलका कारण उत्पादनस्तरमा सुधार भएको उहाँले बताउनुभयो। जिल्लाले दैनिक डेढ करोड बराबरको कुखुराजन्य कारोबार गरेको उहाँको प्रतिवेदनमा उल्लेख छ।

अध्यक्ष अधिकारीका अनुसार जिल्लामा हाल ५ लाख ५० हजार लेयर्स र ८ लाख २५ हजार ब्रोइलर कुखुरा रहेकोमा लेयर्सबाट दैनिक ७ सय ७५ पेटी अण्डा उत्पादन हुने गरेको छ भने ब्रोइलरबाट ३२ हजार केजी मासु उत्पादन हँुदैआएको छ। उत्पादित अण्डामध्ये मकवानपुरमा एकसय ७५ पेटी अण्डा र मासु १० हजार ५० किलोग्राम खपत हुने गरेको र बाँकी अण्डा तथा ब्रोइलरको मासु काठमाडौंको बजार पठाइने गरेको बताइएको छ।

३ हजार घरधुरीआवद्ध रहेको व्यवसायको उत्पादनमध्ये जिल्लाले ३५ प्रतिशतमात्र उपभोग गर्ने गरेको तथ्यांक छ। व्यावसायिक र व्यवस्थितढंगबाट कुखुरापालन गर्न संघको पहलमा कुखुरा व्यवसायका लागि विशेषज्ञ डाक्टर माग भएको छ।

प्रतिक्रिया दिनुहोस्