निर्माण व्यवसायीको रजत जयन्ती सम्पन्न



काठमाडौं(नेस)

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले निर्माण व्यवसायीहरुलाई समयमै गुणस्तरीय निर्माण कार्य पूरा गर्नुपर्ने बताउनुभएको छ। नेपाल निर्माण व्यवसायी महासंघको स्थापनाको रजत जयन्ती समापन समारोहलाई बुधबार सम्बोधन गर्दै मन्त्री लेखकले सो कुरा बताउनुभएको हो।

उहाँले राज्यले राम्रो काम गर्ने व्यवसायीलाई सम्मान गर्ने र नराम्रो काम गर्ने व्यवसायीलाई कानूनी दायरामा ल्याउने बताउनुभयो। नेपाली व्यवसायीहरुले अब विश्व बजारमा प्रतिस्पर्धा गर्ने समय आएको मन्त्री लेखकले बताउनुभयो। नेपालमा नै अब ठूल ठूला निर्माण कार्य शुरू हुने भन्दै उहाँले त्यसका लागि नेपाली व्यवसायी पनि सक्षम हुनुपर्ने बताउनुभयो।

सो अवसरमा नेपालको निर्माण क्षेत्रको विगत, वर्तमान र भविष्य समेटिएको विशेष स्मारिका निर्माण दर्पणको लोकार्पण गरिएको थियो। साथै निर्माण जगतमा योगदान गर्ने विभिन्न महानूभावहरुलाई समेत सो अवसरमा सम्मान गरिएको थियो। महासंघका अध्यक्ष शरदकुमार गौचनले व्यवसायी मैत्री ऐन कानून तथा अन्य स्रोत साधन भएमा नेपाली व्यवसायीहरुले पनि विश्वको कुनै पनि कुनामा उत्कृष्ट काम गर्न सक्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्