नेयेमार महँगो खेलाडी



लन्डन, (एजेन्सी)
ब्राजिलियन स्ट्राइकर नेयेमार युरोपेली फुटबलको सर्वाधिक महँगा खेलाडी भएका छन्। युरोपेली फुटबलको आर्थिक अध्ययनकर्ता सीआईईएस फुटबल अब्जरभेटरीको पछिल्लो सर्वेक्षणअनुसार युरोपका मूल्यवान् १० फुटबलरको सूचीमध्ये नेयमार शीर्ष स्थानमा रहेको जनाएको हो। करिब २ सय १६ मिलियन पाउण्डका साथ नेयेमार शीर्ष स्थानमा रहेका छन्। स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर नेयेमार पहिलो पटक युरोपकै सर्वाधिक महँगा खेलाडीको सूचीको पहिलो स्थानमा परेको हो।

उनले आफ्नै टिमका सहकर्मी लिओनल मेसीलाई उछिनेका हुन्। १ सय ४९ मिलियन पाउण्डका साथमा अर्जेन्टिनी स्टार मेसीले भने दोस्रो स्थान ओगटेका छन्। यस्तै रियल मेड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो १ सय ११ मिलियन पाउण्डका साथ उक्त सूचीको सातौं स्थानमा छन्। फ्रेन्च खेलाडीद्वय पाउल पोग्बा र एन्टोनी ग्रिजम्यान क्रमशः तेस्रो र चौथो स्थानमा तथा बार्सिलोनाका उरुग्वेली स्ट्राइकर लुइस स्वारेज उक्त सूचीको पाँचौं स्थानमा छन्। उक्त सूचीको शीर्ष १० भित्र ङ्यारी केन र डेले अलीमात्र दुई इंग्लिस खेलाडी छन्।

प्रतिक्रिया दिनुहोस्