व्यायामले बढाउँछ शुक्रकिटको संख्या



लन्डन, (एजेन्सी)

एक सातामा तीनपटक कम्तीमा आधा घण्टा शारीरिक व्यायाम गर्नाले पुरुषको विर्यमा शुक्रकिटको संख्यामा वृद्धि हुनसक्ने वैज्ञानिकहरूले बताएका छन्। प्रजनन जर्नलले गरेको एक अनुसन्धानमा दौडने र पौडी खेल्ने पुरुषहरूले राम्रो फाइदा लिन सक्ने उल्लेख गरिएको छ।

ट्रेडमिल ट्रेनिङदेखि अन्य कुनै पनि किसिमका व्यायामलाई रोकिदिने हो भने एक महिनाभित्रै पुनः शुक्रकिटको संख्यामा कमी आउन सक्ने बताइएको छ। तर विशेषज्ञहरूले आवश्यकभन्दा बढी व्यायाम गर्दा पनि शुक्रकिट उत्पादनलाई नकारात्मक असर पर्नेसक्ने चेतावनी पनि दिएका छन्। विभिन्न अध्ययनले निकै प्रतिस्पर्धात्मक खेल जस्तै साइकलिङमा सहभागी हुँदा पनि शुक्रकिटको गुणस्तरमा कमी आउन सक्ने देखाएका छन्।

विशेषज्ञहरूले शुक्रकिट वृद्धिका लागि अण्डकोषलाई चिसो राख्न, कस्सिएको अण्डरवियर नलगाउन, तातो पानीमा ननुहाउन, यौन संक्रमित रोगहरूबाट टाढै रहन, धूम्रपान नगर्न, मद्यपान कटौती गर्न, स्लिम रहन र सन्तुलित मात्रामा व्यायाम गर्न सल्लाह दिएका छन्। अधिक मोटोपनाको कारण पनि पुरुषको प्रजनन क्षमतामा ह्रास आउन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्