इन्टरपोलको एसिया प्रशान्त सम्मेलन शुरू



नेपाल समाचारपत्र
काठमाडौं
इन्टरपोलले विश्वभर साइबर क्राइमका १३ हजार तथ्यांक रहेको जनाएको छ। इन्टरपोलका महासचिव जुनगन स्टकले हजारौं तथ्यांक रहेकामध्ये १३ हजार साइबर क्राइमसम्बन्धी मात्रै रहेको बताउनुभयो। उहाँले आतंकवाद, मानव बेचविखन र साइबर अपराध मुख्य चुनौतिका रूपमा रहेको स्वीकार गर्नुभएको छ।

उहाँले भन्नुभयो– ‘इन्टरपोलमा साइबर क्राइमका नयाँ–नयाँ घटनाहरू बढेर गएका छन्, इन्टरनेट प्रयोगकर्ता आतंककारीले नयाँ घटना गरेका छन्।’ विश्वभरका प्रहरी संगठन इन्टरपोलको २३औं एसिया प्यासिफिक सम्मेलनको हिजो बुधबार उद्घाटन गरेलगत्तै आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले हजारौं तथ्यांकलाई सबै सदस्य राष्ट्रले अध्ययन गर्न सक्ने बताउनुभयो। आतंकारीले विश्वव्यापी रूपमा कम्प्युटर खोलेर अपराध गरिरहेको र अपराधका घटना बढ्न थालेका छन्, उनीहरूको अपराधका विषयमा बुझ्न इन्टरपोललाई नयाँ प्रविधि र तालिमको आवश्यक छ’ –उहाँले भन्नुभयो। उहाँले वर्तमान समयमा इन्टरपोलले नयाँ घटना अनुसन्धान गर्नुपर्ने बताउँदै यसका लागि इन्टरपोलका सदस्य राष्ट्रहरूबीच प्रविधिको विषयमा जानकारी हुनुपर्ने बताउनुभयो। उहाँले अहिले विश्वभरका आतंकवादीले नयाँ–नयाँ प्रविधि प्रयोग गर्न थालेकोसमेत बताउनुभयो।

पत्रकार भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अहिले विश्वभर टेक्नोलोजिवेस्ट घटना बढ्न थालेको बताउँदै यसलाई निर्मूल पार्न इन्टरपोलले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। हामीले यो सम्मेलनमा आ–आफ्नो देशको सुरक्षा चुनौतिको विषयमा छलफल गरी रणनीति तयार पार्ने जानकारी गराउनुभयो। नेपाल प्रहरीले मानव तस्करीको विषयमा कार्यक्रम पेश गर्न लागेको जानकारी गराउनुभयो। सबै देशका गम्भीर अपराधका घटनाको विषयमा अध्ययन गर्नेछौं, त्यसलाई प्राथमिकताको विषयमा छलफल गर्नेछौं’ ै–उहाँले भन्नुभयो।

त्यसअघि आयोजित उद्घाटन कार्यक्रममा बोल्दै पधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरदेशीय र संगठित अपराध अहिलेको मुख्य चुनौति भएको बताउनुभयो। उहाँले नेपालमा इन्टरपोलको अन्तर्राष्ट्रिय सम्मेलन गर्न पाएकोमा खुसी व्यक्त गर्दै सम्मेलनमा छलफल भएका विषयलाई सबैले गम्भीर रूपमा केलाउनुपर्ने बताउनुभयो। उहाँले– ‘अन्तरदेशीय र संगठित अपराध नियन्त्रण गर्न हरेक देशका कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय हुनु जरुरी रहेको औंल्याउनुभयो। आतंककारीहरू प्रविधिको प्रयोगमा निक्कै अगाडि रहेको भन्दै इन्टरपोलमा आबद्ध प्रहरी संगठनबीच पनि सूचना र प्रविधिको पहुँच र आदानप्रदान जरुरी रहेको उल्लेख गर्नुभयो ।

अब इन्टरपोल पनि सूचना र प्रविधिमा अगाडि हुनुपर्ने औंल्याउनुभयो। प्रधानमन्त्री दाहालले हालै जारी भएको नेपालको संविधान कार्यन्वयनको चरणमा रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा बोल्दै उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले अपराध र आतंकवादको कुनै सीमाना नहुने बताउनुभयो। उहाँले पछिल्लो समयमा विश्वमा प्रविधियुक्त आतंकारी गतिविधि बढ्दै गएको बताउँदै त्यसलाई निर्मूल पार्न प्रहरी संगठन तालिमयुक्त हुनुपर्ने उल्लेख गर्नुभयो। अपराधिक गतिविधि गर्न सूचना आदानप्रदान हुनुपर्ने बताउनुभयो।

इन्टरपोलका अध्यक्ष मिङ हुङवाइले विश्वका ६७ प्रतिशत जनता एसिया प्यासिफिकमा रहेकाले इन्टरपोलको सूचना आदानप्रदान गर्न एसिया प्यासिफिकका प्रहरी सक्रिय हुनुपर्ने बताउनुभयो। उहाँले सूचना प्रविधियुक्त संगठित अपराधका घटना बढ्दै गएको उल्लेख गर्नुभयो। आतंककारीहरू सूचना प्रविधियुक्त भइसकेका छन् उनीहरूसंग जुध्न इन्टरपोलको सक्रियता बढाउनुपर्छ, विश्वब्यापी रूपमा अनुभव साटासाट गर्नुपर्छ।

उहाँले एसिया प्यासिफिक क्षेत्रको अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको बताउनुभयो। प्रहरी महानिरीक्षक अर्यालले आर्थिक अपराध, साइबर क्राइम, क्षेत्रीय आतंकवादजस्ता समस्याहरूका बारेमा गहन छलफल हुने बताउनुभयो। कतिपय देशमा घटेका नौला घटनाको विषयमा समेत छलफल हुने उहाँको भनाइ थियो। भोलि शुक्रबारसम्म चल्ने सम्मेलनमा इन्टरपोल प्रमुखसहित ५३ राष्ट्रका इन्टरपोलका प्रतिनिधि सहभागी भएका छन्। करिब एक दर्जन मुलुकका प्रहरी प्रमुख सो सम्मेलनमा उपस्थित छन्। सम्मेलनमा विभिन्न कार्यपत्र तथा प्रतिवेदन पेश हुनेछन्।

प्रतिक्रिया दिनुहोस्