समानुपातिक निर्वाचन प्रणालीलाई व्यवस्थापन गर्न दलहरुबीचमा सहमति आवश्यक : देउवा



भक्तपुर ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न दलहरुबीचमा सहमति आवश्यक भएको बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले प्रत्यक्ष्य निर्वाचित प्रणालीलाई प्रतिनिधिसभामा र समानुपातिकलाई राष्ट्रियसभामा व्यवस्था गर्न दलहरुको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।

“समानुपातिक निर्वाचन प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन गर्नुपर्छ, संविधान संशोधन गर्न संसदमा दुई तिहाइ चाहिन्छ, उहाँले भन्नुभयो , त्यसमा सबै पार्टीमा सहमति भए गर्न नसकिने होइन, कांग्रेसले मात्रै केही गर्न सक्दैन ।

कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भन्दै उहाँले पार्टी बलियो बनाउन जिल्लादेखि टोलसम्म अभियान लिएर जान नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । संगठनलाई बलियो बनाउने अभियान भक्तपुरबाट सुरु भएको भन्दै यसलाई सफलता प्राप्त गर्दै देशभर फैलाउन पनि उहाँले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

गठबन्धनको सरकारमा ठूलो पार्टी नेपाली कांग्रेस भए पनि सबैलाई चित्त बुझाएर जानुपर्ने अवस्था रहेको बताउनुभयो । हालै सम्पन्न निर्वाचनमा गठबन्धन गरेर जाँदा कांग्रेस ठुलो पार्टी बनेको उहाँले उल्लेख गर्नुभयो ।

कांग्रेस नेता डा शेखर कोइरालाले कांग्रेस सत्ता पक्ष भएकाले बजेटमा रहेका कमजोरीलाई संसदमा उठाउन नसकेको उल्लेख गर्नुभयो ।नेता कोइरालाले बजेटमा गलत गरेका छौं भनेर मनन गर्ने बेला आएको बताउनुभयो ।

बजार भाउ अचाक्ली बढेको भन्दै जनतालाई मार पर्ने कार्य गर्नु नहुने बताउनुभयो ।मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दलले बहुमत आउन नसक्ने अवस्था आएकाले संविधान संशोधन गरेर जानुपर्ने र समानुपातिक प्रणालीको व्यवस्थालाई परिमार्जन गर्न नसके देश संकटमा पर्ने उहाँको भनाइ थियो । नेता कोइरालाले पूर्वराजाले बोल्ने बित्तिकै गणतन्त्र गयो, समाप्त हुन थाल्यो भनेर बुझ्नु गलत भएकोे बताउनुभयो ।

पार्टीभित्र युवा पुस्ताको उपस्थिति बलियो रहेकाले कांग्रेस कमजोर भयो भन्ने कुरा हल्ला मात्र भएको बताउनुभयो । उहाँले पार्टी जनतासँग भने टाढिएको बताउनुुभयो । जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता रहेको उल्लेख गर्दै पार्टीलाई जनतासँग सही ढंगले जोड्न नसके कांग्रेसको औचित्य गुम्दै जाने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा कांग्रेस एक्लैले उम्मेदवारी दिएर आफ्नो अस्तित्व बलियो बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री बद्री पाण्डेले नयाँ दलले राजनीतिको नाममा चटक देखाइरहेको बताउनुभयो । कांग्रेस जिल्ला सभापति एवम् कार्यक्रमका सभापति दुर्लभ थापाले पार्टीलाई बलियो बनाएर लैजान गुट उपगुटको अन्त्य हुनुपर्ने बताउनुभयो

केन्द्रीय सदस्यहरु रमा कोइराला, डा.चन्द्रमोहन यादव, मदनकृष्ण श्रेष्ठ र गंगालक्ष्मी अवाल, बागमती प्रदेशका सभापति इन्द्र बानियाँ, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, क्षेत्रीय सभापति एवम् चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पार्टीका प्रदेश सदस्य जयन्द्र खड्का, पार्टीका सुर्यविनायक नगर सभापति निशान ढुंगेल, कार्यक्रम संयोजक कृष्णमुरारी न्यौपाने, पार्टी सचिव यादव अधिकारीलगायतले पार्टीलाई एक ढिक्का बनाएर लैजान आन्तरिक रुपमै नेतृत्व तहदेखि जिल्ला तहसम्मका नेता सक्रिय भएर लाग्नुपर्ने तर सार्वजनिक रुपमा बहसको विषय बनाउन नहुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्