नीर शाह र भुवन केसीबीच चर्काचर्की



राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा फिल्मकर्मी नीर शाह र भुवन केसीबीच सवाल जवाफ भएको छ।

नेपाल चलचित्र निर्माता संघको १७औं वार्षिक साधारणसभा एवं पुरस्कार तथा सम्मान कार्यक्रममा शाह र केसीबीच सवाल जवाफ भएको हो। अभिनेता, निर्माता, निर्देशक, लेखक तथा गीतकार नीर शाहले कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डको उद्देश्य र भावनाविपरीत काम गरिरहेको आरोप लगाएपछि उनीहरूबीच चर्काचर्की भएको हो। शाहले फिल्मकर्मीको भावनाविपरीत जान थालेको अवस्थामा भुवनलाई बोर्डको कुर्सीबाट विस्थापित गर्न सक्ने चेतावनीसमेत दिए।

‘फिल्मकर्मीको भावनाबाहिर गएर यसबाट डगमगाए तपाईं बसेको कुर्सी पनि अस्थायी हो। होइन भने तपाईंलाई स्थापित गरेको कुर्सीबाट फिल्मकर्मीले विस्थापित पनि गरिदिन्छन्’ शाहले प्रस्तावित फिल्मसम्बन्धी विधेयक मस्यौदाप्रतिसमेत आपत्ति जनाउ“दै भने ‘यो विधेयकले बोर्डको अधिकार खोस्ने काम गर्ने र फिल्म क्षेत्रलाई थप धराशायी बनाउनेछ। हामीले प्रशासकीय चालबाजी र षड्यन्त्रभित्र फिल्म उद्योगलाई सुरक्षित देखेका छैनौ“। यो विधेयकले बोर्डमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको हस्तक्षेप बढाउँछ। त्यसैले, विधेयकलाई फिल्मसँग सम्बन्धित सबै संघ–संस्थाले डस्टबिनमा प्mयाँकिदिएका छन्।’ शाहले फिल्मकर्मीको भावनाअनुसार विधेयक नल्याए र बोर्डको कार्यशैलीमा परिवर्तन नआए सडक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिँदै स्वतन्त्र चलचित्र आयोग बनाउनसमेत सरकारलाई सुझाव दिए। शाहले बोर्ड अध्यक्ष केसीले आप्mनो सल्लाह नसुनेको भन्दै बोर्डको प्रमुख सल्लाहकार पदबाट राजीनामा दिएका थिए।

भुवनले भने आप्mनो बचाउ गर्दै बोर्डलाई स्वायत्त बनाउनकै लागि आफू बोर्डमा आएको दाबी गरे। ‘बोर्डलाई स्वायत्त बनाउन नै म आएको हुँ। विगत ४० वर्ष अघिदेखिको ऐन अहिलेसम्म किन पास भएको छैन? म जागिर खानलाई आएको हैन। यदि, कोही व्यक्ति भोलिको दिनमा आएर भुवन केसी यहाँबाट गएपछि एक महिनाभित्रमा ऐन पास गर्छु भन्छ भने म अहिले जागिर छोड्न तयार छु’ भुवनको भनाइ थियो। केसीले छलफल र सल्लाहकै लागि मस्यौदा सार्वजनिक गरिएको र फिल्मकर्मीको सुझावअनुसार अघि बढ्ने पनि बताए।

निर्माता संघका अध्यक्ष नवल खड्काले फिल्म क्षेत्रको विकास र विस्तारमा मन्त्रालय र बोर्ड नै गम्भीर नभएको आरोप लगाए। ‘नेपालभित्रै कति कुरा व्यवस्थित गर्न सकिएको छैन, विदेशी बजारको कुरै भएन। फिल्म क्षेत्रलाई उद्योगसरह मान्यता दिएको सरकार नै कार्यान्वयनमा बेखबर छ’ नवलले भने ‘बोर्डलाई स्वायत्तता बिना फिल्मसम्बन्धी विधेयक स्वीकार्य हुने छैन।’ खड्काले फिल्म मस्यौदाको विषयमा आफूहरूको माग पूरा नभएसम्म बोर्डले गर्ने सबै कार्यक्रम बहिष्कार गर्ने पनि बताए।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले प्रस्तावित फिल्म विधेयकलाई सहभागितामूलक बनाउन सरकार लागि परेको दाबी गर्दै फिल्मकर्मीको सल्लाह सुझावअनुसार विधेयक अघि बढ्ने बताए।

कार्यक्रममा यस वर्ष नेपाली फिल्म प्रदर्शन गरी निर्मातालाई सबैभन्दा बढी सेयर दिन सक्षम उपत्यकाको बिग मुभिज प्रालिका प्रबन्धक दीपेश शर्मा र चितवनको नारायणघाटस्थित क्यूएफएक्स सिनेमाज् (जलमा हल) का सञ्चालक तथा नेपाल चलचित्र संघका अध्यक्ष वीरेन्द्र नारायण श्रेष्ठलाई नेपाल चलचित्र निर्माता संघ प्रदर्शन पुरस्कार सम्मान प्रदान गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्