इरानका पूर्वराष्ट्रपति रफसन्जानीको निधन



तेहरान, (एजेन्सी) इरानको सत्तारुढ सकारको सम्भ्रान्त वर्गमा दशकौं लामो राजनीतिक जीवन बिताएका इरानका पूर्वराष्ट्रपति अकवर हासेमी रफसन्जानीको आइतवार निधन भएको छ। इरानमा उनको नरमपन्थी विचार र नीतिहरू सधैं स्वीकार्य रहेनन्। तर, उनको चातुर्यताले इरानी क्रान्ति, युद्ध र अस्थिर राजनीतिक क्षणमा पनि उनलाई सधैं अघि बढ्न मद्दत गरेको थियो।

सुन् १९७९ को इरानको इस्लामिक क्रान्तिका बेला उनले सर्वोच्च धार्मिक नेता अयातोल्लाह रुहोल्लाह खोमेनीको नकिटतम सहयोगीको भूमिका निभाएका थिए। उनले शुरुमा इरानको विवादस्पद आणविक कार्यक्रमको विकास र विस्तारको समर्थन गरेका थिए।

तर, पछि आएर इरानमाथि लगाइएको नाकाबन्दी खुकुलो पार्न उनले यस सम्बन्धमा विश्वका शंकित राष्ट्रहरूसँगको सम्झौता स्वीकारेका थिए। सत्तामा रहँदा निकै क्रूर शासकका रूपमा चिनिएका उनले पछि सुधारात्मक कार्य गरेका थिए। इरानी सञ्चारमाध्यमले ८२ वर्षीय रफसन्जानीको आइतबार हृदयाघातबाट निधन भएको पुष्टि गरेको छ।

राजधानी तेहरानको उत्तरमा पर्ने एउटा अस्पतालमा बिहान सबेरै भर्ना गरिएका उनलाई बचाउन चिकित्सकले झन्डै आधा घन्टासम्म सपिीआर विधि प्रयोग गरेका थिए। सार्वोच्च नेता खोमेनीले उनलाई ‘पुरानो मित्र र कमरेड’ को संज्ञा दिँदै उनको निधन अपुरणीय क्षति भएको भन्दै गहिरो समवेदना प्रकट गरेका छन्।
इरन सरकारले उनको सम्मानमा ३ दिनसम्म औपचारिकरूपमा शोक मनाउने घोषणा गरेको छ। रफसन्जानीको अन्तेष्टि मंगलबार गरिने र सो दिन सार्वजनिक बिदा हुने घोषणा पनि गरिएको छ। उनी सन् १९८९ देखि १९९७ सम्म इरानको राष्ट्रपति रहेका थिए।

खोमेनीले केही मत भिन्नताको बावजुद पनि लामो समयसम्म आफूहरू बीचको मित्रता कायमै रहेको स्मरण गरेका छन्। उनको पार्थिव शरीरलाई इस्लामिक गणतन्त्र इरानका संस्थापक अयातोल्लाह रोहुल्लाह खोमेनीको निवासको जमारन प्रार्थना कक्षमा राखिएको छ।

त्यहाँ आफन्तजन, राजनीतिज्ञ र धार्मिक व्यक्तित्वहरूले उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।। फसन्जानी वर्तमान राष्ट्रपति रुहानीका मार्गनिर्देशक रहेका थिए। शक्तिशाली गार्डियन काउन्सिलले सन् २०१३ को निर्वाचनमा आफूलाई सुधारवादी उम्मेदवारको रूपमा अस्वीकार गरेपछि उनले रुहानीको राष्ट्रपतीय उम्मेदवारीलाई समर्थन गरेका थिए।

रुहानीले ट्विटरमार्फत क्रान्तिका महान् व्यक्तित्व र धैर्यता र प्रतिकारका प्रतीकको रूपमा रहेका उनको आत्मा स्वर्गमा गएको जनाएका छन्। राजनीतिक विशलेषकहरूले आगामि मे महिनामा हुन गइरहेको पुनः निर्वाचनका लागि तयारी गरिरहेका रुहानीका लागि उनको निधन ठूलो झट्का सावित हुने बताएका छन्।
सन् १९३४ मा दक्षिण पूर्वी इरानको एक साधारण कृषक परिवारमा उनको जन्म भएको थियो। उनले पवित्र शहर क्वोममा खोमेनीसँगै धर्मशास्त्रको अध्ययन गरेका थिए। सन् १९७९ मा इरानी इस्लामिक क्रान्तिमा सरिक हुने क्रममा उनलाई थुप्रै पटक इरानी नरेश शाहको सरकारले बन्दी बनाएको थियो। सन् १९८० देखि १९८८ सम्म इराकसँग चलेको युद्धको अन्तिम वर्ष खोमेनीले उनलाई सशस्त्र फौजका निमित्त कमान्डर नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्