सामुदायिक प्रहरी



नेपालमा सामुदायिक प्रहरी सेवाको प्रशंसा हुनेगरेको छ । जहाँ–जहाँ प्रहरीले स्थानीय नागरिकसँग मिलेर काम गरेको छ, उसले निराश हुनुपरेको जानकारीमा छैन । सामुदायिक प्रहरीका लागि स्थानीय नागरिकले जग्गा प्रदान गरेका, स्रोत–साधनको व्यवस्था मिलाएका, आर्थिक अनुदान तथा श्रमदान जुटाएका उदाहरण धेरै छन् ।

स्थानीय नागरिक र प्रहरी बीचको सम्बन्ध नजिक रही अपराध अनुसन्धानमा सहयोग पुग्ने गरेको छ । सामुदायिक प्रहरीले स्थानीय नागरिकको सहयोग र सहकार्य, सहमतिमा आफना कार्यहरु गर्दै नेपालमा अपराध रोकथाम, नियन्त्रण तथा शान्ति सुव्यवस्था कायम गर्न ऐनको पनि व्यवस्था छ ।

प्रहरी ऐन २०१२ ले स्थानीय नागरिकसँग सहकार्यका लागि प्रहरीलाई दिशानिर्देश गरेपनि २०५१ सालदेखि नै सामुदायिक प्रहरी सेवाको अवधारणाले कार्यान्वयनको स्वरुप लिएको हो । मुलुकमा विधिवतरुपमा गठन भएका सामुदायिक प्रहरीसँग आवद्ध सामुदायिक सेवा केन्द्रहरु सबै समान रुपमा सफल छन् भन्ने चाहिं होइन, प्रहरीले पाएको नेतृतवअनुसार सफलता निहित हुनेगर्दछ । सामुदायिक प्रहरी सेवा तथा सामुदायिक सेवा केन्द्रको सहकार्यमा स्थानीय नागरिकहरुसँग सहकार्य गरी समाजमा सरसफाइदेखि लिएर घट्नसक्ने अपराध रोक्न, घरेलु तथा लैङ्गिक ंिहंसा नियन्त्रण गर्न, मानव बेचबिखनलगायतका अपराध नियन्त्रण गर्ने काम सफलताका साथ भएका दृष्टान्तहरु पर्याप्त पाइन्छन् ।

सामुदायिक प्रहरी सेवा सुरु हुनुअघि २०३९ सालमा घरदैलो कार्यक्रमबाट यसको सुरुवात भएको मान्नसकिन्छ । तर, पछिल्ला वर्षहरुमा भने सामुदायिक प्रहरीका साथ काम गर्ने गैसस वा नागरिक समाजको ठूलो सूची देखिएको छ । हालै मात्र नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच समुदाय–प्रहरी साझेदारी अवधारणाअनुरुप संस्थागत साझेदारी गर्ने प्रयोजनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा साउन १ गते आयोजित समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

अपराध रोकथाम गर्न, सुरक्षा व्यवस्थापनमा जनसहयोग र समग्रमा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न प्राज्ञिक क्षेत्रको विज्ञता र महत्वपूर्ण भूमिकालाई मनन गर्दै तथा प्राज्ञिक गतिविधिहरूको निर्बाध सञ्चालनमा प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न, सुरक्षा सचेतना अभिवृद्धि गर्न र नेपाल प्रहरीमा निहित सुरक्षासम्बन्धी विज्ञताको प्राज्ञिक क्षेत्रमा उपयोग गर्ने सम्बन्धमा नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरूप संस्थागत साझेदारीको निर्माण एवं कार्यान्वयन गर्न सहमति प्रकट गरियो ।

समझदारीपत्रमा अध्यापन र प्रशिक्षणमा संस्थागत विज्ञताको उपयोग, पाठ्यक्रम विकास, अध्ययन अनुसन्धान, सूचनाको आदान प्रदान, स्रोत व्यक्ति तथा स्वयंसेवकसम्बन्धी व्यवस्था, सुरक्षा सचेतना अभिवृद्धि, प्रकाशन, क्षमता अभिवृद्धि, सूचना प्रविधिको विकास, व्यावहारिक अभ्यास, इन्टर्नसिप, विद्युतीय पुस्तकालय, सुरक्षित विश्वविद्यालयको अवधारणा, भ्रमणको आदानप्रदानआदि विषयमा दुई ठूला निकायबीच समझदारी हुनु मुलुकका लागि प्रसन्नताको विषय हो ।

त्रिभुवन विश्वविद्यालय र नेपाल प्रहरी दुवै मुलुकको उच्च शिक्षा र शान्ति–सुरक्षा तथा कानुनी राजको स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्ने संस्था हुन् । यी दुईबीच भएको समझदारीले सामुदायिक प्रहरी सेवाको उचाइ अभिवृद्धि गरेको छ । यसबाट आगामी दिनमा सामुदायिक प्रहरी सेवाप्रति जनविश्वास अझै बढ्ने थप आधार तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस्