काभ्रेमा भूकम्पपछिको निर्माणमा २५ अर्ब सकियो 



मोतीराम तिमल्सिना, काभ्रे  । 

भूकम्पले क्षतिग्रस्त बनाएका काभ्रेका सामुदायिक विद्यालय धमाधम पुनर्निर्माण हुँदै छन् । भूकम्प गएको पाँच वर्षको अवधिमा जिल्लामा रहेका ५ सय ३५ वटा सामुदायिक विद्यालयमध्ये २ सय ४४ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ६७ वटा विद्यालय निर्माणाधीन अवस्थामा रहेका छन् ।वैशाख १२ नजिकिँदै गर्दा भूकम्पको क्षति र पुनर्निर्माणको समीक्षा गर्ने क्रम शुरु भएको छ ।

सरकारले निजी आवासको किस्ता वैशाख महिनाको अन्तिम सम्म तोकिएको छ । अन्य पुनर्निर्माणका काम पनि स्थानीय तथा प्रदेश सरकारलाई हस्तान्तरणको तयारी शुरु भएको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समय अवधि छोटिँदै गएपछि पुनर्निर्माणको कामलाई तीव्रता दिइएको छ । जिल्लामा विद्यालय पुनर्निर्माणका लागि ६ अर्ब ६१ करोड १० लाख ३७ हजार रुपियाँ खर्च भइसकेको छ ।उक्त रकममार्फत २ सय ४ वटा विद्यालयका ६ सय ८४ वटा कक्षाकोठा निर्माण भई विद्यार्थीहरु अध्ययन गर्न थालिसकेका छन् भने ६७ विद्यालयमा २ सय ४४ वटा कक्षाकोठा निर्माणाधीन अवस्थामा रहेका छन् ।निजी आवासका लागि जिल्लामा १७ अर्ब ४० करोड रकम भुक्तानी भइसकेको छ । ५८ हजार आवासका लागि तेस्रो किस्तासम्मको रकम भुक्तानी भएको हो । अझै केही अर्व भुक्तानीको तयारी भइरहेको छ । हालसम्म सडक, गुम्बा, अन्य संरचना निर्माणमा भएको भुक्तानी जिल्लाका लागि २५ अर्ब भन्दा धेरै रहेको छ ।जिल्लामा १३ वटा स्थानीय तह रहेका छन् । धुलिखेल, बनेपा, पाँचखाल, पनौती, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका रूपमा छन् भने तेमाल, चौरीदेउराली, भुम्लु, रोशी, बेथानचोक, महाभारत र खानीखोला गाउँपालिका छन् । विकटता र सुगमताका आधारमा पनि निर्माणको कार्य अघि बढेको छ ।

दाताहरुका कारण सुगममा पनि निर्माणको काम ढिलाइ हुन पुगेको छ । भूकम्पपछिको निर्माणमा समुदाय पनि सक्रिय भएको छ । विद्यालय निर्माणमा विद्यालय व्यवस्थापन समितिमार्फत १ सय ९८ वटा विद्यालय भवन निर्माण भएको छ ।एडीबीको ऋण र नेपाल सरकारको सहयोगमा ठेक्का प्रकियाबाट ३८ वटा विद्यालय भवन पुनर्निर्माण भएका छन् । विभिन्न गैरसरकारी संस्थाबाट ८९ वटा विद्यालय भवन पुनर्निर्माण भएका छन् । जसमा १ हजार ९ सय २३ वटा कक्षाकोठा पुनर्निर्माण भएका छन् ।विद्यालय व्यवस्थापन समितिमार्फत जिल्लामा २३ वटा शौचालय निर्माण गरिएको छ । भूकम्पले क्षति भएका सवै विद्यालयमा आवश्यकताका आधारमा कुनै न कुनै कार्यक्रम पुगेको जिल्ला परियोजना इकाइ (शिक्षा) ले जानकारी दिएको छ ।इन्जिनियर श्रेया झाका अनुसार जिल्लाका अधिकांश विद्यालयहरु पुनर्निर्माणबाट लाभान्वित भएका छन् । विद्यालय व्यवस्थापन समितिबाट निर्माण शुरु भएका थप ७१ वटा विद्यालय भवन, एडीबीको ऋण र नेपाल सरकारको सहयोगमा ठेक्का प्रकियाबाट निर्माण हुने ९ वटा विद्यालय भवन, भारतीय सरकारको अनुदान सहयोगमा निर्माण हुने १२ वटा विद्यालय भवन निर्माणाधीन अवस्थामा छन् ।

८ वटा विद्यालयमा एडीबीको ऋण र नेपाल सरकारको सहयोगमा डीआरएसपी कार्यक्रमअन्तर्गत रेट्रोफिट कार्यक्रम सञ्चालनमा रहेको इन्जिनियर झाले जानकारी दिनुभयो ।जिल्लाका १ सय २१ वटा विद्यालयमा विद्यालय व्यवस्थापन समितिमार्फत शौचाल निर्माणको काम भइरहेको छ । ८८ वटा विद्यालयमा खानेपानी सुविधाका लागि संरचना निर्माण भइरहेको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि ५ वर्षबाट हाल एक वर्ष थप भइ आगामी पुससम्म रहेको छ । ५ वर्षको अन्तरालमा विद्यालय पुनर्निर्माणको करिव ९० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । बाँकी १० प्रतिशत प्रतिशतको काम पूर्णरूपमा सम्पन्न गर्न अझै १ वर्ष समय लाग्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्