बलिउड अभिनेता सनी देवल आफ्नो नयाँ फिल्म गदर २ का साथ दर्शकमाझ आएका छन्।
फिल्मले बक्स अफिसमा धमाका मचाएपछि फिल्मसँगै सनी पारिवारिक कारणले पनि चर्चामा छन्। फिल्मको प्रमोसनका लागि उनी आफ्नो भाइ बबी देवल तथा सौतेनी बहिनी इशा र अहाना देवलका साथ देखिएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार अभिनेत्री ईशाले हालै सनीको फिल्म गदर २ को आफ्नो घरमा स्पेसल शोको आयोजना गरेकी थिइन्। सोही समयमा ईशाको घरमा गएका सनी तथा ईशाको फोटो तथा भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
उनीहरुका पिता एवम् बलिउडका ख्यातिप्राप्त अभिनेता धर्मेन्द्रले सन् १९८० मा अभिनेत्री हेमा मालिनीका साथ दोस्रो विवाह गरेका थिए। आफ्नो पहिलो पत्नी एवं चार सन्तान सनी, बबी, अजेता तथा विजेता देवलकी आमा प्रकाश कौरसँग सम्बन्ध विच्छेद् नगरिकनै हेमाका साथ दोस्रो विवाह गरेका धर्मेन्द्रको हेमाको साथबाट पनि दुई छोरीहरु ईशा तथा इहानाको जन्म भएको थियो। ईशा र सनी निकै सानो हुँदाको एक फोटोबाहेक दर्शकले कहिल्यै पनि उनीहरुलाई एकसाथ देखेका थिएनन्। तर, हालै उनीहरु चारै जना एक अर्कालाई अंगालो हालेर पोज दिइरहेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि भने दर्शकले खुसी व्यक्त गरेका छन्।











प्रतिक्रिया