नेपाली महिला टोली २१ रनमा अलआउट



नेपाल समाचारपत्र
काठमाडौं

एसीसी महिला एसिया कप क्रिकेटमा नेपाली महिला क्रिकेट टोलीले शुक्रबार भारतसँग हार्दा न्यूनतम योगफलको खराब कीर्तिमान बनाएको छ। थाइल्यान्डमा जारी प्रतियोगितामा नेपालले समूहको अन्तिम खेलमा भारतसँग ९९ रनको हार आत्मसात गरेको हो। यो हारसँगै नेपालले पाँचैओटा खेलमा अपत्यारिलो हारको नतिजा लिँदै घर फर्कनुपरेको छ। साथै नेपालले थाइल्यान्डमा दुईओटा न्यूनतम योगफल पनि बनाएको छ।

भारतविरुद्धको जवाफी ब्याटिङमा १६.३ ओभरमा सबै विकेट गुमाएर नेपालले २१ रन जोडेको थियो। यो नेपाली महिला क्रिकेट टोलीको अहिलेसम्मकै खराब कीर्तिमानसमेत हो। यसअघि यसै प्रतियोगितामा श्रीलंकाविरुद्ध नेपाली टोली २३ रनमा अलआउट भएर ९ वर्षअघिको न्यूनतम योगफलको खराब कीर्तिमानलाई पछाडि पारेको थियो। सन् २००७ मा एसीसी महिला क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले २६ रन बनाएको थियो।

बैंककको मैदानमा भारतले नेपाललाई १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले एकपछि अर्को विकेट पतन हुँदा कोही पनि खेलाडीको भाग्यमा दोहोरो अंक पनि भएन। नेपालले जोडेको २१ रनमा अतिरिक्त ७ रन नै सर्वाधिक योगदान साबित भएको थियो। जबकि व्यक्तिगत सर्वाधिक योगदान सरिता मगरले बनाएको ६ रन थियो।

अन्य खेलाडीमा कप्तान रुबिना क्षेत्री बेलबासी, ज्योति पाण्डे र करुणा भण्डारीले २⁄२ रनमा बनाए। त्यस्तै सीता रानामगर र रोशनी बोहोराले १⁄१ रन जोडे भने नेरी थापा, निरा राजोपाध्याय, शोभा आले र संगीता राई शून्यमै आउट भए। नटआउट रहेकी सरस्वती कुमारी पनि शून्यमा थिइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २० रन बनाएको थियो। भारतले ६९ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो। तर, शिखा पाण्डे र हर्मनप्रित कौरले छैटौं विकेटका लागि अविजित ५१ रनको साझेदारी गरे। पाण्डे ३९ र कौर १४ रनमा अविजित रहे।

नेपालकी रुबिना क्षेत्रीले २ विकेट लिइन् भने करुणा भण्डारी र सीता राना मगरले एक–एक विकेट हासिल गरेका थिए

प्रतिक्रिया दिनुहोस्