नेपाल आमाका होनाहार पुत्र हुन् आदिकवि भानुभक्त आचार्य । ती पुरुष जसले नेपाली साहित्य फाँटमा पाइला हाली रित्तो रहेको नेपाली साहित्यको भण्डार भरे, सुख्खा मरभूमिझैँ रहेको नेपाली साहित्य हराभरा गरे । उनी नेपाली साहित्यका अगुवा साहित्य साधक हुन् । अर्थात् उनी नेपाली साहित्यका श्रीगणेश हुन्, जुन गणेशले नेपाली साहित्यको गणेश गरे र नेपाली साहित्यमा अपूर्व कीर्ति छरे । उनले वि.सं. १८९८ मा संस्कृतको अध्यात्म रामायणलाई सर्वप्रथम नेपालीमा अनुवाद गरी हिन्दू धर्मपरायण नेपाली भाषाभाषीहरुको ठूलो उद्घार गरे, अज्ञानी–अनपढलाई ज्ञानको ढोका खुलाए र आफ्नो मातृभाषाको जगेर्ना गर्नेजस्तो महत्वपूर्ण कार्य गरे । यसरी भानुभक्तले ‘लोकहित’ जस्तो पुण्यभन्दा पुण्य कर्म गरी धर्म कमाए, जन तथा राष्ट्रको सेवा गरे र आफ्नो गरिमालाई उँचो बनाए ।
कुशाग्र बुद्घिका धनी भानुभक्त सरकारी जागिर खाई दाम कमाउने कार्यमा कहिल्यै आकृष्ट भएनन्, बल्कि नाम कमाउने या राष्ट्रको नाम चम्काउने कार्यमा अहोरात्र जुटे, जसको फलस्वरुप संस्कृतको कठिन धार्मिक ग्रन्थ रामायणलाई अनुवाद गर्न सफल भए ।
यी युगनायकको जन्म वि.सं. १८७१ असार २९ गते तनहुँको रम्घा चुँदीमा भएको थियो । माता धर्मावती र पिता धनञ्जय आचार्यको एकमात्र पुत्ररत्नको रुपमा जन्मेका भानुभक्त सानैदेखि विनम्र स्वभाव भएका एक मेधावी बालक थिए । बाजे श्रीकृष्ण आचार्यको लालनपालन तथा शिक्षादीक्षामा उनी हुर्किएका थिए । उनको बाल्यकाल आफ्नै पितामहसँग बनारसमा बितेको थियो । बाजेसँगको काशी बसाइमा उनले संस्कृतको व्याकरण, साहित्य र ज्योतिष विद्यामा समेत शिक्षा आर्जन गर्ने मौका पाएका थिए । जसको फलस्वरुप उनी ठूलो भएपछि एक उज्ज्वल साहित्यिक ताराको रुपमा उदयमान हुन सफल भए । उनका बाजे प्रकाण्ड विद्वान् थिए र धार्मिक पनि उत्तिकै । उनको बाजेको धार्मिक विद्वताको छाप उनमा सानैदेखि परेको थियो । त्यसैले उनी अध्यात्मवादी कविको रुपमा उदय हुन पुगे, संस्कृतको अध्यात्म रामायणलाई नेपालीमा उल्था गर्न सके । उनले एक दशक लगाएर रामायण लेखन पूरा गरेका थिए या नेपाली काव्यको रुप प्रदान गर्न सफल भए ।
धनी कुलघरानमा, साथै धार्मिक कुशल संस्कारमा हुर्किने अवसर पाएका भानुभक्तले रामायण लेखनबाट आफ्नो कुलधर्मको मात्र होइन राष्ट्रकै गरिमा बढाएर उनी अजर–अमर हुन पुगेका छन् ।
