रत्नजित र शिक्षा क्वाटरफाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं
नेपालका रत्नजित तामाङ र शिक्षा श्रेष्ठ नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको सिंगल्सतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुरुष सिंगल्समा रत्नजितले भारतका अमन कुमारलाई २१–१३ र २१–१९ को सोझो सेटमा हराएका हुन्। यो सहज जितसँगै रत्नजीतले अन्तिम आठमा पुगे। यस्तै महिला सिंगल्सतर्फ शिक्षाले बंगलादेशकी एलिना सुल्तानलाई २२–२०, १९–२१ र २१–१७ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाइन्।

यसै गरी नेपाली खेलाडी रत्नजित र दीपेश धामीको जोडीले पनि अन्तिम आठमा यात्रा सुरक्षित गरेको छ। पुरुष डबल्सतर्फ रत्नजित र दीपेशले बंगलादेशका मोहम्मद अनामुल हक र मोज्जाम हुसैनको जोडीलाई १८–२१, २१–१६ र २१–६ ले पराजित गरे।

तर सिंगल्सतर्फ दिपेश र नङसल तामाङ भने अन्तिम १६ बाटै बाहिरिए। पुरुष सिंगल्समा दिपेश भियतनामका दुक फात लेलेसँग २१–१३, २१–१२ को सोझो सेटमा हारेका थिए। त्यस्तै महिला सिंगल्समा नङसल पाकिस्तानकी महुर शाहजादसँग २१–१८, २१–१९ सीधा सेटमा पराजित भइन्।

त्यस्तै पुरुष सिंगल्समा भारतका अभिषेक यलेगरले नेपालका विष्णु कटुवाललाई २१–६ र २१–११ ले हराए। महिला सिंगल्सतर्फ नेपालकी पुनम गुरुङले प्रतियोगिताबाट नाम फिर्ता लिँदा उनकी प्रतिद्वन्द्वी भियतनामकी थुई लिन्ह ङयुयेन स्वतः अन्तिम आठमा पुगिन्। अन्य नेपाली महिला खेलाडीले पनि जित दर्ता गर्न सकिनन्। जसमा अमिता गिरी इरानकी अघाई हाजीआघा सोरायासँग हारेकी थिइन्।

पुरुष डबल्समा नेपालका जोडी सबै पराजित भएका थिए। मालदिभ्सका एच ज्यान शहिद र एन शराफुद्दिनको जोडीले दीपक बोहरा र भुगोल गुरुङको जोडीलाई हरायो। त्यस्तै पाकिस्तानका रिजवान आजम र सुल्हेरी कासिफ अलीको जोडीसामू सुदीप सेंढाई र साजनकृष्ण ताम्राकारले वाकओभर दिए। भारतका अरुण जर्ज र शौरभ शर्माको जोडीले इरफान अन्सारी र सञ्जीव खड्काको जोडीलाई, बंगलादेशका एम खान र टि रोयको जोडीले जोसेफ अधिकारी र सुमन लिम्बुको जोडीलाई तथा भियतनामका क्वाङ ह्यू दाङ र डुक गियाङ ङयुयेनको जोडीले विजीत थापामगर र विष्णु कटुवालको जोडीलाई सहजै हराएर अन्तिम आठको यात्रा पुग्न वञ्चित गरेका थिए।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको ब्याडमिन्टन सिरिजको महिला डबल्समा पनि नेपाली खेलाडीले हारलाई नै आत्मसात गरे। बंगलादेशकी अक्तर शप्ला र अलिना सुल्तानको जोडीले मेघा चन्द र सुनैना मुखियाको जोडीलाई, भारतका अनुष्खा पारिख र हरिका भेलुदूर्थीको जोडीले अमिता गिरी र शिक्षा श्रेष्ठको जोडीलाई निराश पारेका थिए।

प्रतिक्रिया दिनुहोस्