महांघद्वारा ‘कोभिड रिलिफ नेपाल’ अभियान घोषणा



काठमाडौं (नेस) ।

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नयांँ भेरियन्टको संक्रमणको महामारीबाट बच्न एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ ।

विपत्तिमा मुलुक पर्दा मुलुकबासीको सहयोगार्थ महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन् गरी हरेकपटक सहयोग पु-याउँदै आएको थियो ।एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत पहिलो कार्यक्रमको रूपमा शनिबारबाट ‘हेल्लो डाक्टर’को शुभारम्भ भएको छ । एफएनसीसीआई अपरेसन कोभिड रिलिफ अभियानअन्तर्गत थप कार्यक्रमहरूसमेत ल्याउने तयारीमा लागेको महासंघले जनाएको छ ।हेल्लो डाक्टर कार्यक्रम महासंघद्वारा सञ्चालन गरिएको हो, जसमा भाइबरको सहकार्य रहेको छ भने डाक्टर अन कलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्न थालेका छन् ।

कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरूले हेल्लो डाक्टरमार्फत सहयोग लिन सक्ने भएका छन् । हेल्लो डाक्टर, भाइबरमार्फत कोभिड संक्रमित बिरामी र डक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने काम गरिने भएको छ । प्रारम्भमा पाँच जना डाक्टबाट परामर्शको काम थालनी गरिने भएको छ ।त्यसका लागि बिहान ९ बजेदेखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्याइएको छ । नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइबर नम्बरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइने छ । त्यसपछि, डाक्टरहरूले भिडियो कलमार्फत बिरामीहरूसँग संवाद गरी स्वास्थ्य परामर्श दिनेछन् । म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने छ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्ने छन् ।

रोग संक्रमितहरूलाई प्रविधिको प्रयोग मार्फत डाक्टरहरूसँग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपतकालीन अवस्थामा बाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाई दिने उद्देश्यअनुरूप यो कार्यक्रमको थालनी गरिएको हो । यसबाट कोभिड संक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।‘हेल्लो डाक्टर’ मार्फत सिधै डाक्टरसँग परामर्श गर्न पाइने हु“दा कोभिड संक्रमित बिरामीमा देखिने चिन्तालाई कमी गर्न र बिरामीको आत्मबल बढाउन सहयोग पुग्ने दाबी महासंघका अध्यक्ष शेखर गोल्छाको छ ।महासंघले थालनी गरेको यो स्वास्थ्य अभियानबाट बढीभन्दा बढी लाभ उठाउन अध्यक्ष गोल्छाले सबैमा अनुरोध गर्नु भएको छ । आम सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउने कार्यमा महासंघले अग्रभागमा रहेर सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत अध्यक्ष गोल्छाले गर्नुभएको छ ।

मुलुकले कहिल्यै भोग्नु नपरेको यो महामारीबाट संक्रमित र मृत्यु हुनेको संख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बढिरहेको छ । महामारीको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम कर्तव्य भएकाले आ–आफ्नो ठाउँबाट यस अभियानमा सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्