मुअब्जा दिन अदालतको आदेश



वीरगन्ज।

वीरगन्ज महानगरपालिकास्थित भेडाहा खोलामा बाँध निर्माण गर्ने क्रममा निजी जग्गामा पनि बाँध निर्माण गर्दा जग्गाधनीलाई सोको मुआब्जा दिन सर्वोच्च अदालतले आदेश दिएको छ। महानगरमा रहेको भेडाहा खोलामा बाँध निर्माण गर्ने ठेक्का पाएको ठेकेदारले बाँध निर्माण गर्दा स्थानीयको निजी जग्गासमेत बाँधमै पर्ने भएकाले निजी जग्गामा बाँध निर्माण गर्दा जग्गाधनीलाई मुआब्जा दिन सर्वोच्च अदालतले आदेश दिएको हो।

भेडाहा खोलामा भइरहेको बाँध निर्माणलाई लिएर रामाकान्त साहले दायर गराएको उत्प्रेरण मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। ‘यसमा निजी हकभोग दर्ताको जग्गासमेत पर्ने गरी तटबन्ध निर्माण गरिने भएको अवस्थामा निजी सम्पत्तिलाई सार्वजनिक उपभोगमा ल्याउँदा जग्गाधनीलाई मुआब्जा वा क्षतिपूर्ति दिनुपर्ने हुन्छ’, सर्वोच्चको आदेशमा भनिएको छ। साथै, अदालतले निजी सम्पत्तिमा नगरपालिकालाई हस्तक्षेपसमेत नगर्न भनेको छ। भेडाहा खोलामा बाँध निर्माण र क्षतिपूर्ति प्रदान गर्ने सम्बन्धी काम कारबाही समानान्तर रूपमै हुन सक्ने सर्वोच्चले दिएको आदेशमा बताइएको छ। मुद्दाको सुनुवाइ गर्र्दै अहिले बाँध निर्माणको विषयमा अन्तरिम आदेश जारी गर्नु नपर्नेसमेत सर्वाेच्चले जनाएको छ।

वीरगञ्ज महानगरपालिकाको ग्रामीण भेगमा पर्ने भेडाहा खोलामा बाँध निर्माण गर्न महानगरले ०७९ साल भदौ २ गते २४ करोड ६३ लाख ५ हजार ५४७ रुपैयाँ ९४ पैसामा ठेक्का लगाएकोे थियो। बाँध निर्माणको ठेक्का रमन विकास जेभी वीरगञ्जले लिएको छ।असार २० गतेसम्म खोलामा बाँध निर्माण गरिसक्नुपर्ने म्याद छ। भेडाहा खोलामा बाँध निर्माण गर्दा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २२, २८, ३० र वडा नम्बर ३१ का स्थानीयवासीको सयौं बिघा जग्गामा बाँध निर्माण गरिने भएपछि स्थानीयवासीले विरोध गरेका थिए।

उनीहरूले विरोधस्वरुप महानगरपालिकामा ज्ञापनसहित ध्यानाकर्षणसमेत गराएका थिए। तैपनि ठेकेदार कम्पनीले अटेर गरी बाँध निर्माणको काम गर्दै आएको थियो। बाँध निर्माण गर्दा स्थानीयको जग्गा बाँधमै पर्ने भएपछि कुनै पनि हालतमा आफ्नो निजी जग्गामा बाँध निर्माण गर्न नदिने बताउँदै आएका छन्।

उनीहरू संघर्ष समिति नै बनाएर बाँध निर्माणको विरोधमा उत्रिएका छन्। भेडाहा खोलामा बर्सेनि आउने बाढीले गर्दा महानगरका ग्रामीण भेगका हजाराँै बिघामा लगाएको बाली नष्ट हुने गरेको छ।

महानगरले खोलामा बाढी आउने भए पनि खोलाबाट गिट्टी बालुवाको ठेक्का लगाउन रोकेको छैन। अहिले पनि खोलाको ठेक्का पाएको ठेकेदारले धमाधम गिट्टी–बालुवा निकाल्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्