धोनीको ओडीआई कप्तानबाट राजीनामा



लण्डन, (एजेन्सी)
इंग्ल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज शुरू हुन लाग्दा महेन्द्रसिंह धोनीले भारतीय टिमको ओडीआई कप्तानबाट राजीनामा दिएका छन्।
यही जनवरी १५ देखि भारतमा हुने सो तीन खेलको सिरिज र तीन टी २० अन्तर्राष्ट्रिय खेलका लागि धोनी खेलाडीको रूपमा उपलब्ध भने रहनेछन्। ३५ वर्षीय विकेटकिपर ब्याटसम्यानले सेप्टेम्बर २००७ देखि भारतीय टिमका कप्तान बनेका थिए। उनको नेतृत्वमा २००७ विश्व टी २०, २०११ विश्वकप र २०१३ च्याम्पियन्स ट्रफी भारतले जितेको थियो।

विश्वको ओडीआई ब्याटिङ रेन्कीङमा दोस्रो स्थानमा रहेका विराट कोहलीले धोनीको स्थान लिने सम्भावना भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। कोहली भारतीय टिमका टेस्ट कप्तान बनिसकेका छन्। उनकै नेतृत्वमा हालै इंग्ल्यान्डविरुद्धको चार टेस्ट सिरिज भारतले जितेको थियो।

धोनीले आफ्नो राष्ट्रका लागि १९९ ओडीआई र ७२ टी २० अन्तराष्ट्रिय खेलमा नेतृत्व गरेका थिए। त्यस्तै २००८ र २०१४ बीच उनले टेस्टको पनि कप्तानी भार सम्हालेका थिए। उनले कप्तानको रूपमा ३३१ अन्तर्राष्ट्रिय खेल खेलेर समग्रमा कीर्तिमान पनि रचेका छन्।

तीनै वटा फरम्याटमा विश्वकप जित्ने उनी भारतको सबैभन्दा सफल कप्तान समेत बनेका छन्। २००७ मा दक्षिण अफ्रिकामा भएको विश्व टी २० मा भारतीय सम्हालेका उनले सोही कप जिताएका थिए। भारतले फाइनलमा पाकिस्तानमाथि ५ विकेटको जित दर्ता गरेको थियो।

त्यस्तै भारतलाई २०११ विश्वकप दिलाएका उनी ९१ रन बनाएपछि सो विश्वकपमा म्यान अफ द म्याच समेत बने। सीमित ओभरको सो विश्वकपमा भारतले श्रीलंकालाई ६ विकेटले हराएको थियो। उनकै कप्तानीमा २०१३ च्याम्पियन्स ट्रफीमा भारतले इंग्ल्यान्डलाई नाटकीय शैलीमा ५ रनले हराएर उपाधि जितेको थियो।

प्रतिक्रिया दिनुहोस्