हाईटेक स्वयंसेवी



नेपालले हरेक पटक वर्षाद्को समयमा भोग्दै आएको बाढी, पहिरो, डुवान समस्या यसपटक फेरी बल्झिएको छ । अकालमा ज्यान गुमाउने, वेपत्ता र घरवार विहिनहरुको संख्या यसपटक पनि हरेक दिन बढ्या बढ्यै छ । पीडित परिवारलाई राहत र उपचार खर्च दिन संघ, प्रदेश र स्थानीय तह एकसेएक देखिएका छन् ।

प्रष्ट थाहा छ–हरेक वर्ष तराईमा डुवान समस्या दोहोरिन्छ । भारतले एकतर्फी रुपमा बनाएका बाँध र अन्य पूर्वाधारले तराईको समस्या दीर्घरोग बनेको प्रष्ट हुँदाहुँदै सरकार प्रष्ट बोल्न सक्दैन, विगतमा सरकारको डाडु पन्यू चलाइसकेकाहरु पनि त्यै चुप मै चुप शैलीमा प्रस्तुत भएको देख्दा धरहरा तीनछक पर्ने गर्छ ।

यति मात्रै हो र, हरेक वर्ष विपद् व्यवस्थापनको नाममा प्रधानमन्त्री राहत कोष र खैं के के कोषमा स्वदेशी र विदेशी सहयोग उठ्या उठ्यै हुन्छ तर सहयोग कहिले प्रभावित वस्तीमा पुग्छ थाहा पत्तो हुन्न । सहयोग जुटाउने नाममा एनजिओ र आइएजिओ खुवै सलबलाइरहेका देखिन्छन्, तीनले उठाएको सहयोग पनि राहत कोषमै जान्छ कि अन्तै विलाउँछ, बुझिसाध्य छैन ।

यो मौसममा फेरी गजबका स्वयंसेवीको चहल–पहल बढ्छ । एक बोरा चामल, तीन÷चार प्याकेट चाउचाउ र एक दुई थान कपडा बाँड्ने अनि अनिवार्य सेल्फी हान्ने स्वयंसेवीको जमात ह्वात्तै बढ्छ । फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल नहँुदो हो त यस्ता स्वयंसेवीको समाजसेवाको स्वरुप कस्तो हुन्थ्यो कुन्नी ?

प्रतिक्रिया दिनुहोस्