नेपाली महिला टोली फेरि असफल



काठमाडौं । नेपालको महिला राष्ट्रिय क्रिकेट टोली महिला विश्वकप ग्लोबल छनोटमा पुग्न असफल भयो । शुक्रबार मलेसियामा भएको आईसीसी टी २० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपाल पराजित भएको हो । सेमिफाइनल खेलमा नेपाल कसैसँग होइन त्यही चिरपरिचित प्रतिद्वन्द्वी थाइल्यान्डसँग पराजित भएको थियो । थाइल्यान्डले यो खेल ४६ रनले जितेसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने ढोका बन्द भयो ।

समूहमा राम्रो प्रदर्शन गरेपनि नेपालको लागि थाइल्यान्ड र यूएई टोली भने तगारो बन्दै आएको छ । दुई वर्ष अघि यूएईमा भएको प्रतियोगितामा पनि नेपालले लिगको अन्तिम खेलमा भने घरेलु टोलीलाई हराउन सकेन । नेपाल यो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो । २०१८ मा पनि लिगमा ५ खेल जितेको नेपालले थाइल्यान्डलाई भने पन्छाउन सकेन । नेपाल थाइल्यान्डसँग ५७ रनले पराजित भएको थियो ।

यसपटक पनि नेपालको ब्याटिङ चलेन । पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा मात्र २ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो । जवाफमा नेपालको ब्याटिङ धर्मरायो र ५९ रनमा समेटियो । पहिलो ओभरमा काजोल श्रेष्ठ शून्यमै आउट भइन् भने दोस्रो ओभरमा इन्दु वर्मा २ रन र कप्तान रुबिना क्षेत्री बेलबासे शून्यमा आउट भए । पहिलो दुई ओभरमै तीन महत्वपूर्ण विकेट गुमेपछि नेपालको जित्ने संभावना न्युन भएको थियो ।

यसपछि सीता रानामगर पनि केही बेर टिकेर आउट भइन् । कविता जोशी र अप्सरी बेगमले १२ ओभरसम्म खेले । तर, कविता र अप्सरी समान १० रनमा आउट भएपछि नेपाल झनै दवावमा पुगेको थियो । कविता कुँवरले केही आस देखाएपनि अन्य खेलाडी टिक्न सकेनन् । कविताले सर्वाधिक १७ रन बनाएकी थिइन् । अन्यमा पूजा महतो ४ रन, अस्मिता कर्माचार्य ३ रन र खुशी डंगोल १ रनमा आउट भए ।

यूएई र थाइल्यान्ड ग्लोबल छनोटमा

यूएई र थाइल्यान्ड आगामी वर्ष हुने ग्लोबल टी २० विश्वकप छनोटमा पुगेका छन् । मलेसियामा भएको आईसीसी महिला टी २० विश्वकप एशिया क्षेत्र छनोटको फाइनलमा पुगेसँगै यूएई र थाइल्यान्ड ग्लोबल छनोटमा पुगेका हुन् ।

फाइनलमा यूएईले थाइल्यान्डलाई ६ रनले पराजित गरेको थियो । जितको लागि ७१ रन लक्ष्य थियो जसलाई थाइल्यान्डले प्राप्त गर्न सकेन । थाइल्यान्डको टोली ६४ रनमा अलआउट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्