उनी धार्मिक–नैतिक चेतना भएका प्रखर कवि थिए । समाजलाई नैतिक आदर्शतिर उन्मुख गराउनु उनको मुख्य ध्येय थियो । त्यसैले रामायण लेखनलाई उनले पहिलो प्राथमिकता दिए । मुख्यतः रामायण लेखनबाट नै उनी प्रसिद्धी कमाउन पुगे । यो कृति संस्कृतको भावानुवाद भएकोले यसमा अनुवादकको मौलिक कवित्व प्रतिभा झल्किएको पाइन्छ । उनी भक्तिवादी भएर रामकथालाई रामायणमा बडो मार्मिक ढंगले प्रस्तुत गरेका छन् । यसमा उनले आध्यात्मिक ज्ञानलाई मीठो शैलीमा प्रसंग मिलाएर व्यक्त गरेका छन् । हाम्रो समाजमा यस कृतिको धार्मिक–सांस्कृतिक दृष्टिले जति महत्व छ उत्तिकै महत्व जीवनोपयोगी ज्ञानका दृष्टिले । त्यसैले यस कृतिलाई हाम्रो राष्ट्रिय सम्पदाको रुपमा मान्न सकिन्छ । उनको रामायण सरल र सहज छ । जुन साधारण जनमानसले पनि बुझ्न सक्छन् । त्यसैले उनी लोकको ढुकढुकीभित्र बस्न पुगे ।
ठेट नेपाली भाषा, लोक प्रचलित छन्द र लयात्मक भाषाशैलीको प्रयोगको साथै आफ्नो छुट्टै मौलिक प्रस्तुतिले उनको रामायण सुसज्जित छ । उनको रामायण पढ्नेबित्तिकै पाठकवर्गहरु मन्त्रमुग्ध हुन पुग्छन् । यसरी भानुभक्त रामायणबाट लोकप्रियता कमाउन सफल भए । नेपाली जनतामाझ प्रिय भए ।
एक गरिब घाँसीको प्रेरणाबाट भानुभक्त रामायण लेखनमा आबद्घ भएका थिए । घाँसी नै उनको कुशल मार्गदर्शक थिए । रामायणबाहेक उनले कविताको क्षेत्रमा पनि सशक्तरुपमा कलम चलाएका छन् । मीठा–मीठा स्वर भरिएका कविताहरुका चाङ लगाएका छन्, राष्ट्रलाई मुरी–मुरी गुन लगाएका छन् । उनले रामायण, वधुशिक्षा, भक्तमालाजस्ता काव्यिक स्तरका कृतिमात्र तयार गरेनन्, कान्तिपुरी बालाजुको वर्णन, प्रश्नोत्तरी र देह र आत्माजस्ता धार्मिक सन्देशमूलक एवं चर्चित कविताहरु कोरी सबैको मन जित्न सफल भएका छन् । उनको रामायणको किष्किन्धाकाण्डमा उल्लिखित ‘देह र आत्मा’ कवितामा शरीर र आत्माबीचको अन्तरलाई बडो मार्मिक ढंगले प्रस्तुत गरिएको छ । अर्थात् हाम्रो शरीर र आत्मा भनेका के हुन् भनी आत्माको अमर–अजर शक्तिलाई राम्ररी व्याख्या गरिएको छ– ‘जिउँदै म¥याको भनि नाउँ कस्को ? उद्यम विना बित्तछ काल जस्को ।’
त्यस्तै ‘प्रश्नोतरी’मा मानिस भएर जिउन सिकाइएको छ । मानिसलाई कर्म गर्न जोड दिइएको छ र कर्म नगर्ने व्यक्ति मरेतुल्य या जिउँदो लाससरह हुने भनी सन्देश प्रवाह गरिएको छ । यहाँ चेतना जागृत गरेका छन् उनले । कर्मयोगी पुरुष थिए उनी, कर्म नगरी बस्ने व्यक्तिलाई उनी घृणा गर्दथे । कर्मयोगबाट नै व्यक्तिको जीवन सफल हुने कुरा उनले व्यक्त गरेका छन् । उनी धर्मप्रति अति आस्थावान् भएकाले रामायणबाट नै उनले आफ्नो कर्मयोग शुरु गरेका थिए । अजर–अमर हुने कृति राख्ने कर्म गर्न उनले आफ्नो कृतिमार्फत सन्देश दिएका छन् ।
