बक्सिङमा आर्मी टिम च्याम्पियन



कविरस शर्मा, चन्द्रगढी

सातौं राष्ट्रिय खेलकुदअन्तर्गत झापाको चन्द्रगढीस्थित मेची रंगशालामा भएको बक्सिङ खेलमा विभागीय टोली नेपाल आर्मी क्लब महिला तथा पुरुष दुवैमा च्याम्पियन बनेको छ।

सेनाको पुरुषमा ६ स्वर्ण, ३ रजत र एक कांस्य तथा महिलामा ५ स्वर्ण, २ रजत र एक कांस्य जित्दै टिम च्याम्पियन बन्न सफल भएको हो। बिहीबार आर्मीका विष्णुप्रसाद घले, पुनम रावल, दिपेश लामा, सिलु डंगोल, श्याम खड्काले स्वर्ण जिते। वेल्टर ६९ केजी तौल समूहमा विष्णुले एपीएफका विकास लामालाई युरोनोमसका आधारमा पराजित गरे। यस्तै पुनमले लाइट वेल्टर महिला ६०–६४ केजी तौल समूहमा एपीएफकी विनिता थापा मगरलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण जितिन्।

त्यसै गरी पुरुषको मिडलवेट ७६ केजी तौल समूहमा मध्यमाञ्चल विकास क्षेत्रका दिवसलाल भूमिलाई टेक्निकल नकआउटका आधारमा पराजित गर्दै दिपेश लामाले स्वर्ण जिते। पुरुषकै हेभीवेट ९१ केजी तौल समूहमा श्यामले मध्यमाञ्चलका कविरस शर्मालाई वाकओभरका आधारमा पराजित गरे। दायाँ हातको चोटका कारण कविरसले खेल परित्याग गरेका थिए। महिला मिडलवेट ६९–७५ केजी तौल समूहमा सिलुले मध्यमाञ्चलकी समुना खातुनलाई टेक्निकल नकआउटका आधारमा पराजित गरिन्। पुरुष सुपरवेट ९१ केजीभन्दा माथिको तौल समूहमा आर्मीका आशिष दवाडीले मध्यमाञ्चलका मेघ डेनियल लामालाई टेक्निकल नकआउटका आधारमा पराजित गर्दै स्वर्ण जिते।

त्यस्तै हिजो ३ स्वर्ण जितेर कूल चार स्वर्णसहित सशस्त्र प्रहरीको एपीएफ क्लब दोस्रो भएको छ। महिलाको वेल्टरवेट ६४–६९ केजी तौल समूहमा संगीता सुनुवारले नेपाल पुलिसकी अनुराधा लामालाई अंकका आधारमा पराजित गरिन्। बुधबार एक स्वर्ण जितेको मध्यमाञ्चल विकास क्षेत्रले बिहीबार पनि एक स्वर्ण थप्यो। पुरुषको लाइट हेभीवेट ८१ केजी तौल समूहमा मध्यमाञ्चलका मनोहर बस्नेत बस्नेतले आर्मीका महेन्द्र केसीलाई युरोनोमसका आधारमा पराजित गरे।

प्रतिक्रिया दिनुहोस्