रुसी अर्थमन्त्री घूससहित रंगेहात पक्राउ



मस्को, (एजेन्सी)रसिया अर्थमन्त्री एलेक्सी उलुकायभलाई मंगलबार सरकारी कामका लागि घूस लिएको अभियोग लगाइएको छ। रसियाको प्रमुख भ्रष्टाचार नियन्त्रण निकायको अनुसन्धान समिति (एसके) ले उनले २० लाख अमेरिकी डलर घूस लिएको दाबी गरेको छ।तत्कालीन सोभियत संघ (यूएसएसआर) विरुद्ध सन् १९९१ मा सैनिक विद्रोह प्रयासयता पक्राउमा पर्ने उलुकायभ रसियाकै सबैभन्दा उच्च पदस्थ अधिकारी रहेको बताइएको छ। एसकेले उनले अर्को सरकारी तेल कम्पनी बासनेफ्टको ५० प्रतिशत सेयर किनेका तेल कम्पनी रोस्नेफटको काममा बाधा अडचन खडा गर्ने धम्की दिएको जनाएको छ।

एसकेका प्रवक्तता स्चेतलाना पेट्रेन्कोले रोस्नेफट सम्झौतामा सहयोग गरिदिएबापत सोमबार २ करोड डलर घूस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको बताएकी छिन्। महिनौं लामो इलेक्ट्रोनिक सर्भिलेन्स र फोन ट्यापिङपछि यस मामिलामा स्टिंग अपरेसन गरिएको सरकारी अधिकारीहरूले बताएका छन्। अपुष्ट सूत्रहरूले यसको सम्पूर्ण अपरेसन आन्तरिक एफएसबी सुरक्षा सेवाले चलाएको जनाएका छन्।

रुसी सरकारी टेलिभिजन च्यानलहरूले यसलाई ‘भ्रष्टाचारविरुद्धको युद्ध’ शीर्षक दिँदै ठूलो प्रथमिकतासहित समाचार प्रसारण गरेका छन्। तर अन्य केही सूत्रले उलुकायभ आफैले पैसा नलिएको र उनको गिरफ्तारीको भिडियो फुटेज नरहेको नोभाया गजेटा वेबसाइट बताएका छन्।

अर्थ मन्त्रालयले भने यस पक्राउलाई ‘अजिव र आश्चर्यजनक’को संज्ञा दिएको छ। व्यापारी नेता अलेक्जान्दर सोखिनले रसियाकै सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक मानिने रोस्नेफटका अध्यक्षसँग धम्काएर पैसा लिन खोज्नु पागलपन भएको प्रतिक्रिया दिएका छन्।यदि दोषी ठहरिएको खण्डमा ६० वर्षीय उलुकायभलाई ८ देखि १५ वर्ष लामो कारावास सजाय हुन सक्ने बताइएको छ। रसियाले नब्बेको दशकमा आर्थिक उदार नीति अवलम्बन गर्दा उनी सन् २००४ मा रुसी केन्द्रीय बैंकका उपाध्यक्ष बनेका थिए।

उनी सन् २०१३ मा अर्थमन्त्री नियुक्त भएका थिए। गत अक्टोबरमा मात्र ५ अर्ब डलर तिरेर रोस्नेफटले बास्नेफटको ५० प्रतिशत सेयर किनेको थियो। यसैबीच मंगलबार रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले उपअर्थमन्त्री यभगेनी येलिनलाई निमित्त अर्थमन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्री कार्यालयलका प्रवक्ताले उलुकायभलाई अहिले प्रहरी हिरासतमा राखएिको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्