सेन्सरले नै दिन्छ पहिरो आउने सूचना



टीका बन्धन, काठमाडौं ।
निरन्तरको वर्षाले बाढी, पहिरो र डुवानका घटना बढिरहेको अवस्थामा प्रकोपका यस्ता घटनाको पूर्व सूचना दिने ‘सेन्सर’ उपयोगी हुने देखिएको छ ।

युवा बैज्ञानिकद्वय राम–लक्ष्मण रिमालले तयार गरेको पहिरोको पूर्व सूचना प्रणाली (ल्यान्ड डिसप्लेसमेन्ट सेन्सर) को परीक्षण सफल भएपछि गोरखाका विभिन्न भेगमा प्रयोगमा आएको छ ।

राम–लक्ष्मण इनोभेसन्स्ले गोरखाको उत्तरी भेगमा अवस्थित साविकको केरौंजा गाविस (हालको चुननुब्री गाउँपालिका) र गोरखाकै उत्तरी भेगको लापुको खानीगाउँ वस्तीमा पहिरोको पूर्व सूचना दिने प्रणाली जडान गरेको हो ।

बस्ती वरिपरि गाडिने सेन्सरले जमिनमा सामान्य कम्पन हुनेबित्तिकै पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई साइरनमार्फत अग्रिम सूचना दिने गर्छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सँगको सहकार्यमा राम–लक्ष्मण इनोभेसन्स्ले चुननुब्रीमा तीन वर्षअघि सेन्सरको नमूना परीक्षण गरेको थियो । सो परीक्षण सफल भएपछि यसवर्ष धार्चे गाउँपालिका–७ को लापुको खानीगाउँका विभिन्न ४ ठाउँमा ल्यान्ड डिसप्लेसमेन्ट सेन्सर जडान गरेको छ ।

ताररहित (वायरलेस) प्रविधिको सेन्सरले जमिन हल्लिएलगत्तै सो सूचना मुख्य मेसिन साइरनलाई सम्प्रेण गर्ने र साइरनले ठूलो आवाजका साथ स्थानीयलाई अवगत गराउने भएकाले जनधनको क्षति न्यूनिकरणमा सहयोग गर्ने इनोभेसन्स्का सञ्चालक लक्षण रिमालले बताउनुभयो ।

‘वस्ती जति फराकिलो छ, जति बढी जनघनत्व छ, त्यहीअनुसार स्थानीयले अग्रीम सूचना थाहा पाउने सेन्सर जडान गर्न मिल्छ’, उहाँले भन्नुभयो– ‘एक किलोमिटर आसपासको भेगलाई समेट्ने गरी साइरन राख्न मिल्छ ।’

सेन्सरले दिने संकेत मोबाइल फोनमा समेत सन्देश प्राप्त हुने भए पनि उत्तरी गोरखामा मोवाइल सेवा प्रभावकारी नभएकाले स्थानीयको मोवाइलमा यस्तो सुविधा थप्न नसकिएको रिमालले प्रस्ट्याउनुभयो ।

सेन्सर र साइरन जोड्नु अगावै भू–गर्भविद्ले खानीगाउँलाई पहिरो जोखिम बस्तीका रुपमा सूचीकृत गरिसकेका छन् । सेन्सर सञ्चालनका लागि ब्याट्री, सोलार पावर, साइरल, रिमोर्ट, प्यानिक बटनजस्ता उपकरण आवश्यक पर्छ ।

ल्यान्ड डिसप्लेसमेन्ट सेन्सर शहरी भेगमा टोल सुरक्षा र भूकम्पको पूर्वसूचना दिने प्रयोजनका लागि सञ्चालनमा ल्याइएका साइरनकै स्वरुप भएकाले नियमित अतिरिक्त खर्च आवश्यक नपर्ने इनोभेसन्स्का अर्र्का सञ्चालक राम रिमालले बताउनुभयो ।

एउटा सेन्सरलाई आठ हजार रुपियाँ हाराहारीमा तयार गर्न सकिने भएकाले विदेशबाट महंगो बजेटमा यस्ता उपकरण झिकाउन जरुरी नभएको उहाँहरूको दावी छ । नदी र जलाधार क्षेत्रको पानीको बहाव, जल सतहको यकिन सूचना प्राप्त गर्न यस्ता उपकरण प्रयोगमा ल्याउन सकिने रिमालको भनाइ छ ।

भू–स्खलनका लागि प्रयोग हुने उपकरणले दिने सूचना विश्वसनीय भएको खण्डमा अन्यत्र पनि यस्तो विधिको माग हुने नेपाल भौगोलिक संस्थाका अध्यक्ष प्राडा नरेन्द्र खनाल बताउनुहुन्छ ।

‘केही गरी सेन्सर र साइरनमार्फत गलत सूचना सम्प्रेषण भयो भने लक्षित समुदायले आगामी दिनको सूचना विश्वास नगर्न सक्ने भएकाले यसतर्फ सतर्क हुनु जरुरी छ’ –उहाँले भन्नुभयो । यसअघि जल उत्पन्न प्रकोप नियन्त्रण विभागले नुवाकोटको ककनीमा यस्तै परीक्षण अभ्यास गरेपनि सरकारी स्तरबाट निरन्तरता नपाएको खनालले बताउनुभयो ।

चार वर्षअघिको भूकम्पपश्चात् खानी तथा भू–गर्भ विभाग र राष्ट्रिय पुनः निर्माण प्राधिकरणले गरेको भौगर्भिक सर्वेक्षणले एक हजार ३९ भेगलाई पहिरो जोखिम क्षेत्र पहिचान गरेको छ । यो तथ्यांक भूकम्प प्रभावित ३२ जिल्लाको हो । पहिरो जोखिम क्षेत्रलाई ‘क्याट वान’, ‘क्याट टु’ र ‘क्याट थ्री’ मा विभाजन गरिएको छ । क्याट वान पूर्ण सुरक्षित, पहिरो रोकथामका अभ्यास गरिनुपर्नेलाई क्याट टु र तत्काल बसोबास अयोग्य क्षेत्रलाई क्याट थ्रीमा विभाजन गरिएको प्राधिकरणका नापी अधिकृत उत्तम लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्