यसरी भानुभक्तले थुपै चर्चित कविता रचे तापनि रामायणबाट नै उनी चर्चाको शिखरमा पुग्न सफल भए । रामायण उनको जीवनको ठूलो उपलब्धि थियो । रामायण उनको ढुकढुकी थियो ।
उनी धार्मिक हुनाले न्यायको पुजारी थिए । अन्यायको घोर विरोध गर्दथे । घर–समाज भएका अन्याय–अत्याचारलाई आफ्नो कृतिमा उतार्दथे र कृतिमार्फत नै जरैदेखि उखेल्न उनी सन्देश दिन्थे । उनले थुप्रै व्यावहारिक एवं व्यङ्ग्यात्मक स्वर भरिएका कविताहरु लेखी समाजलाई सचेत गरेका छन् । समाजलाई बिउँझाएका छन् उनले । सामाजिक, प्रशासनिक एवं राजनीतिक विसंगतिका पाटाहरुलाई केन्द्रविन्दु बनाएर समाजको आँखा उघारेका छन् । उनी भक्तिवादी कवि थिए । ईश्वरको परम भक्त थिए उनी ।
त्यसैले उनका हरेक कृतिहरुमा धार्मिक चेतनाको प्रभाव पाइन्छ । यसरी भानुभक्तले समाजको नैतिक पक्षलाई साहित्यको माध्यमबाट सबल बनाउनेजस्तो महान् कार्य गरे । साथसाथै अज्ञानीलाई ज्ञानको ढोका उघारे । साहित्यिक कृतिमार्फत भक्तिभाव जगाए । अधुरो नेपाली साहित्यिक भण्डार भरे र एक नौलो कृति छरे । यसरी भानुभक्तले साहित्यको अविरल धारा बगाई नेपाली भाषाको जग मजबुत गरेका छन् । त्यसैले भानुभक्त प्राथमिककालीन एक उत्कर्ष सर्जकको रुपमा आफूलाई उभ्याउन या सिद्ध गर्न सफल भएका छन् ।
उनी कवितामै बोल्दथे र अरुसँग पनि कवितामै सोधेको उत्तर दिन्थे, जुन यथार्थलाई यसरी साभार गरिएको छ–
‘पहाडको अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया ।’
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।’
एकदिन एक व्यक्तिले उनको परिचय माग्दा उनले प्रतिउत्तरमा भनेका कुरा हुन् यी । बोल्दा पनि उनी कवितात्मक शैलीमा बोल्दथे । यसबाट पनि थाहा हुन्छ कि आदिकवि भानुभक्त बहुमुखी प्रतिभाको धनी थिए । उनले सशक्तरुपमा कलम चलाएर नेपाली साहित्यको भरणभोषण गरेका छन्, भाषिक एकताका सूत्राधार गरेका छन् । नेपाली साहित्यका आदिपुरुष भानुभक्तले साहित्यको साधना गर्दागर्दै वि.सं. १९२५ मा ५४ वर्षको उमेमा यस धर्तीबाट सदाको निम्ति बिदा लिन पुगे र नेपाली माटोमा साहित्यरुपी कृतिहरु नासोको रुपमा छोडेर गए । उनले नेपाली भाषा–साहित्यको समृद्धिमा जुन योगदान गरेका छन्, त्यो नेपालको इतिहासमा अद्वितीय छ, प्रशंसनीय छ, स्तुतियोग्य छ । यस्ता युगान्तकारी पुरुषलाई इतिहासले सदा पुज्नेछ, सम्मानको माला उनिरहनेछ र प्रत्येक वर्ष असार २९ भनी भानु जयन्ती मनाइरहनेछ ।











प्रतिक्रिया