संसद भवन भित्र पस्दा विद्यार्थीको पहिलो अनुभव



वीरेन्द्रनगर। 

वीरेन्द्रनगरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत ममता नेपालीले पहिलो पटक संसद भवनमा प्रवेश गरिन् । उनलाई संसद के हो? संसद भवन कस्तो छ? संसद भित्र के के काम हुन्छ भन्ने विषयमा कुनै जानकारी थिएन । ‘आज आएर प्रत्येक्ष रुपमा संसदमा प्रवेश गरेर अवलोकन गरी  भित्र हुने गतिविधिको बारेमा जानकारी लिन पाउँदा निकै खुसी छु’, उनले भनिन्, ‘संसद भित्र हुने कामका बारेमा जानेपछि भविष्यमा म पनि यही  आउन सक्ने हैसियत बनाउँछु भन्ने सोच आयो।’

जन नमुना मा.वि वीरेन्द्रनगरमा कक्षा १२ मै अध्ययनरत विद्यार्थी रुपेश विश्वकर्माले पनि संसद भवन अवलोकन गर्न पाउँदा खुशि व्यक्त गरे । संसद कसरी चल्छ र के के प्रक्रिया हुन्छन् भन्ने बारेमा थाहाँ नभएको कुरा जान्ने अवसर पाएको अनुभव सुनाए । ‘संसद व्यवस्था कस्तो रैछ, कस्का लागी ठाउँ कसरी छुट्टाएको हुँदो रैछ भनेर जान्ने अवसर मिल्यो’, उनले भने, ‘कसको मान्यता कति? माननीयहरुको सुझाब प्रत्यक्ष रुपमा लिन पाउँदा भाग्यमानी महसुस भएको छ ।’

कर्णाली फाउण्डेनको आयोजना र संसद सहयोग परियोजना (युएनडिपी)को सहकार्यमा वीरेन्द्रनगरमा रहेका मा.वि स्तरका विद्यालयबाट उपस्थित विद्यार्थी, स्कुल अफ ल का विद्यार्थी तथा शिक्षकहरु गरी  करिब ३६ जनाको सहभागीतामा संसदीय खुलापनको अभ्यास गर्न प्रदेश सभाको अवलोकन गरिएको हो ।

शिव मा.वि लाटिकोइलीबाट विद्यार्थी लिएर आएकी शिक्षिका अमृता सापकोटाले भौतिक रुपमै उपस्थित बनाएर विद्यार्थीहरुलाई संसदका बारेमा जानकारी दिनु उत्कृष्ट कार्य भएको जानकारी दिएकी छिन् । उनले आफ्नो प्रदेशमा कसरी काम हुन्छन्, के गतिविधि हुन्छन् भनेर जानकारी लिन पाएको भन्दै धन्यवाद व्यक्त गरिन् ।

 यस्तै, शिव मा.वि धुलियाविटका शिक्षक रुद्रप्रसाद पौडेलले सभामा कस्ता विषयमा छलफल र निर्णय हुन्छन् भनेर जानकारी पाएको बताए । ‘पाठ्यक्रममा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिको बारेमा पढ्नुपर्ने कुरा आज प्रत्यक्ष देख्न पाएकाछन् खुशि लाग्यो’, उनले भने, ‘विद्यार्थीको करिकुलको पाठ भएको छ भने महिला माननीयहरू संग कुरा गर्दा छात्रा विद्यार्थीलाई हौसला मिलेको छ ।’

संसदिय खुलापन कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई संसद र संसदले गर्ने कार्यका बारेमा जानकारी दिन उपस्थित विद्यार्थीहरुलाई फाउण्डेशनले संसद भवनको भ्रमण गराएको हो । भ्रमणमा सहभागी विद्यार्थीहरुले संसद भित्र रहेको पुस्तकालय भ्रमण, विभिन्न समितिहरुका सभापति संग अन्तरक्रिया समेत गरेका छन् । सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारी र प्रदेश मामिला समितिका सभापति कल्याणी खड्काले उपस्थित विद्यार्थीहरुलाई आफूहरूले गर्ने कामका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमको सहजीकरण गर्दै कर्णाली प्रदेश सभाका कानुन अधिकृत मदन खड्काले सभामुखको आसनमा बस्ने मान्छे कस्ता होलान भनेर सोच्ने आफू  अहिले यही  बस्ने अवसर पाएको भन्दै भोलीका दिनमा यो हैसियत बनाउन लागी पर्न भन्दै विद्यार्थीहरुको हौसला प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्