हुम्लाको स्वास्थ्य शिविरमा २ हजार भन्दा बढीले पाए निःशुल्क शल्यक्रियासहितको उपचार



हुम्ला। 

हुम्लाको सदरमुकाम सिमकोटमा ३ दिने वृहत् एकीकृत स्वास्थ्य शिविरमा २ हजार भन्दा बढी बिरामीले आवश्यकता अनुसार शल्यक्रिया सहितको स्वास्थ्य सेवा पाएका छन् ।

डा. सर्कमसिजम, हाइड्रेसिल, छातिको पानी निकालेको, कानको लोतीमा पलाएको ऐजेरु र टाउँकोमा पलाएको ऐजेरुको समेत शल्यक्रिया गरिएको शल्यक्रियामा संलग्न मुटुरोग विशेषज्ञ डा.सम्पूर्णमान तुलाधरले बताउनुभयो ।

बिहीबारबाट सुरु भएको निःशुल्क स्वास्थ्य शिविरमा मुटुरोग, प्रसूति तथा स्त्री रोग, जनरल फिजिसियन, हाडजोर्नी,  नशा, नाक, कान तथा घाँटी, बाल रोग,अकुपञ्जर, फार्मेसी  लगायतका उपचार सेवा दिईएको थियो । अंकोलोजिष्ट डा.प्रविन जैसवालले एकै दिन किराले खाएर समस्या भएको ५० जनाको दाँतको शल्यक्रिया गरि निकाल्नुभएको थियो ।

शिविरका लागि विभिन्न क्षेत्रका ६ जना विशेषज्ञ चिकित्सकहरू काठमाडौँबाट आउँनु भएकोछ भने अन्य चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, बाल शल्य चिकित्सक डा.शिरीष सिलवाल, स्वयमसेवीहरु हुम्ला जिल्ला अस्पतालको टिम सहभागी भएका थिए ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंह लगायत जिल्ला अस्पतालका चिकित्सकहरु समेत स्वास्थ्य शिविर सफल बनाउन सक्रिय रुपमा लागि परेका थिए ।

प्रारम्भ सामाजिक संस्था र  सिंगापुर रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयले शिविर आयोजना गरेका हुन् ।

तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा ५ हजार भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिएको प्रारम्भ नेपालका अध्यक्ष तथा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले जानकारी गराउनुभयो ।

स्वास्थ्य शिविरमा अधिकांश ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरु रहेको उहाँले जानकारी गराउनुभयो । स्वास्थ्य शिविरमा स्थानीय निकायको सहकार्य जुटाउँदै खटेका सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि तथा प्रारम्भ नेपालका अध्यक्ष कल्पना क्षेत्री र नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष तथा प्रारम्भ नेपालका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले दिनुभएको जानकारी अनुसार हाडजोर्नी, गाईनो, कानको समस्या भएका धेरै बिरामी पाइएको जानकारी गराउनुभयो ।

हुम्लामा पहिलो पटक प्राकृतिक तथा अंकुपंचर विधिबाट गरिएको उपचार स्थानीय बिरामीहरुले निकै रुचिका साथ लिएका छन् । अन्नपूर्ण नेचरकेयर अस्पताल ललितपुरले प्राकृतिक उपचार सेवा दिन ३ दिन देखि खट्नुभएका डा.स्कन्द डागीका अनुसार स्वास्थ्य शिविरमा १५ वर्ष देखि ९० वर्ष सम्मका बिरामीले ३ दिन सम्म सेवा लिएको बताउनुभयो ।

निजामती अस्पतालका हाडजोर्नी विभागका डा.बन्धुराम पंगीनीले हाडजोर्नी सम्बन्धी समस्या भएको बिरामीलाई तीन दिन देखि सेवा दिँदा अधिकांश बिरामी ढाड र घुँडाको हड्डी र मांसपेसीको समस्याका भएको पाइएको बताउनुभयो । उहाँले अधिकांश बिरामीले झुलो पोलेर सुन्निएको र दुखेको ठाउँमा पोलेको घाउ खत पाएको बताउनुभयो । यति सम्मकी हाईड्रेसिलका बिरामीले समेत त्यसरीलै झुलो पोलेर उपचार गरेको पाइएको उहाँले बताउनुभयो ।

त्यसैगरी स्त्रीरोगका विषयमा उपचार सेवा दिई रहनुभएकी स्त्रीरोग विशेषज्ञ डा.रश्मि बस्ताकोटीका अनुसार हुम्लाका धेरै महिलाहरुमा सानै उमेरमा विवाह गर्ने, धेरै सन्तान जन्माउने, सरसफाइमा ध्यान नदिने, पाठेघरको सङ्क्रमण हुने समस्या भएको पाइयो । कतिपय बिरामीको भित्री अंगहरुमा घाउ खटिरा जटिल अवस्थामा पुगेको र पाठेघरको मुखको सङ्क्रमण बढ्दो मात्रामा पाइएकाले स्वास्थ्य शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । तीन दिन सम्म लगातार बिरामीको परीक्षण गर्दा पनि सिमकोटमा बिरामीको चाप नघटेको देखेर आयोजक संस्थाले स्थानीय निकाय, प्रदेश सरकार र सघीय सरकारले यस्ता दुर्गम जिल्लाका बासिन्दाको जनस्वास्थ्यप्रति विशेष प्राथमिकताका साथ ध्यान दिएर कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

स्वास्थ्य शिविरको समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, सिमकोट गाउँपालिकाका प्रमुख विजय भण्डारी, उपप्रमुख सुशीला रोकाया, खार्पुनाथ गाउँपालिकाका प्रमुख कर्ण बहादुर रावल, नाम्खा गाउँपालिका प्रमुख कर्ण बहादुर रावल, नाम्खा गाउँपालिका प्रमुख प्रेम लामा, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौड्याल, जिल्ला प्रहरी प्रमुख भीमलाल भट्टराई, स्वास्थ्य सेवा कार्यालय निमित्त प्रमुख प्रेम बहादुर सिंह लगायतले शिविरको महत्त्व र नागरिकको रक्षाका लागि सबैको साथ र सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै प्रारम्भ नेपाल र सिंगापुर रेडक्रसलाई सम्मान पत्रद्वारा सम्मान गरेको थियो ।

शिविरको संयोजन देवेन्द्र शाहीले गर्नुभएको थियो । कार्यक्रममा हुम्ला पत्रकार महासंघका अध्यक्ष राजन रावत लगायत स्थानीय जिल्ला अस्पतालको टोलीको सक्रिय सहभागिता रहेको थियो ।

हुम्लाको सिमीकोट गाउँपालिका, खारकुनास सिमीकोट गाउँपालिकामा स्वास्थ्य शिविरले नेपालको विकट कर्णाली प्रदेश हुम्लाका नागरिकले सेवा पाएकोमा खुसी व्यक्त गरियो ।

प्रतिक्रिया दिनुहोस्