करातेमा क्वाटरफाइनल समीकरण पूरा



नेपाल समाचारपत्र
काठमाडौं
प्रथम आईकेकेएफ क्योकुसिन कराते राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत ६० केजी तौल समूहको क्वाटरफाइनल समीकरण पूरा भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबारदेखि शुरू भएको प्रतियोगितामा काठमाडौंका भीमबहादुर थापामगरले काभ्रेका प्रवीण दनुवारलाई नकआउटका आधारमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरे। त्यस्तै कास्कीका गणेश अधिकारी, काभ्रेका राज राई, काठमाडौंका रोहित श्रेष्ठ, पोखराका अनिष थोकर, सर्लाहीका विश्व लामा र रामकुमार सुनुवार तथा ललितपुरका एक्का तामाङ अन्तिम आठमा पुगेका छन्।

अन्तिम १६ मा गणेशले सर्लाहीका सुवीक श्रेष्ठलाई, राजले बाजुराका मुकेन्द्र जंग शाहीलाई, रोहितले काठमाडौंकै अनिल परियारलाई, विश्वले काभे्रका राजमान लोचनलाई, रामकुमारले ललितपुरका युवराज जिम्बा र एक्काले काभे्रका प्रकाश श्रेष्ठलाई हराएका थिए।

नेपाल इन्टरनेशनल क्योकुशिनकाई कराते संघको आयोजनामा सर्वाधिक नगद राशीको प्रतियोगिता दुई दिनसम्म चल्नेछ। प्रतियोगितामा २२ जिल्लाका १ सय ७० खेलाडीले ६ तौलसमूहमा प्रतिस्पर्धा गरेका छन्। फुलकन्ट्याक्ट करातेमा पहिलो पटक व्यक्तिगत तौल समूहमा सर्वाधिक नगद राशीको पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको पुरुषतर्फ ३० केजीमुनि, ३५ केजीमुनि, ५० केजीमुनि, ६० केजीमुनि र ६० केजीभन्दा माथि तथा महिलामा खुल्लातर्फ प्रतिस्पर्धा हुनेछन्। प्रत्येक तौल समूहका उत्कृष्ट पाँचलाई नगद पुरस्कार प्रदान गरिनेछ। पहिलोदेखि पाँचौं हुनेलाई क्रमशः २० हजार, १० हजार, ५ हजार, २ हजार ५ सय र एक हजार दुई सय प्रदान गरिने महासचिव दीपक श्रेष्ठले जनाए।

प्रतिक्रिया दिनुहोस्