काठमाडौँ।
नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । यहि असोज २५ गते अर्थात् अक्टोबर १२ तारिखमा परेको विश्व दृष्टि दिवसको अवसरमा संघले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
उक्त प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद ५० हजारसहित संघले सम्मान गर्नेछ । प्रतियोगीले आँखा स्वास्थ्यमा केन्द्रित भई जनचेतनामूलक भिडियो निर्माण गर्नुपर्नेछ ।
पछिल्लो समय युवादेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिहरुमाझ लोकप्रिय भइरहेको टिकटक मार्फत आम नागरिकलाई आँखाको महत्त्व र आँखा स्वास्थ्यका विषयमा जनचेतना जगाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्र बताउँछन् ।
त्यस्तै सङ्घका महासचिव भरत बहादुर चन्दका अनुसार सन् २०२१ मा भएको र्याब सर्वेले समेत नेपालमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतनाको कमी रहेको देखाएको र अहिले पनि नेपालका धेरै नागरिकहरु आँखा उपचार हुन्छ भन्ने जानकारीकै अभावमा दृष्टिविहीन जीवन बिताइरहेका छन् । यस्ता व्यक्ति अथवा उनीहरूको परिवारमा पनि आँखा स्वास्थ्य सम्बन्धी जनतेचना जागृत होस् भन्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको हो ।
स्थापनाकाल देखि नै संघले आँखा उपचार सेवासंगै आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कामलाई पनि निरन्तरता दिइरहेको र अहिले पछिल्लो समय मानिसहरुमा आएको सामाजिक सञ्जालहरुको बढ्दो लोकप्रियतालाई मध्यनजर गरेर जनचेतनाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष प्रा.डा चेतराज पन्त बताउँछन् ।
आईकेयर फाउन्डेशनको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा प्रतियोगीहरूले निर्माण गरेको भिडियोको विषयवस्तु मौलिक हुनुपर्नेछ भने भिडियोमा सामाजिक सद्भावमा खलल पार्ने तथा कुनै पनि किसिमको समाजलाई नकारात्मक प्रभाव पार्ने संवाद वा विषयवस्तु समावेश गर्न पाइने छैन ।
प्रतियोगीले असोज २३ गते ५ बजेसम्ममा भिडियोको लिंक पठाउन सक्नेछन् त्यसपछि प्राप्त लिंकलाई प्रतियोगितामा समावेश नगरिने सङ्घका कार्यक्रम व्यबस्थापक रञ्जन साह बताउँनुहुन्छ । बिजेताको घोषणा असोज २५ गते विश्व दृष्टि दिवसको दिन गरिनेछ र सोको जानकारी नेपाल नेत्रज्योति संघको टिकटक तथा फेसबुक मार्फत गराइने संघले जनाएको छ ।











प्रतिक्रिया