दलीय स्वार्थका कारण संसद् बैठक स्थगित



गंगा बराल, काठमाडौं ।
प्रतिनिधिसभाको सोमबारको बैठक दलीय स्वार्थ नमिल्दा स्थगित भएको छ । सत्तापक्ष र प्रतिपक्षबीच बैठक कसरी चलाउने र कार्यसूचीमा के राख्ने के नराख्ने भनेर सहमति नजुट्दा समस्या उत्पन्न भएको छ ।

सोमबार १ बजे बोलाइएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको थियोे । संघीय संसद् सचिवालयले सूचना प्रकाशित गरी बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमनसमेत गर्नका लागि सांसदहरु आ–आफ्नो क्षेत्र र जिल्लामा जान समय दिनुपर्ने भएकाले बैठक ८ गते बुधबार १ बजे बस्ने जनाएको छ ।

नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सर्लाही घटना, विप्लवका नेता÷कार्यकर्तामाथिको प्रहरी दमनलगायतका अन्य विषय उठाउँदै आएका छन् । उनीहरुले केही विषयमा छानविन गर्न संसदीय समिति गठनको माग गर्र्दै संसद बैठक अवरोध गर्दै आएका छन् ।

उनीहरुले असार २४ गते पनि बैठक अवरुद्ध गरेका थिए । अर्को दिन पनि कांग्रेस र राजपाका सांसदहरुको अवरोधबीच सभामुख कृष्णबहादुर महराले बैठक सञ्चालन गर्नुभएको थियो । प्रमुख प्रतिपक्ष दल कांग्रेसले साउन ८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा आपत्ति जनाएको छ ।

सभापति शेरबहादुर देउवाले मुलुक बाढी, पहिरो र डुबानको राष्ट्रिय विपत्तिमा परेका बेला संसद्मा छलफल गरेर अघि बढ्नुपर्नेमा बैठक नै स्थगित गरेर केपी ओली नेतृत्वको सरकारले बदमासी गरेको आरोप लगाउनुभएको छ ।
उहाँले संसद् भवनमा सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै भन्नुभयो– ‘राष्ट्रिय संकटका बेला संसद् बैठकमा सम्बन्धमा छलफल गर्ने संसारभरकै संसदीय प्रचलन भए पनि सभामुख महराले सरकारसँग डराएर प्रतिनिधिसभा बैठक स्थगित गर्नुभयो ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले आफूहरुले पूर्वनिर्धारित कार्यसूचीलाई स्थगन गरेर बाढीपहिरोको विषयमा संसद्मा छलफल गरौं भनेर राखेको प्रस्ताव सत्तापक्षले नमानेको आरोप लगाउनुभयो ।

राष्ट्रिय जनता पार्टीका सांसद राजकिशोर यादवले सरकारले संसद छलेको आरोप लगाउँदै सरकार जनताका पक्षमा गम्भीर नभएको बताउनुभयो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले समेत संसद् बैठक स्थगित गरिएकोमा आपत्ति जनाएका छन् ।

सांसदहरु यज्ञराज सुनुवार, विशाल भट्टराईलगायतका सांसदहरुले देश बाढी, पहिरो र डुबानबाट आक्रान्त भइरहेका बेला समस्या समाधान गर्ने थलो प्रतिनिधिसभा बैठक स्थगित गरिएको भन्दै आपत्ति जनाउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्