त्रसित दलहरू

व्यवस्थामाथि चुनौती बढेको भन्दै १२ बुँदे पक्षधर एकै ठाउँमा



 काठमाडौं  । 

वर्तमान राज्य व्यवस्थामाथि चुनौती बढेको निष्कर्षसहित १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिने निर्णय गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बसेको सर्वदलीय बैठकमा सत्ता पक्ष र प्रतिपक्षमा रहेका ठूला राजनीतिक दलहरूले वर्तमान व्यवस्था जोगाउने सन्दर्भमा एक हुने निर्णय गरेका हुन् ।

परम्परागत एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी, पछिल्लोपटक उदाएका नयाँ राजनीतिक दलहरू, पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधरलगायत विभिन्न समूहहरूका गतिविधिप्रति त्रसित बनेका संघीयता, गणतन्त्र र धर्मनिरपेक्ष पक्षधरका राजनीतिक दलहरूले वर्तमान व्यवस्थामाथि चुनौती आएको भन्दै एकजुट हुन सर्वदलिय बैठक आह्वान गरेका हुन् । तर, जनस्तरमा भने यिनै पुरानै राजनीतिक दलका गतिविधि र तौर तरिकाका कारण वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठ्न थालेको हो । यद्यपि, पुराना दलहरूले आफूलाई सच्याएर अघि बढ्नेतर्फ ध्यान दिन सकेका छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको सर्वदलीय बैठकमा १२ बुँदे सहमति तथा बृहत् शान्ति सम्झौताका हस्ताक्षरकर्ता दलहरूबीच मौजुदा व्यवस्थामाथि हुन थालेको विभिन्न प्रहारलाई मिलेर प्रतिवाद गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रकी नेता पम्फा भुसालले जानकारी दिनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘तीन दलका शीर्ष नेताहरूले आफू संघीय लोकतन्त्रिक गणतन्त्रको पक्षधर भएकाले यो व्यवस्थामाथि आउने सम्भावित खतरलाई सबै एक भएर सामना गर्नुपर्छ ।

 

परम्परागत एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी, पछिल्लोपटक उदाएका नयाँ राजनीतिक दलहरू, पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधरलगायत विभिन्न समूहका गतिविधिप्रति वर्तमान व्यवस्थाका पक्षधर दलहरू सशंकित ।

 

खासगरी गणतन्त्र र लोकतन्त्रको पक्षमा प्रतिबद्ध पार्टीहरू एक ठाउँमा आएर नकारात्मकतालाई चिर्नुपर्ने अवस्था आएको निष्कर्ष निस्किीएको छ । शान्ति, संविधान र व्यवस्थाप्रति जसरी आक्रमण र भड्काउने प्रयास भएको छ, व्यवस्था जोगाउने कुरामा सबैको एक मत देखियो ।’

सिंहदरबारमा भएको छलफलमा तत्कालीन बृहत् शान्ति सम्झौता गर्ने प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेसपाका अध्यक्ष बाबुराम भट्टराईसहित सरकारमा सहभागी दलका शीर्ष नेताहरूले व्यवस्था जोगाउने विषयमा एक ठाउँमा उभिने प्रतिवद्धता जनाएका हुन् ।

बैठकमा प्रधानमन्त्रीदेखि चार पूर्वप्रधानमन्त्री, पार्टीका शीर्ष नेताहरू, पूर्व तथा वर्तमान मन्त्रीहरूको सहभागिता थियो । छलफलमा सहभागी नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति बलियो प्रतिबद्धता व्यक्त गरेको बताइएको छ । परिवर्तनको रक्षा र विकास गर्ने कुरामा प्रतिबद्धता जनाए पनि छलफलका क्रममा एमालेले भने सरकारको कामकारबाही सन्तोषजनक नरहेको भन्दै कार्यशैली परिवर्तन गर्न सुझाव दिएको एमालेका प्रमुख सचेतक महेश बड्तौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्