एसपी खरेलले दिए राजीनामा



काठमाडौं, (नेस)
अमेरिकी डीभी परेर नेपाल प्रहरीमा जागिर खाइरहेका एसपी प्रमोद खरेलले अन्ततः राजीनामा दिएका छन्। नेपाल समाचारपत्रले समाचारप्रकाशित गरेपछि एसपी खरेलले पदबाट राजीनामा दिए पनि उहाँको राजीनामा स्वीकृत भएको छैन।

कुनै पनि सरकारी ओहोदामा रहेका सरकारी कर्मचारीले विदेशी पीआर तथा नागरिकता लिन नपाउने नियम बनाएको भए पनि त्यसको खिल्ली उडाएर एक वर्षअघि एसपी खरेलले अमेरिकी डीभी भरेका थिए।

आगामी फागुन ११ गते अमेरिका जाने तयारी गरेका एसपी खरेलको बारेमा नेपाल समाचारपत्रले समाचार सार्वजनिक गरेपछि उनले राजीनामा दिएको प्रहरीले जानकारी दिएको छ।

उनले महानगरीय आयुक्त कार्यालयमा राजीनामा दिएको पछि आयुक्त कार्यालयले राजीनामा स्वीकृत गर्नका लागि प्रहरी प्रधानकार्यालयमा पठाएको छ। सरकारी नियम उल्लङ्घन गर्ने एसपी खरेलमाथि कारवाही गर्नुको सट्टा प्रधानकार्यालयले पनि सुटुक्क राजीनामा स्वीकृत गर्ने तयारी गरेको प्रहरी उच्च स्रोतले जानकारी दियो।

एसपी खरेल श्रीमती छोरासहित अमेरिका जाने तयारी गरेका छन्। सरकारी सुरक्षा निकायमा रहेका व्यक्तिले सरकारी नियम उल्लङ्घन गरेकाले उनीमाथि कारवाही हुने कानुनी प्रावधान रहेको भए पनि प्रधानकार्यालयले भने बिनाकारवाही राजीनामा स्वीकृत गर्ने तयारी गरेको स्रोतले जानकारी दियो।

प्रतिक्रिया दिनुहोस्