‘गठबन्धन सरकार जनता र राष्ट्र हितविरुद्ध छ’ : उपाध्यक्ष पौडेल



काभ्रे। 

नेकपा एमाले काभ्रेपलाञ्चोकले दशौँ जिल्ला अधिवेशन पछिको पहिलो प्रतिनिधि परिषद् बैठक धुलिखेलमा सम्पन्न गरेको छ । पार्टी उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले बैठकको उद्घाटन गर्नु भयो ।

जिल्ला अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा सुरु भएको बैठकमा १ सय ३५ वटा वडा, १३ वटा पालिका कमिटी, जनवर्गिय संगठन तथा जिल्ला कमिटी र आमन्त्रित सहित १ हजार ४ सय ५६ प्रतिनिधिहरु सहभागी थिए । जिल्लामै पहिलो र ऐतिहासिक रुपमा अधिवेशन आयोजना गरेको एमालेले त्यस पछि भएका समग्र कामको समिक्ष र आगामी योजनाका सन्दर्भमा छलफल गर्न परिषद् बैठक आयोजना गरेको अध्यक्ष अशोक ब्याञ्जुले बताउनु भयो ।

एमाले उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गठबन्धन सरकार राष्ट्र र जनताको हित र उन्नति तथा प्रगति विरुद्ध भएको बताउनु भएको छ । ‘निर्वाचन कार्यालय खारेज गरेर संविधान विरुद्ध लोकतन्त्रको खिल्ली उडाएको छ’–पौडेलले भन्नुभयो–‘भारत भ्रमणमा दृश्य अदृश्य सहमति गरेर फर्किनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका जिल्ला राखेर प्रकाशन गरिएको नक्साका बारेमा चुँ समेत गर्न सक्नु भएन । अझै नेपालको जमिन सट्टापट्टा गर्न सकिने घोषणा गर्नु भयो ।’ गठबन्धन सरकारले विकास, सुशासन र प्रगति उन्मुख नागरिकहरुलाई गराउन नसक्ने बताउँदै एमाले नेतृत्वको सरकारले जस्तो दूरदर्शी काम गर्न नसक्ने पूर्व उपप्रधानमन्त्री पौडेलले बताउनु भयो । एमाले नेतृत्वको केपी ओली सरकारले साढे ३ वर्षको अवधिमा सरकार चलाउँदा विकासको नयाँ मानक स्थापना गरेको बताउँदै मन्त्री पौडेलले त्यतिबेला गरिएको आर्थिक बृद्धीदर गठबन्धन सरकारले भेट्टाउन नसक्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, नेकपा एमालेका पोलिटब्युरो सदस्यद्धय गोकुल बास्कोटा र कृष्ण राई, केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका पदाधिकारीहरु तथा अन्य प्रतिनिधिहरुले एमालेले विगतका कामको समीक्षा गर्दै आगामी योजनाका बारेमा शशक्त गतिविधिहरु संचालन गर्नु पर्ने बताएका थिए । परिषद्मा एमाले काभ्रेले अधिवेशन पछि गरेका गतिविधिहरु, पार्टीको सगठनिक, राजनीतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । अध्यक्ष अशोक ब्याञ्जु, सचिव राजन भुर्तेल तथा विभागीय प्रमुखहरुले कमिटीले गरेका गतिविधिहरुलाई प्रतिनिधि परिषद्मा प्रस्तुत गरे पछि सहभागीहरूले दिएको सुझावज सहित प्रतिवेदन पास भएको थियो । पार्टीेको विधान अनुसार अधिवेशन गरेको एक वर्ष पछि प्रतिनिधि परिषद् बैठक गर्ने व्यवस्था अनुसार परिषद् बैठक आयोजना गरिएको उप सचिव रिता ढकालले बताउनु भयो । यो अवधिमा एमालेले गरेका गतिविधिहरु, स्थानीय तथा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तथा जनवर्गिय संगठन र स्वतन्त्र विद्यार्थी युनियनमा पार्टीले खेलेको भूमिका लगायतका विषयमा समीक्षा गरिएको थियो।

प्रतिवेदनमा पार्टीका पृष्ठभूमि, राष्ट्रिय राजनीतिक अवस्था, जिल्लाको राजनीतिक शक्ति सन्तुलनको अवस्था, राजनीतिक सांगठनिक कामको प्रगति, पार्टी संगठनको काम, जन संगठनको काम, वैचारिक काम, विभागीय काम, प्रचारको काम, संसदीय क्षेत्रको काम, निर्वाचनको काम र समीक्षा, संगठन सुदृढीकरण तथा शुद्धीकरण अभियान र मिसन ग्रासरुट अभियान र आगामी कार्ययोजनाका विषयमा समेटिएको सचिव राजन भुर्तेलले जानकारी दिनुभयो । उपाध्यक्ष चन्द्र लामाले पार्टीका काम अझै मजबुत र सुदृढ बनाउन एमालेले संगठन निर्माणको कार्यलाई तीव्रता दिने बताउनुभयो भने उप सचिव राजकुमार सापकोटाले पार्टी केन्द्रको निर्णय र विधान अनुसार एमालेले जिल्लाको समृद्धिको यात्रालाई अघि बढाइरहेको बताउनु भयो । एमालेले काभ्रेमा एक्लै निर्वाचनमा भाग लिँदा पनि पहिलो पार्टीका रुपमा स्थापित भएको छ । स्थानीय तहमा यस अघि प्रमुखमा ७ वटा पालिकामा विजयी हासिल गरेको भए पनि गठबन्धनका कारण यो पटक धुलिखेलमा बाहेक अन्य प्रमुख जित्न सकेन ।

शहिद परिवार र जेष्ठ सदस्य सम्मानित

नेकपा एमाले काभ्रेले परिषद्को अवसर पारी पार्टीका शहिद परिवारका सदस्य र जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, जेष्ठ सदस्यहरु बेथान्चोकका गंगाप्रसाद सापकोटा, मण्डन देउपुरका घननाथ तिवारी, बनेपाका सानुभाई विष्ट, पाँचखालका बलराम खड्का, पनौतीका सत्यनारायण कर्माचार्य, भुम्लुका मिनबहादुर खत्री, तेमालका केशव कोईराला, खानीखोलाका दलसुर मोक्तान, धुलिखेलका रामबहादुर थापा, रोशीका जयमान लामा, नमोबुद्धका एककुमारी भुर्तेल, महाभारतका सुरथ सिं लामा र चौरीदेउरालीका सानु जितबहादुर गौतमलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ भने शहिद परिवार सदस्य बलराम सापकोटा पत्नी सरिता सापकोटा, कृष्णप्रसाद सापकोटाकी पत्नी मिना सापकोटा, सिंहवीर तामाङका छोरा विरेन्द्रविर थिङ्ग र श्रीहरी कुँवरका परिवारका सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्