बाढी–पहिरोपीडितको उद्धार कार्य जारी

मर्नेको संख्या ७८ पुग्यो



नेपाल समाचारपत्र, काठमाडौं ।
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार रातीसम्म ६७ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५–५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४–४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३–३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २–२ जना तथा इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ जना गरी ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २६ जना महिला ४१ जना पुरुष रहेका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर, खोटाङ र डोल्पामा १–१ जना गरी १ हजार ४ सय ४५ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

बाढी पहिरोमा परी डोल्पामा ९ जना, सिन्धुलीमा ४ जना, इलाम र मोरङमा ३÷३ जना, महोत्तरी र मकवानपुरमा २÷२ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा १–१ जना गरी ३२ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये १४ महिला र १८ जना पुरुष छन् ।

साथै, धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३÷३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २÷२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १÷१ जना गरी जम्मा ३९ जना घाइते भएका छन् । घाइतेमध्ये १८ महिला र २१ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ । साथै, महोत्तरीको बर्दिवास नगरपालिका–१ र ४ जोड्ने पूर्व–पश्चिम राजमार्गमा रहेको भप्सी खोलामा डाइभर्सन गरेको बाटो पानीको बहाब बढ्न गई सोमबार बिहानबाट अवरोध भएको छ ।

यस्तै ललितपुर, मकवानपुर, रामेछाप, मुस्ताङ, मनाङ, ओखलढुङगा, भोजपुर, रौतहट, महोत्तरी, पाल्पा, कालिकोटलगायतका स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी छ ।

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरूमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयका प्रहरी कर्मचारी सक्रिय रूपमा संलग्न रहेका छन् ।

बाढीपीडितलाई कांग्रेसको सहयोग

नेपाली कांग्रेसका संघीय संसद्का सदस्यहरुले बाढीपहिरोपीडितलाई ५ दिनको तलब सहयोगस्वरुप उपलब्ध गराउने भएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले बाढीपहिरोपीडितलाई ५ दिनको तलब उपलब्ध गराउने निर्णय भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले देश संकटमा परेको बेला थोरै भए पनि राहत मिलोस् भनेर संसदीय दलले यो निर्णय गरेको बताउनुभयो ।

संघीय संसद्मा प्रतिनिधिसभामा कांग्रेसका ६३ जना र राष्ट्रिय सभामा १३ जना सांसद छन् । सांसदले मासिक पारिश्रमिकबापत ५५ हजार २ सय ३० रुपियाँ पाउँछन्् । कांग्रेसले सोमबारै बाढीपीडितको बारेमा छलफल गर्न भन्दै संसद्को नियमित प्रक्रिया रोकेर सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको थियो । तर संसद् बैठक चलेन ।

बाढीपीडितलाई राहत उपलब्ध गराउने घोषणा गर्ने नेपाली कांग्रेस पहिलो दल बनेको छ ।

कांग्रेसले राहत र उद्धारको अनुगमन गर्ने

चलिरहेको केन्द्रीय समिति बैठक स्थगित गरी राहत र उद्धारमा जुट्ने निर्णय गरेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य व्यवस्थित गरे नगरेको अनुगमन गर्ने भएको छ ।

सभापति शेरवहादुर देउवाले सोमबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सरकारलाई व्यवस्थित र प्रभावकारी ढंगले उद्धार र राहतमा जुट्न आग्रहसमेत गरिएको छ ।

उहाँले विज्ञप्तिमा ‘विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पीडामा परेका नेपालीहरुको सेवामा समर्पित हुनु सबैको परम कर्तव्य हो’ भन्नुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्