डडेल्धुराको भित्री मधेस क्षेत्रमा बाढीको वितण्डा



डडेल्धुरा । सोमबार रातिदेखिको अविलर भारी वर्षाका कारण बाढीपहिरोले डडेल्धुराको भित्री मधेस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

बाढीपहिरोले भित्री मधेसमा पर्ने आलिताल गाउँपालिका र परशुराम नगरपालिकाकाका विभिन्न क्षेत्रमा क्षति गरेको छ । वर्षाले आलितालको गोदाम बजारदेखि गाउँपालिकाको केन्द्र जोड्ने मोटरेबल पुलमा क्षति गरेको छ । अविरल वर्षाले सुनखोलामा आएको बाढीले मोटरेबल पुलमा खोलाले भ्वाङ पारेको आलिताल गाउँपालिकाले जनाएको छ ।

भित्री मधेस क्षेत्रलाई जोड्ने बुडर–जोगबुडा सडक खण्डको सुनखोलामा पहिरोले सडक अवरुद्ध भएको छ । एक मात्र सडक खण्ड अवरुद्ध हुँदा जिल्लाकै आधा जनसंख्या रहेको भित्री मधेस क्षेत्रमा सडक सञ्जाल टुटेको इलाका प्रशासन कार्यालय जोगबुडाले जनाएको छ ।

आलिताल गाउँपालिका–८ स्थित भंगेरी खोलाले सडक भत्काएको छ । आलिताल–४ को जालटुडाँमा पनि खोलाले सडक अवरुद्ध गरेको छ । वर्षाका कारण आलितालको घुम्ती बजारका केही घरहरू जोखिममा परेका छन् । माथिबाट आएको सुनखोलाले बस्तीलाई जोखिममा पारेको स्थानीय अगुवा शर्मानन्द जोशीले जानकारी दिनुभयो ।

भित्री मधेस क्षेत्रका दर्जनौं बस्ती बाढीको उच्च जोखिममा रहेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गंगादत्त बडुले बताउनुभयो । परशुराम नगरपालिकाका सिमलखेत, ठण्ठाजाला, पटरेनी, बसगोइरा, कुडाँ, छेला, तातापानी, बण्ड, भौरकुण्डा, खालिगडा, कराली, साँदनी, ठुलागडा, लामीगडा, जमेरानी, करेनी, सिमलवन्डा, फल्लेखर्क, कौछाडी, बेल्डाडीलगायतका बस्तीहरूमा स्थानीय खोलाहरूमा आएको बाढीले कटान गरिरहेको प्रहरीले जनाएको छ ।

आलिताल गाउँपालिका–७ पर्ने डाइनी गाउँ बाढीपहिरोको उच्च जोखिममा छ । निरन्तर भइरहेको वर्षाले गाउँको छेउबाट बग्ने भालुखोला, कोइराले खोलामा बाढी आउँदा डाइनी गाउँ उच्च जोखिममा रहेको स्थानीय शिक्षक रमेश बोहराले बताउनुभयो । यहाँका ३५ परिवार बाढीको उच्च जोखिमा रहेका छन् । आलिताल–६ असलाडीका मोतीराम कुँवरको गोठ भत्किँदा एक हल गोरु, एक गाई र एक बाच्छो पुरिएर मरेका छन् ।

यसै गरी बाढी र पहिरोका कारण भित्री मधेस क्षेत्रका विभिन्न ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । परशुराम नगरपालिका–१० बेल्डाङीका चन्द्रबहादुर बोहरा र ईश्वरी बोहराको घर बाढीपहिराले जोखिममा पारेको स्थानीय बताउँछन् । परशुराम–९ गाईबाधे बझाङीजाला उदासिपुरमा नाउला खोलाले खेतीयोग्य जमिन कटान गरेको वडाध्यक्ष देवबहादुर बोहराले जानकारी दिनुभयो ।

स्थानीय खहरे खोला र विभिन्न नदीको बाढीमा फसेका थुप्रै स्थानीयको डोरीको सहायताले उद्धार गरिएको प्रहरीले जनाएको छ । पहिरो र बाढीले भित्री मधेस क्षेत्रका ग्रामीण सडकहरू अवरुद्ध हुँदा एक बस्तीबाट अर्को बस्तीको सम्पर्क टुटेको स्थानीय भूपेन्द्र धामीले बताउनुभयो । ‘महाकाली नदी, पुन्तरा, रंगुन, सादनी र शीर्षलगायतका खोलाहरूमा उर्लेर बाढी आएको छ । दर्जनौं खहरे खोलाहरूमा आएको बाढीले खेतबारी कटान गरिरहेको छ । थुप्रै ठाउँमा तटबन्ध भत्काएको छ,’ उँहाले भन्नुभयो– ‘यथाशीघ्र डोजर लगाएर सडक सञ्चालनमा ल्याउन र जनधनको क्षति हुन नदिन स्थानीय तहले विशेष ध्यान दिनुपर्छ ।’

बाढीले परशुराम नगरपालिका–६ सरगौडा सिमलखेतमा बस्ती जोगाउनका लागि सिँचाइ कार्यालय डडेल्धुराले निर्माण गरेको तारजाली तटबन्धमा क्षति गरेको छ । ‘बजेट सक्ने गरी असारको मसान्तमा तटबन्ध निर्माणको काम हुन्छ,’ स्थानीय अगुवा डम्बरसिंह थ्वालले भन्नुभयो– ‘भित्री मधेस क्षेत्र बाढी र पहिरोको विपद्मा छ, निरन्तर वर्षा भइरहने हो भने कतिपय बस्तीहरू बग्ने र डुब्ने खतरा छ ।’

बाढीले सादनी खोलामा लगाइएको तटबन्ध पनि भत्काएको छ । परशुराम–६ कै करालीमा रहेको कसानखोला उर्लेर आउँदा करालीकी देवकी जाग्री खोला तर्न नसकेर मंगलबार रातभर जंगलमै बसेको स्थानीय बताउँछन् । सादनी, चन्दनी, कुणाबाट जोगबुडा र डडेल्धुरा आउने सवारी साधनहरू परशुराम–६ को सरगौडामा थन्किएका छन् । एसईई ग्रेडवृद्धिका लागि परीक्षा दिने विद्यार्थीहरू पुन्तुरा खोलामा पुल नहुँदा जोखिम मोलेर तर्न बाध्य भएको स्थानीय शिक्षक वीरेन्द्रबहादुर साउदले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय जनप्रतिनिधि, रेडक्रसकर्मी र स्थानीय युवाहरूलाई बाढीपहिरोको विपद्मा रहेका सर्वसधारणको उद्धारका लागि खटाइएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । भित्री मधेस क्षेत्रसँगै जिल्लाको पहाडी क्षेत्रमा पनि बाढी पहिरोको सन्त्रास कायमै रहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बाढी र पहिरोको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सबै जिल्लाबासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्