रूससँग ट्रम्पको सेक्स टेप रहेको आशंका गुप्तचर एजेन्सीप्रति ट्रम्प आक्रोशित



वासिंगटन, (एजेन्सी)
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग उनको निजी जीवनसँग जोडिएका केही आपत्तिजनक सामग्री रहेको भन्ने विषयमा छापामा आएको समाचारलाई फर्जी भएको बताएका छन्।

यो विषयमा चुनाव अगाडिदेखि नै ट्रम्पमाथि आरोप लागेको थियो। यदि यो विवाद सही हो भने रूसले अमेरिकी राष्ट्रपतिलाई त्यसको आधारमा ब्ल्याकमेल गर्न सकिनेछ। यसले अमेरिकामा रुसको कठपुतली राष्ट्रपति बन्ने आशंका व्यक्त गर्न थालिएको छ।

उक्त तथ्यलाई गलत बताइरहेका ट्रम्पले अमेरिकाकै गुप्तचर एजेन्सीलाई उक्त विवादास्पद दस्तावेज चुहावट गर्नमा जिम्मेवार भएको आरोप लगाएका छन्।

आफ्नो जितपछिको पहिलो पत्रकार सम्मेलनमा उनले उक्त दस्तावेज पूर्णतया आधारहीन र झूटो भएको बताए। उक्त दस्तावेजमा रूसी अधिकारीहरूसँग त्यस्तो भिडियो रिकर्डिङ छ, जसमा ट्रम्प थुपैं यौनकर्मीसँग रमाइरहेको देखिन्छन्। त्यसै गरी उनको कारोबारका बारेमा पनि त्यस्तै खालको जानकारी छ जुन उनका लागि नोक्सानदायी सावित हुन सक्छ।

ट्रम्पले भने– ‘गुप्तचर एजेन्सीहरूले त्यस्ता जानकारीलाई बाहिर जान दिनु लज्जास्पद हो, जुन गतल र झूटो हो। यो पछिल्लो घटनाले मलाई झट्का लाग्यो, के हामी नाजी जर्मनीमा छौं?’

२५ पृष्ठको उक्त दस्तावेजका विषयमा वासिंगटनमा धेरैलाई जानकारी थियो तर त्यसको पुष्टि हुन नसकेका कारण त्यसलाई अगाडि नल्याइएको हो। यसकै आधारमा अमेरिकी गुप्तचर निकायले दुई पृष्ठको एउटा प्रतिवेदन अमेरिकी राष्ट्रपति बाराक ओबामा र डोनाल्ड ट्रम्पसमक्ष पेस गरेपछि जासुसी संस्थाहरूले त्यसलाई गम्भीरतापूर्वक लिएको छ भन्ने ठानियो र मंगलबारबाट त्यस विषयमा रिपोर्टिङ पनि थालियो।

रूसले पनि उक्त समाचारको कडा खन्डन गरेको छ र त्यसलाई द्विपक्षीय सम्बन्ध खराब पार्ने प्रयास भएको जनाएको छ। ट्रम्पले आफ्नो चुनावी अभियानका दिनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गर्दै रूससँग राम्रो सम्बन्ध स्थापित नीतिको खुलासा गरेका थिए।

पत्रकार सम्मेलनमा उनले पहिलो पटक डेमोक्रइटिक नेसनल कमिटीको सर्भर ह्याकिङमा सम्भवतः रूसको हात रहेको स्वीकार गरेका छन्। तर उनले त्यसमा चीन वा अन्य कसैको हात रहेको पनि हुन सक्ने बताए।अमेरिकी गुप्तचर एजेन्सीहरूले यसको पछाडि रूसकै हात रहेको बताइरहेका छन्। उनीहरूकै प्रतिवेदनका आधारमा राष्ट्रपति ओबामाले केही दिन अगाडि मात्रै दर्जनौं रूस कूटनीतिज्ञलाई अमेरिका छोड्ने आदेश दिएका थिए।

ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल निर्माण गर्ने कुरालाई दोहोर्याउँदै त्यसमा लाग्ने खर्च पनि मेक्सिकोले नै बेहोर्नुपर्ने बताए। उनले आफ्नो सम्पूर्ण कारोबार दुई छोरालाई सुम्पने घोषणा गर्दै राष्ट्रपति पदमा रहेर आफ्नो व्यवसायसँग कुनै प्रकारको सम्बन्ध नराख्ने बताए।

ट्रम्पले पत्रकार सम्मेलनमा आफ्नो कार्यकालको योजनाका बारेमा चर्चा गर्न चाहे पनि रूसी ह्याकिङ र दस्तावेज चुहावट प्रकरणमा नै केन्द्रित रह्यो। उक्त दस्तावेज बेलायतको गुप्तचर एजेन्सी एमआईका एक जना पूर्व एजेन्टले एउटा निजी संस्थाका लागि तयार गरेका थिए। यसको बारेमा कांग्रेसका केही वरिष्ठ सदस्यहरूलाई पनि जानकारी थियो। वरिष्ठ सिनेटर जोन मेकेनले उक्त दस्तावेजलाई अमेरिकी जाँच एजेन्सी एफबीआईलाई सुम्पेका थिए।
एमआईका लागि काम गर्ने उक्त एजेन्टले मस्कोस्थित बेलायती दूतावासमा काम गथ्र्यो र अवकाशपछि उनी एउटा कन्सल्ट्यान्सी चलाइरहेको छ र त्यसबाट रूसमा व्यापार वा उद्योग सन्चालनमा लगानी गर्न मानिसहरूलाई सल्लाह दिने गर्थे।

ती एजेन्टले रूसी गुप्तचर एजेन्सी एफएसबीका थुप्रै पुराना चिनेकाहरूसँग कुरा गरेका थिए। त्यसमा केहीलाई सूचनाको बदलामा पैसा पनि दिएका थिए। उनीहरूले नै ती एजेन्टलाई ट्रम्पको उक्त भिडियो रिट्ज कार्लटन होटलमा बनाइएको र त्यसमा उनी थुप्रै यौनकर्मीसँग रहेको बताएका थिए।

ट्रम्पका समर्थकहरूले यो घटनालाई राजनीतिक विद्वेशका लागि गरिएको बताइरहेका छन्। ट्रम्पले त ट्विटरमा ‘के हामी नाजी जर्मनीमा बसिरहेका छौं?’ भन्ने प्रश्न गर्दै आक्रोश व्यक्त गरेका छन्।

चुनाव अभियानका क्रममा ट्रम्पले विकिलिक्सको तर्फबाट जारी गरिएका हिलारी क्लिन्टन टोलीको ह्याक भएका इमेलको फाइदा उठाएका थिए

प्रतिक्रिया दिनुहोस्