चिरञ्जीवी मास्के, दोलखा
भूकम्पले सडकमा क्षति पुगेपछि बाँध स्थलसम्म पुग्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरेको रोड टनेलको ब्रेक थ्रु भएको छ। निर्माण शुरु भएको पाँच महिनामै रोड टनेलको ब्रेक थ्रु भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो।
आयोजनाको प्रवेश मार्गको काब्रेभीर सडक खण्डमा भूकम्पले क्षति पुगेपछि गत साउनबाट रोड टनेल निर्माण शुरु गरिएको थियो। आयोजनाको बाँधस्थलसम्म पुग्ने सडक अवरुद्ध हँुदा कतिपय काम बन्द रहेकोमा अब आयोजना निर्माणका हेड वक्स, पावर लाइनलगायतका कामले द्रुततर गतिमा शुरु हुने प्रवक्ता डा. न्यौपानेले बताउनुभयो। आयोजनाको मुख्य सिभिल ठेकेदार सिनो हाइड्रोले काब्रेभीरबाट ३२ मिटर स्क्वाएर डायमिटरको ३ सय ३७ मिटर लामो सुरुङको ब्रेक थ्रु बुधबार बिहान करिब १० बजे गरेको आयोजनाका प्रवक्ता डा. न्यौपानेले जानकारी दिनुभयो। रोड टनेलबाट सार्वजनिक सवारी साधनहरू भने २⁄३ दिन पछिमात्र सञ्चालनमा आउने आयोजनाले जनाएको छ।
रोड टनेलको करिब १ सय ७० मिटरको दूरीमा सवारी साधनलाई आवतजावत गर्न सहजताको लागि ‘पासिङ जोन’ को समेत निर्माण गरिएको आयोजनाले जनाएको छ। रोड टनेल निर्माणको लागि करिब १२ करोड रुपियाँ खर्च भएको बुझिएको छ।
४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम अहिलेसम्म ८३ प्रतिशत सकिएको प्रवक्ता न्यौपानले बताउनुभयो। पछिल्लो तालिका अनुसार आयोजानको काम आगामी २०७५ असारसम्म सक्ने लक्ष्य लिइएको भएपनि रोड टनेलको ब्रेक थ्रुले निर्धारित समय अगाडि नै आयोजना निर्माण सम्पन्न हुन सक्ने आयोजनाका कर्मचारीहरूले अपेक्षा लिएका छन्। केही समय अघि प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजनाको काम निर्धारित समय अघिनै सक्न निर्देशन दिनुभएको थियो। प्रधानमन्त्री दाहालले काम चाँडो सम्पन्न गरे सहभागी कर्मचारीलाई पुरस्कार दिने घोषणा समेत गर्नु भएको थियो।
रोड टनेलको ब्रेक थ्रुपछि लप्चीबासी आफ्नो गाउँसम्म सडक जोडिनेमा आशावादी बनेका छन्। आयोजनाको ड्याम साइटबाट करिब ९ सय मिटर सडक टनेलमार्फत अगाडि बढाउनुपर्नेमा सिनो हाइड्रो माथिल्लो तामाकोसी आयोजना निर्माणकै अवधिमा उक्त निर्माण कामको जिम्मेवारी लिने बताएको थियो। लप्चीका स्थानीयले उक्त ठाउँको रोड टनेल निर्माणको लागि समेत सिनो हाइड्रोलाई जिम्मा दिन सरकारले निर्णय गर्नुपर्ने बताउँछन्।