
बाजुरा।
खप्तड छेडेदह गाउँपालिका वडा नं एक जारिमतोलाकी ३२ वर्षीया उज्जली सुनारले सोमबार बिहान बाटोमै बच्चा जन्माइन् । उज्जलीले बाजुराको बूढीगंगा नगरपालिका वडा नं १० स्थित पानीभुंवा भन्ने ठाउँको वीचबाटोमा बच्चा जन्माएकी हुन् । सुत्केरी बेथाले बेहोस अवस्थामा रहेकी सुनारलाई आधारभूत प्राथमिक स्वास्थ्य केन्द्र बूढीगंगा नगरपालिका १० सिंगाडाकी अनमी सिर्जना सार्कीले सुत्केरी गराएकी हुन् ।
छिमेकी जिल्ला अछामको वयालपाटा अस्पतालमा अप्रेसन गराउन नमानेर घर फर्किने बेला बाटोमै सुत्केरी बेथा लागेर पल्टेकी रहिछन् । अनमी सार्कीले बाटो मै फेला पारिछन् । तुरुन्तै हामीलाई खबर भयो, आवश्यक उपलब्ध सामाग्री सहित स्वास्थ्यकर्मी परिचालन गर्दा सुत्केरी आमा र शिशु दुवैको ज्यान बच्यो बूढीगंगा नगरपालिका वडा नं १० का वडा अध्यक्ष दलबहादुर साउँदले भने ।
“बाटोमा बेहोस अवस्थामा फेला पारेपछि मन थाम्न सकिन । एउटा सामान्य अनमीका लागि अत्यन्तक्रिटिकल केश थियो । बाटोमा तत्काल विकल्प पनि केही थिएन । तरपनि आमालाई बचाउन पाए पनि हुन्थ्यो भन्ने लाग्यो। आफूसँग भएको सिप प्रयोग गरेँ । आमा छोरी दुबैलाई जीवित उद्धार गर्न पाउँदा खुसी छु । ”साहसी अनमी सार्कीले भनिन्। जुनसुकै बिरामीले पनि स्वास्थ्यकर्मीको सल्लाह अनुसार चल्नुपर्छ , बयालपाटामा अप्रेसन गराउन खोज्दा भागेर आइन् धन्य उनको जीवन बाँच्यो उनले भनिन् ।
अप्रेसन गर्नुपर्ने डरले भारतको नयाँ दिल्ली जान्छु भनेर घर फर्किनेक्रममा बाटोमै छोरी जन्माइन् बूढीगंगा स्वास्थ्य चौकीका इन्चार्ज लक्ष्मीराज जैशीले भने । बाटोमा वाईचान्स भेट भएकी उज्जली सार्कीले बच्चा जन्माएको छ घण्टा भैसकेको छ। अहिले रक्तश्राव पनि रोकिएकोछ । आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य छ उहाँको भनाई छ । जोखिममा बच्चा जन्माएकी सुत्केरी आमा र शिशु दुवैलाई सेलापाखा स्वास्थ्य चौकीमा थप उपचार भइरहेको छ । स्वास्थ्यकर्मीकै निगरानीमा राख्न निर्देशन गरेकी छु । सुत्केरी र शिशुमा जटिल अवस्था आए एम्बुलेन्स सहित सबै व्यवस्था नगरपालिकाले गर्छ बूढीगंगा नगरपालिकाकी नगर उपप्रमुख माया खड्काले भनिन् ।
बयालपाटा अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर मन्दिप पाठकका अनुसार गर्भिणी महिला उज्जली सुनारको आइतबार (हिजो)चेकजाँच गर्दा बच्चा पाउने अवधि १४ दिन नाघिसकेको थियो । डाक्टरले अप्रेसन गर्नुपर्ने सल्लाह दिएका हुन् । उज्जलीले छ पटक बच्चा जन्माई सकेकि रहिछन् । अप्रशेनन गर्न उनले मानिनन् । औषधी प्रयोग गर्दा पाठेघर फुट्न सक्ने सम्भावना हुन्छ । औषधी प्रयोग गर्दा आईसियुु चाहिन्छ ,हामीसँग आइसियुको व्यवस्था छैन । अप्रेसन गर्न उहाँले मान्नु भएन । हामी कागत तयार पार्दै थियौँ उनी कतिवेला निस्किन् पत्तै भएन डाक्टर पाठकको भनाई छ । अस्पतालमा अल्ट्रासाउन्ड गर्दा उनलाई सुत्केरी बेथा लागेको थिएन। एक पटक पनि गर्भजाँच नगराउँदा के कसो हो ? हामीलाई पनि थाह भएन डाक्टर पाठकले भने ।
उहाँले अप्रशन गर्न किन मान्नु भएन ? काउन्सिलिङ्ग गर्नु भएन भन्ने जिज्ञासामा “प्राय दुर्गमका महिलामा अप्रेसन गराए छोरी निस्किन्छ र पछिल्लो गर्भ पनि छोरी नै जन्मिन्छ भन्ने अन्धविश्वास छ । सुत्केरी गराएबापत अस्पतालले एक पैंशा लिदैन , नि:शुल्क गछौं तरपनि सुत्केरीको अप्रेसन केशमा कन्भेन्स हुँदैनन् । त्यसैले प्राय दुर्गमका महिला अप्रेसन गराउन मान्दैनन् डाक्टर पाठकले भने ।
उज्जली सुनारले यी छोरी लगायत छ छोरीको जन्म दिइसकेकी छन् । चारवटी जीवित छन् भने दुई छोरी बितिसकेकी छन् । उनको छोरा पाउने आसमा ज्यान जोखिममा राखेर वर्षेनी बच्चा जन्माउन बाध्य छन् वडा अध्यक्ष साउदको भनाई छ।
बाजुराका बाटोमै बच्चा जन्माउने उज्जली सुनार मात्र हैनन् । ग्रामीण भेगका दर्जनौँ महिलाले बाटोमै बच्चा जन्माउनुपर्ने अवस्था छ । गाउँ शुलभ स्वास्थ्य सुविधा छैन। सडक सञ्जाल र दक्ष जनशक्तिको अभाव छ। अझ परम्परागत अन्धविश्वासका कारण छोरा पाउने रहरले कतिपय महिलाको ज्यान जोखिममा परेको छ।