सेब र ग्रिनल्यान्ड क्वाटरफाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं

सामाखुशी इङ्लिस बोर्डिङ स्कुल (सेब) र ग्रिनल्यान्ड दोस्रो लालीगुराँस अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

दोहोरो जित हात पारेको सेबले नवोदितलाई २१–८ र एन्जल्स हर्टलाई २४–८ ले पराजित गर्यो। दोहोरो जितसँगै सेब समूह डि को विजेता बन्यो। विजेता टोलीका लागि रवि शर्माले नवोदित र एन्जल्स हर्टविरुद्ध क्रमशः १७ र १४ अंक जोडे।

हारका बावजुद एन्जल्स हर्ट पनि समूह उपविजेताका रुपमा अन्तिम आठमा पुग्यो। ग्रिनल्यान्डले भ्याली पब्लिकलाई २३–१४ ले हराउँदै समूह सी को विजेता भयो। विजेता टोलीका इन्द्रमान तामाङले ९ स्कोर गरे। भ्याली पब्लिक समूह उपविजेताका हैसियतका अन्तिम आठमा पुग्न सफल भयो।

लालीगुराँस नेसनल एकेडेमीद्वारा आयोजित प्रतियोगितामा पिपुल्स एकेडेमी, नेरिक एकेडेमी र पुष्पकुञ्ज पनि अन्तिम आठमा स्थान बनाउन सफल रहे। पिपुल्सले ज्ञान सिन्धुलाई २२–८ ले हरायो। पिपुल्सका अजय घलेले १० अंक जोडे। समित खत्रीको १० अंक सहयोगमा नेरिकले हिमालयनलाई १८–१२ ले पाखा लगायो। पुष्पकुञ्जले ओडिसीमाथि ५–४ को कठिन जित दर्ता गर्यो। पुष्पकुञ्जका एलोन गुरुङले ४ अंक जोडे।

प्रतिक्रिया दिनुहोस्