न्यु होराइजन र एसपीए सेमिफाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं
बुटवलको न्यु होराइजन र धनगढीको एसपीए राजधानीमा जारी दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा न्यु होराइजनले नेपाली राइनोजलाई ८ रनले पराजित गर्दा एसपीएले आयोजक केसीटीसीलाई ४६ रनले हरायो। पहिलो खेलमा पारस खड्काको एपीएफलाई पराजित गरेको नेपाली राइनोज न्यु होराइजनसँग झिनो रनले पराजित भएपछि क्वाटरफाइनलबाटै बाहिरिनुपर्यो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा नेपाली राइनोजले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको न्यु होराइजनले १९.१ ओभरमा अलआउट हुँदै १०४ रन जोडेको थियो। न्यु होराइजनका लागि निर्मल थापाले सर्वाधिक ३० तथा विक्रम भुसालले २७ रन बनाएका थिए। यस्तै सुशन भारी र गणेश गौडेलले समान १० रनको योगदान गरे।

बलिङतर्फ राइनोजका कप्तान शरद भेषावकर र सुशिल कँडेलले समान ३ विकेट लिए पनि ब्याटिङमा जम्न नसकेपछि राइनोजले हारको मुख देख्नुपर्यो। १०५ रनको लक्ष्य पछ्याएको राइनोजले सम्पूर्ण २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९६ रन मात्र जोड्न सकेका थिए।

राइनोजका लागि नवौं स्थानमा ब्याटिङ सम्हालेका सोन तामाङले सर्वाधिक २७ रन बनाए पनि जितका लागि पर्याप्त बनेन। यस्तै शिव ठाकुर १९ रनमा नटआउट रहँदा पवन सराफले १४ रन जोडे। अन्य खेलाडीले भने दोहोरो अंकको रनसमेत भेट्न सकेनन्। राइनोजलाई हराउन कृष्ण कार्कीले ३ तथा शहाव आलम र गणेश गौडेलले समान २ विकेट खसालेका थिए।

यस्तै त्रिविमै भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको एसपीएले कप्तान राजवीर सिंहको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६० रन बनाएको थियो। राजवीरले ६२ रन बनाए भने सन्दीप धामीले ३३ तथा दीपेन्द्र थापाले २१ रन बनाए। बलिङमा केसीटीसीका सुमित झा र सूर्य लामाले समान २ विकेट लिए।

जवाफमा १६१ रनको लक्ष्य पछ्याएको आयोजक केसीटीसीको टीमले २० ओभरमा ९ विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो। केसीटीसीका लागि सुमित महर्जले ४१ रन बनाउनुबाहेक अन्य खेलाडीको प्रदर्शंन भने फिका देखियो। बलिङतर्फ एसपिएका विनोद लामाले ३ तथा महेश अधिकारी र अमित पौडेलले समान २ विकेट झारेका थिए। योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ।

प्रतिक्रिया दिनुहोस्