बायर्नद्वारा गोल वर्षा



लन्डन, (एजेन्सी) । जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले प्रि–सिजनको पहिलो खेलमा रोटाच–एगर्नमाथि गोलको वर्षा गरेको छ ।

मंगलवार भएको प्रि–सिजनअन्तर्गत खेलमा जर्मन बुडेसलिगाको साविक विजेता समेत रहेको ब्रायन म्युनिखले एफसी रोट्याच इगेर्न क्लबमाथि एकपक्षीय रुपमा २७–० गोलअन्तरले जित हात पारेको हो । जर्मनीस्थित टेगरन्सी ट्रेनिङ क्यापमा भएको खेलमा थोमस टुचेल नेतृत्वको ब्रायनका लागि १३ खेलाडीले गोल गरेका हुन् । जर्मन महारथीका लागि जमाल मुसियाल, माइकल सबिस्टार र म्याथिस टेलले समान पांच–पांच, सर्जेई जिनाब्रीले तीन तथा अल्फोन्सो डाभिस, कोन्राद लेइमेर, नोउस्सैर माज्राओइ, डायोट उपामेकानो, लेरोय साने, राफायल गुइरेरिओ, रायन ग्राभेनबेर्च, किंग्सले कोम्यान र साडिओ मानेले समान एक–एक गोल गरे ।

बायर्नले पहिलो हाफ नै १८ गोल गरेको थियो । त्यसपछि खेलको दोस्रो हाफमा थप गोल गरेका थिए । मुसियालाले खेलको तेस्रो, १३औं, ३७औं, ४२औं र ४५ औं मिनेटमा गोल गर्दा टेलले २२औं, २६औं, २९औं, ३४औं र ४१औं मिनेटमा गोल गरे । त्यस्तै, सबिस्टारले दोस्रो हाफको ५०औं, ६४औं, ६६औं, ७१औं र ७३औं मिनेटमा गोल थप्दा जिनाब्रीले चौथो, १२औं र ४४ औं मिनेटमा गोल गरेका थिए । यता, डाभिसले आठौं, लाइमेरले २०औं, माज्राओइले २८औं, उपामेकानोले ३१औं, सानेले ३५औं, गुइरेरिओले ७५औं, ग्राभेनबेचले ८४औं, कोम्यानले ८७औं र मानेले ९० औं मिनेटमा गोल गरे ।

रोटाचविरुद्ध बायर्नले यो समेत तेस्रो पटक खेलेको हो । २७ गोल गरेर रोटाचलाई हराएसँगै बायर्नले एक भब्य तथ्यांक बनाएको छ । बायर्नले यो टिमलाई तीन खेलमा कुल ७० गोलको भारी बोकाएको छ । यो टिमविरुद्ध बायर्नले फरक–फरक समयमा तीन पटक खेल्दा कुल ७० गोलको वर्षा गरेको छ भने दुई गोल मात्र बेहोरेको छ । बायर्न र रोटाचले पहिलोपटक सन् २०१८ मा खेलेको थियो । जसमा बायर्न २०–२ ले विजयी भएको थियो । त्यसको एक वर्षपछि दोस्रो पटक रोटाचविरुद्ध खेल्दा बायर्नले २३–० ले खेल आफ्नो पक्षमा पारेको थियो । प्रि–सिजनअन्तर्गत बायर्नले अब दोस्रो खेलमा इंग्लिस महारथी म्यानचेस्टर सिटीसंग साउन १० गते बुधवार प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्