अंग्रेरजी नयाँ वर्षमा नेपाली पर्यटकको धुँइचो



दीपेन्द्र थापा, काठमाडौं

पछिल्ला केही वर्षयता अंग्रेजी नयाँ वर्ष मनाउने संस्कृति नेपालमा बढ्दै गएको छ। जसको फलस्वरूप अंगे्रजी नयाँ वर्ष, क्रिसमस जस्ता अवसरमा नेपालको पर्यटन क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको उपस्थिति बाक्लो हुन्छ।

यसपटक पनि विगतमा जस्तै अंगे्रजी नयाँ वर्षको अवसरमा आन्तरिक र विदेशी पर्यटकको उपस्थिति बाक्लो रहेको व्यवसायीहरूको भनाइ छ। यतिबेला विशेषगरी आन्तरिक पर्यटकहरू चहलपहल बढी रहेको व्यवसायीहरूले बताएका छन्। होटल संघ नेपाल (हान) का महासचिव विनायक शाहले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो–‘पछिल्लो समयमा आन्तरिक पर्यटकमा पनि उत्साहजनक रूपलृ घुमफिर गर्ने संस्कार बसेका कारण स्वदेशी पर्यटकको वृद्धि भएको छ,’ उहाँले अगाडि थप्नुभयो–‘भूकम्प र नाकाबन्दीले सुस्ताएको यहाँको पर्यटनलाई आन्तरिक पर्यटकले धानेका थिए। अहिले विदेशी पर्यटकहरू आगमनमा सुधार हुँदै गएको छ।’ सन् २०१६ को अन्त्यमा होटल बुकिङको स्थिति राम्रो रहेका कारण सन् २०१७ मा अझ राम्रो हुने संकेत रहेको शाहको भनाइ छ। शाहका अनुसार अहिले होटलको कुल बुकिङको ७० प्रतिशत आन्तरिक पर्यटकले धानेको छ।

पर्यटकीय नगर पोखरा यतिखेर अंग्रेजी नयाँ वर्षका कारण पर्यटकले भरिभराउ बनेको छ। प्राकृतिक सुन्दरताको नगरी पोखरामा यतिखेर स्वदेशी एवम् विदेशी पर्यटकको चाप बढेसँगै यहाँका होटल तथा रेष्टुराँलाई पाहुनालाई सेवा प्रवाह गर्न भ्याइनभ्याई भएको व्यवसायीले बताएका छन्। विगतमा अंग्रेजी नयाँ वर्षका अवसरमा विदेशी पर्यटक मात्रै पोखरो भ्रमणमा आउने गरेकामा पछिल्ला केही वर्षयता स्वदेशमा पनि घुम्ने संस्कृतिको विकास बढ्ेसँगै पर्यटकको संख्यामा बृद्धि भएको होटल संघ नेपाल पोखरा च्याप्टरका अध्यक्ष भरतराज पराजुलीले बताउनुभयो।

नयाँ वर्षको अवसरमा पोखरा आउने क्रम बढ्दै गएको र बिस्तारै होटलमा जाने संस्कृति बढेर गएको बताउँदै उहाँले यसपटक पोखरामा ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक आउने गरेको जानकारी दिनुभयो। विभिन्न शैक्षिक संस्थाका विद्यार्थी पनि आफ्नो क्यालेन्डर मिलाएर अंग्रेजी नयाँ वर्षका अवसरमा पोखरा जाने गरेका छन्। नयाँ वर्षमा पोखरामा होटेल नपाइने डरले अधिकांश पर्यटकले अग्रिम बुकिङ गर्ने गरेका छन्। एक साता अघिदेखि बुकिङ गर्ने क्रम शुरू भएको जानकारी दिँदै अध्यक्ष पराजुलीले डिसेम्बर ३० र जनवरी १ तारिखका लागि अधिकांश होटेलको बुकिङ फुल भएको जानकारी दिनुभयो।

अंग्रेजी नयाँ वर्षका अवसरमा नेपाल रेष्टुरेन्ट एन्ड बार एसोसिएसन पोखराले पनि सडक महोत्सव गर्दै पर्यटकलाई मनोरञ्जन प्रदान गर्दै आएको छ। फुड, म्युजिक र कल्चरमा रमाउ भन्ने नारासहित नयाँ वर्षको अवसरमा पोखराको सुन्दरताको अवलोकनका साथै महोत्सव पनि अवलोकन गर्न पाइने भएकाले विगत केही वर्षयता पर्यटक महोत्सवलाई समेत लक्षित गरी आउने गरेको १८औं पोखरा सडक महोत्सवका संयोजक गोपीबहादुर भट्टराई बताउनुभयो।

‘घुम्नका लागि अनुकूल समय, जारी महोत्सव र नेपालभित्र बढ्दै गएको घुमफिर संस्कृतिका कारण उत्साहजनक रूपमा पोखरामा आन्तरिक पर्यटकको आगमन बढेको छ,’ उहाँले भन्नुभयो– ‘पुस १३ गतेदेखि शुरू भई १७ गतेसम्म राति १० बजेसम्म सञ्चालन हुने महोत्सवमा लगभग साढे चार लाखको संख्यामा पर्यटक आउने अनुमान गरेका छौं।’

नयाँ वर्षका कारण बढेको पर्यटकको चापलाई दृष्टिगत गरी होटलले आफ्नो सेवा प्रवाहलाई पनि चुस्त र प्रभावकारी बनाएको र सबै कोठा प्याक रहेको होटेल स्वप्नबागका सञ्चालक तथा पाटा नेपालका सदस्य दीपक आचार्यले बताउनुभयो। ‘एक साताअघिदेखि नै पर्यटकले होटेलमा अग्रिम बुकिङ गरेका छन्,’ आचार्यले भन्नुभयो – ‘डिसेम्बर ३० तारिखदेखि जनवरी १ तारिखसम्म धेरै बुकिङ भइसकेको छ, होटेलमा विदेशी पर्यटकभन्दा पनि आन्तरिक पर्यटकको संख्या बढी छ।’

यस्तै पर्यटकको अर्को आकर्षणको केन्द्र रहेको सौराहामा पनि नयाँ वर्षका कारण पर्यटकको चाप बढेको छ। होटल संघ सौराहा अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहाका सबै होटल भरिभराउ रहेका छन्। सौराहमा ८० प्रतिशत आन्तरिक र २० प्रतिशत विदेशी रहेको घिमिरेले जानकारी दिनुभयो। सौराहमा भारतीय मूलका पर्यटक पनि कचहलपहल रहेको छ।

प्रतिक्रिया दिनुहोस्