असहायलाई ज्योतिको घर



मधुसूदन रायमाझी

वर्षा (नाम परिर्वतन) बाह्र वर्षको उमेरमा घरनजिकैको पसलमा सामान किन्न जाने क्रममा दलालको फन्दामा परिन् । ललाइफकाइ दलालले उनलाई दिल्लीको जेभी रोडमा पुर्याएर बेचेको थाहा नै पाइनन् । जब उनीले कल्पना नै नगरेको बज्रपात जीवनमा आइपर्यो, बाह्र वर्षको कलिलो उमेरमा दैनिक रूपमा यौनधन्दा गर्न विवश भइन् ।ती दिनहरू अहिले पनि उनी शब्दमा व्यक्त गर्न सक्दिनन् । शारीरिक र मानसिक पीडाका कारण पटक–पटक मृत्युको विकल्प पनि खोजिन् । वर्षा भन्छिन्– ‘नर्कबाट मुक्त भइएलाजस्तो लागेको थिएन, धन्न पुनर्जन्म पाइयो।’ बेचिएको ठाउँबाट पुनः आफ्नो देश आउन पाउनु उनका लागि ढुंगा खोज्दा देउता मिलेजस्तै भएको छ ।

बेचिएको थाहा भएपछि वर्षालाई ज्योतिको घर नेपालले उद्धार गरेर स्वदेश फर्काउन सफल भयो । उनी अहिले कक्षामा ६ मा अध्ययन गरिरहेकी छिन् । उनी भन्छिन– ‘जीवनमा बाँच्ने आशा थिएन । ज्योतिको घरले बाँच्न सिकाएको छ । अब चेलिबेटी बेच्ने दलालविरुद्ध केही गर्ने अठोट गरेको छु ।’ सानै उमेरमा अन्जानमै बेचिन पुगेकी उनले चेलिबेटी बेचबिखनविरुद्ध सशक्त भएर काम गर्ने प्रतिज्ञा गरेकी छिन् । वर्षाजस्तै बेचबिखनमा परेका बालबालिकालाई ज्योतिको घरले उद्धार गरेर उज्यालो भविष्यतर्फ डोर्याउने काम गरेको छ ।
सात वर्षअघि स्थापना भएको ज्योतिको घर नेपालमा हाल ६ सय ८० जना विपन्न बालबालिकाहरू छन् । ज्योतिको घरले वादी, चेपाङ, अनाथ, विपन्न र भूकम्पमा परी बाबुआमा गुमाएका बालबालिकालाई अभिभावकत्व प्रदान गरेको छ । जिल्लास्थित बाल कल्याण समिति, गाविस र स्थानीय अगुवाको सिफारिसका आधारमा ज्योति घरले बालबालिकालाई बालगृहमा राखेर शिक्षा प्रदान गर्नेदेखि सम्पूर्ण बन्दोबस्तको काम गर्दै आएको छ । संस्थाले जोखिममा परेका बालबालिकाको उद्धार गर्नुका साथै नेपालबाट भारतका विभिन्न स्थानमा बेचिएका ४० जना बाललालिकालाई उद्धार गरेर स्वदेश फर्काउन पनि सफल भएको छ ।
अहिले पनि बाँकेमा रहेका वादी समुदायको मुख्य पेशा नै यौन व्यवसाय हो । एक पेट खान र एक झुम्रो लगाउनका लागि वादी समुदायका महिलाहरू यौन व्यवसाय रोज्न बाध्य छन् । ज्योति घरले वादी समुदायका बालिकाहरूलाई उज्यालोतिर डोर्याउने उद्देश्यका साथ वादी समुदायका बालबालिकालाई शिक्षा प्रदान गर्नु पहिलो दायित्व ठानेको छ ।

सात वर्षको अवधिमा ज्योतिको घरमा हाल ६ सय ८० जना बालबालिकामध्ये ३ सयभन्दा बढी वादी समुदायका बालबालिका रहेका छन् । ज्योतिको घरमा रहेर अध्ययन गरिरहेकी कृष्णा वादीले जीवनमा सोच्दै नसोचेको परिवर्तन आएको बताइन् । उनी भन्छिन्– ‘अहिले पनि वादी समुदायको जीवनशैलीमा धेरै परिवर्तन आउन सकेको छैन । ज्योतिको घरले हामीलाई निःशुल्क शिक्षा प्रदान गरेर ठूलो गुण लगाएको छ । समाज परिवर्तनमा अब हामी लाग्छौं।’

शिक्षा हासिल गरेपछि वादी समुदायमा रहेको परम्परागत सोच र संस्कारमा परिवर्तन ल्याउन भूमिका खेल्ने अठोट उनले लिएकी छन् । संस्थाले वादी समुदायमा शिक्षाको कमी हुँदा सो समुदायका बालिकाहरू कलिलै उमेरमा यौनधन्दामा लाग्ने परम्परा तोड्नका लागि पनि वादी समुदायका बालबालिकालाई मुख्य प्राथमिकता दिएको ज्योतिको घर नेपालका कार्यकारी निर्देशक निरपेश कुँवर बताउँछन् ।

सरकारको नियमअनुसार १८ वर्षभन्दा बढीका बालबालिकाहरू बालगृहमा राख्न पाइँदैन । राजधानीका विभिन्न सात स्थानमा छात्राबासमा राखेर ६ सय ८० बालबालिकाहरूलाई शिक्षा, स्वास्थ्य, खाना, बस्न, स्वास्थ्य उपचारलगायतको सबै व्यवस्थापन संस्थाले गरेको छ । एक बालबालिकालाई वार्षिक प्रतिव्यक्ति १ लाख २० हजार रुपियाँ खर्च हुने गरेको संस्थाले बताएको छ ।
भाडामा छात्राबास प्रयोग गर्दा महँगो हुने भएकाले राजधानीको साँखुमा २० रोपनी जग्गा लिएर आर्थिक सहयोग जुटेको अवस्थामा आफ्नै भवन निर्माण गर्ने योजना संस्थाले अगाडि सारेको छ । ज्योतिको घरलाई अमेरिका, अस्ट्रेलिया, स्वीडेन, सिंगापुरलगायतका देशका दातृ निकायले विपन्न बालबालिकाहरूका लागि सहयोग प्रदान गर्दै आएका छन् । केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीका अनुसार हाल देशभर ५ सय ६० वटा बालगृह सञ्चालनमा रहेका छन् । समितिले सरकारको मापदण्ड विपरीत सञ्चालित बालगृहलाई कारबाही गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्