चिनिया विद्यार्थी नेपालमा नेपाली विद्यार्थी चीनमा पत्रकारिता गर्ने



नेपाल समाचारपत्र, काठमाडौं । चीनको युनान युनिभर्सिटीका डीनसहित पाँच प्राध्यापक अहिले नेपालमा छन् । उनीहरु नेपालका पत्रकारिता तथा आमसञ्चार संस्थाबाट ईच्छुक विद्यार्थी तथा पत्रकारलाई आफ्नो विश्वविद्यालयमा पत्रकारिताको व्यावहारिक अभ्यास गराउने र त्यहाँबाट पनि विद्यार्थी यहाँ पठाउने व्यवस्थापनका लागि काठमाडौंमा छन् ।

उनीहरुलाई नेपाली मिडिया क्षेत्रका शैक्षिक तथा सञ्चार संस्थाहरुले स्वागत गरेका छन् । यात्राको संयोजन नेपाल–चीन मिडिया फोरम नामक संस्थाले गरेको छ । फोरमका अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ भन्नुहुन्छ, एक–आपसबाट सिक्नका लागि यो राम्रो सुरुवात हो ।
प्रेस काउन्सिल नेपालमा बिहीबार आयोजित चिनिया प्राध्यापक तथा नेपाली मिडिया प्रतिष्ठानका प्रतिनिधिहरुबीचको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गर्दै श्रेष्ठले भन्नुभयो, पत्रकारिताका विद्यार्थीको आदान–प्रदानको अभ्यास गरेर चीनकै छिमेकी म्यानमारले लाभ लिइसकेको छ, हामीले पनि लाभ लिन ढिला गर्नुहुन्न ।

युनान युनिभर्सिटी जर्नलिजम स्कुलका डीन जिनेइ दाउले नेपाली पत्रकार तथा मिडियाका विद्यार्थीबाट चीन सिक्न चाहन्छ, यसले दुई देशबीच जनस्तरको सम्बन्ध विस्तारमा पनि सघाउ पु¥याउँछ भन्नुभयो ।

फोरमका सदस्य लक्ष्मणदत्त पन्तले जानकारी गराएअनुसार मिडियाको नयाँ पुस्तालाई दुई देश बीचको सम्बन्ध विस्तारमा सहयोगी भूमिका खेल्ने पात्रका रुपमा विकास गर्नु यस कार्यक्रमको उद्देश्य हो । दुवै देशका भविष्यका सञ्चारकर्मीहरु यस कार्यक्रमबाट लाभान्वित हुनेछन् ।

नेपाली मिडिया विज्ञ तथा पत्रकारिताका गुरु रामकृष्ण रेग्मीले आजका मिडियाका विद्यार्थीको आदान–प्रदान कार्यक्रमलाई लिच्छविकालमा नेपाली चेली भृकुटीले सुरु गरेको नेपाल–चीन सांस्कृतिक सम्बन्धको नयाँ स्वरुपमा रुपमा हेर्नुपर्छ भन्नुभएको छ ।

‘सम्बन्धहरु समयसापेक्ष विकसित हुनुपर्छ, कुनै बेला थियो, भृकुटी केरुङको बाटो हुँदै दुलही बनेर तिब्बत गएकी थिइन्, उनकै कारणले चीनमा नेपाली सभ्यताले पहिचान पायो, अब पालो सभ्यता र सम्वन्ध विस्तारको महत्वपूर्ण स्तम्भका रुपमा रहेको मिडियाको’ सञ्चारविद् रेग्मीले भन्नुभयो, विश्व प्रसिद्ध चिनिया विश्वविद्यालय युनान युनिभर्सिटीबाट नेपालमा पत्रकारिताको विद्यार्थी आउँदा ऊसँग सिंगो संस्कृति भित्रिन्छ । उहाँका अनुसार युनान युनिभर्सिटीको अध्यापन विधि, शैक्षिक प्रतिस्ठानको सांगठानिक स्वरुप र सभ्यता लिएर आउने चिनिया विद्यार्थी हाम्रालागि भृकुटीजस्तै पात्र सावित हुनेछ ।

‘आजसम्म हामीले चिनिया सामान भित्र्यायौं, अब ज्ञान र सीप पैठारी गरौं’ उहाँले भन्नुभयो, हामी राजनीतिक पार्टीनिर्देशित प्रेसको पक्षमा छैनौं, तर हामीले चीनबाट पत्रकारिताले विकास र समृद्धिमा कसरी सघाउनसक्छ भनेर सिक्नैपर्छ । ‘तर हामी सतर्क रहनुपर्छ, नेपालबाट चीन जाने विद्यार्थी वा पत्रकारको छनोट प्रक्रिया कुनै दल वा समूहको नियन्त्रणमा मात्र नजाओस्’ उहाँले सजग गराउनुभयो ।

कलेज अफ जर्नलिजम एण्ड मास कम्युनिकेसनका संस्थापक डा. मञ्जु मिश्रले छिमेकी जीनले नेपालका विभिन्न क्षेत्रमा सघाएजस्तै शैक्षिक क्षेत्रमा पनि सघाउँदै भाएको स्मरण गर्दै मिडियामा अन्तरंग अभ्यासले नयाँ आयाम थप्ने बिचार राख्नुभयो– ‘मेरो कलेज चीनमा विद्यार्थी पठाउँन र त्यहाँबाट विद्यार्थी लिन तत्पर छ ।’

यस्तै तत्परता नेपाल समाचारपत्र, नेपाल प्रेस इन्ष्टिच्यूटलगायतका अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले देखाएका छन् । इन्ष्टिच्यूटका कार्यसमिति सदस्य तथा वरिष्ठ पत्रकार तीर्थ कोइरालाले भन्नुभयो, ‘हामीले ३६ वर्षदेखि व्यावसायिक पत्रकार उत्पादन गरेर नेपाली प्रेस जगत्लाई सघाइरहेका छौं, अब युनान युनिभर्सिटीलाई पनि सघाउन चाहन्छौं, त्यसैगरी उसले पनि हामीलाई सघाउने कुरामा उत्साहित छौं ।’

सम्पादक कपिल काफ्लेले चिनिया पत्रकारले राखेको दृष्टिकोण नेपाली पाठक–श्रोता–दर्शकका लागि विशेष रोचक हुने धारणा राख्दै नेपाल समाचारपत्र चिनिया पत्रकारसँग काम गर्न तयार रहेको जानकारी गराउनुभयो । उहाँले यस्ता पत्रकारले स्थानीय राजनीतिक मुद्दालाई भने नछुँदा नै बेस हुने धारणा राख्नुभयो ।

फोरमका सदस्य पन्तका अनुसार दुवै तर्फका पत्रकार वा विद्यार्थीका लागि युनान युनिभर्सिटीले नै खर्चको व्यवस्था गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्