ननितालाई ऐतिहासिक पदक



नेपाल समाचारपत्र
काठमाडौं

नेपालकी ननिता महर्जनले आठौं डब्ल्यूबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा आइतबार कांस्य पदक जितेकी छिन्।
‘डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगितामा ननिताले महिला एथ्लेटिक फिजिकको १ सय ६५ सेन्टिमिटर उचाइसम्ममा कांस्य जित्दै नेपाललाई महिला शारीरिक सुगठनमा ऐतिहासिक सफलता दिलाएकी हुन्।

थाइल्यान्डको पटायास्थित समुद्र किनारमा रहेको एम्बासडर सिटी होटलको कन्भेन्सल हलमा भएको तीनदिने प्रतियोगिताको अन्तिम दिन ननिताले फाइनलमा चाइनिज ताइपेईकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई पछि पार्दै कांस्य पक्का गरेकी हुन्। ५ खेलाडी सहभागी उक्त स्पर्धामा मंगोलियाकी गाम्बागा उगल्सेबेगले स्वर्ण तथा उज्वेकिस्तानकी नुरायेभा येलेनाले रजत जिते। सुन चौथो र एलेसान्ड्रा पाँचौं स्थानमा रहे। पाँचै जनाबीच पहिले प्रिजजिङ राउन्ड भएको थियो र पछि पाँचै जनाले फाइनलमा पनि प्रतिस्पर्धा गरेका थिए।

उद्घोषकले एलेसान्ड्रालाई पाँचौं र सुनलाई चौथो घोषणा गरेपछि ननिताको कम्तीमा कांस्य पदक निश्चित भएको खुसीयालीमा प्रतियोगिता आयोजनास्थल कन्भेन्सन हलमै रहेका ननिताका पति, बुबा, आमा, दिदी, भिनाजु, खेलाडी र अन्य नेपाली समर्थकले हुटिङ गरेका थिए।

नेपाली शारीरिक सुगठनमा नेपाली महिला खेलाडीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेको यो पहिलो अवसर हो। ननिता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने दोस्रो नेपाली महिला खेलाडी हुन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपटक प्रतिस्पर्धा गर्ने नेपाली महिला खेलाडी निर्मला महर्जन हुन्। निर्मलाले थाइल्यान्डको बैंककमै गत वर्ष भएको विश्व च्याम्पियनसिपको सातौं संस्करण तथा भुटानको थिम्पुमा भएको ५०औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन्।

कीर्तिपुर नयाँ बजार निवासी ३१ वर्षीया ननिताले ३ वर्षे छोटो शारीरिक सुगठन करियारमा एक घरेलु र एक अन्तर्राष्ट्रिय गरी जम्मा दुई प्रतियोगितामा मात्र खेलेकी छन्। काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले यसै वर्षको सेप्टेम्बरमा आयोजना गरेको मिस्टर काठमाडौं शारीरिक सुगठन तथा प्रथम महिला फिटनेस च्याम्पियनसिपमा ननिताले पहिलो पटक सहभागिता जनाउँदै उपाधि जितेकी थिइन्। ३ पुरुषसहति ४ नेपाली खेलाडी सहभागी भएको यो च्याम्पियनसिपमा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी ननिताले शारीरिक सुगठनमा आउनुअघि भलिबल, एथ्लेटिक्स र बास्केटबल खेलेको बताइन्। क्षेत्रीय भलिबल प्रतियोगितामा ननिताको मध्यमाञ्चल टोलीले स्वर्ण जितेको थियो भने क्षेत्रीयस्तरको एथ्लेटिक्समा ननिताले सटपुट र १ सय मिटर दौडमा कांस्य जितेकी थिइन्।

ननिताले शारीरिक सुगठनको महिलामा नेपाललाई पदक दिलाउन सफल भएकोमा खुसी लागेको बताउँदै प्रिजजिङ राउन्ड सकिन साथ दोस्रो वा तेस्रो हुन्छु भन्ने लागेको बताइन्। ‘राष्ट्रका लागि पदक जित्न सफल भएकोमा खुसी छु। पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले कन्फिडेन्ट भएर खेल्छु र सक्दो राम्रो गर्ने प्रयास गर्छु भन्ने सोचेकी थिए⁄, ननिताले भनिन्– ‘प्रिजजिङ सकिएपछि दोस्रो वा तेस्रो हुन्छु भन्ने लागेको थियो। र, नतिजा पनि त्यहीअनुसार आयो।⁄
ननिताले शारीरिक सुगठनमा लाग्न विशेष गरी पति रुडन वज्राचार्यले प्रेरित गरेको र यसमा परिवारका अन्य सदस्यको समेत सहयोग रहेको बताउँदै महिलाले पनि उचित अवसर पाए राष्ट्रका लागि योगदान दिन सक्ने बताइन्।

विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्ल्यूबीपीएफ) को तत्त्वावधानमा थाइल्यान्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा ४९ राष्ट्रका ४ सयभन्दा बढी खेलाडीले विभिन्न ३८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा डब्ल्यूबीपीएफ अन्तर्राष्ट्रिय जजद्वय नेपालका पुष्पकुमार श्रेष्ठ र सुनील राजकर्णिकारले पनि विभिन्न स्पर्धाको प्रिजजिङ र फाइनल चरणका खेल सञ्चालन गरेका थिए। नेपाली टोली मंगलबार स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्