विस्फोट चालीसको मृत्यु



साना, (एजेन्सी)

यमनको दक्षिणी बन्दरगाह शहर एडेनमा एक जना आक्रमणकारीले आइतबार आत्मघाती बम विस्फोट गराउँदा कम्तीमा चालीस जना सैनिक मारिनुका साथ अन्य थुप्रै जना घाइते भएका छन्। सो आक्रमण हुँदा एउटा सैनिक अखडा नजिक तलब लिन सैनिकहरू लाइनमा उभिरहेको पत्रकारहरूले बताएका छन्।

हअल–आरिस जिल्लाको अल–सोल्वान सैनिक अखडामा सैनिकहरूको हुलमा उनले आक्रमण गरेको बताइएको छ। इस्लामिक स्टेट (आईएस) ले यस आक्रमणको जिम्मेवारी लिएको छ। यसै साताको शुरूमा सोही सैनिक अखडा नजिक भएको बम आक्रमणमा ४८ जना सैनिक मारिएका थिए।

गत अगस्टमा पनि आईएस लडाकूहरूले एडेनको एक सैनिक भर्ती केन्द्रमा भएको आक्रमणमा कम्तीमा ७० व्यक्तिको ज्यान गएको थियो। एडेन अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारका राष्ट्रपति अब्द्राब्बुह मन्सुर हादीका समर्थकहरूको बाहुल्य रहेको छ।

मन्सुर समर्थित लडाकूहरू सिया हौथी लडाकू र तिनीहरूका गठबन्धनसँग संघर्ष गर्दै आइरहेका छन्। तिनीहरूले सन् २०१४ मा राजधानी साना र पछि उत्तर पश्चिमी यमनका थुप्रै भूभागमा कब्जा गरेका थिए।

यमनमा भइरहेको यस संघर्षको फाइदा उठाउँदै आईएस र अल कायदाले यमनको दक्षिणी भागमा आफ्नो पकड बलियो बनाउँदै लगेका छन्। यमनको गृह युद्धमा अहिलेसम्म ७ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघको तथ्यांकमा जनाइएको छ।

अमेरिका र बेलायतको सहयोगमा साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धन फौजले यमनमा गरिहेको हवाई हमला आवासीय क्षेत्रमा लक्षित भएको आरोप अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले लगाएका छन्। युद्धका कारण यमनमा ३० लाखभन्दा बढी व्यक्ति घरवारविहीन भएका छन्।

प्रतिक्रिया दिनुहोस्