१६ औँ राष्ट्रिय लेडी एकेडेमी काभ्रेमा सुरु



काभ्रे। 

नेपाल जेसीजको १६ औँ राष्ट्रिय लेडी एकेडेमी काभ्रे लेडी जेसीजको आतिथ्यतामा हिमालय दृश्य बनेपामा सुरु भएको छ । एकेडेमीको उद्घाटन नेपाली काँग्रेसका प्रदेश महामन्त्री तथा बागमती प्रदेश सांसद कञ्चनचन्द्र बादेले गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै सभासद् बादेले युवाहरुको सशक्तीकरण, क्षमता वृद्धि र सशक्तीकरणमा जेसीजले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । ‘युवाहरु कुनै न कुनै रुपले बिदेसिने क्रम बढेको छ’– सांसद बादेले भन्नुभयो– ‘जेसीज जस्ता संस्थाको माध्यमबाट युवाहरुको सशक्तीकरण गरी स्वदेशमै खेलकुद तथा अन्य माध्यमबाट रोक्न सक्ने वातावरण बनाउनु आवश्यक छ ।’

काभ्रे लेडी जेसीज वर्ष २०२३ की अध्यक्ष जेसी बुद्धलक्ष्मी मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धर लगायतको सहभागिता रहेको थियो । जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरले केन्द्रले तय गरेका २७ वटा राष्ट्रिय कार्यक्रम अन्तर्गत धुलिखेलमा काभ्रे लेडीको आतिथ्यतामा भएको कार्यक्रम १२ औँ भएको बताउनुभयो । यस अघि यो कार्यक्रमम विभिन्न शाखाले आयोजना गर्दै आएका थिए । काभ्रेमा आयोजना भएको यो पहिलो पटक भएको काभ्रे लेडी जेसीजकी लेडी एकेडेमी डाइरेक्टर रोजी मुनाकर्मीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष मानन्धरले राष्ट्रिय समितिले शाखालाई जिम्मेवारी दिने, तल्लो तहमा प्रभाव पार्ने गरी शाखा र शाखामा आवद्ध सदस्यहरुको क्षमता विकास गर्नै तथा अभिवृद्धि गर्ने अभियानमा जेसीज क्रियाशील रहेको बताउनुभयो । यो एकेडेमीले आन्तरिक पर्यटन वृद्धि गरी जिल्ला समेत चिनाउने काभ्रे लेडी अध्यक्ष बुद्धलक्ष्मी मानन्धरले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण वैद्य, जेसीजका केन्द्रीय पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका बारेमा जानकारी दिँदै लेडी जेसीजका संयोजक एवं वर्ष २०२२ का अध्यक्ष सुमित्रा बादेले समृद्ध समाजका लागि महिला भन्ने अभियानलाई देशभरका शाखाबाट सहभागी भएका लेडीहरुलाई पु¥याउन दुई दिनेको एकेडेमी महत्त्वपूर्ण हुने बताउनुभयो । १ सय ७८ शाखाबाट प्रतिनिधित्व हुने गरी १ सय ५० भन्दा धेरै सहभागी हुने उक्त कार्यक्रममा मधेश प्रदेश विश्व विद्यालयका उपकुलपति तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर दीपक शाक्य, मेचीनगर लेडि जेसीजका संस्थापक अध्यक्ष कविता शर्मा, साईक्याट्रिस्ट सनम पौडेल, मानवअधिकारकर्मी राजु सरकार, महिला अधिकार तथा कानुनी अधिवक्ता कृष्णप्यारी नकर्मी, पाटन लेडी जेसीजका पूर्व अध्यक्ष एवं करिअर काउन्सिलर सुस्मा श्रेष्ठ, काभ्रे लेडी जेसीजका पूर्व अध्यक्ष एवं साहित्यकार सृजना दुवाल, पूर्व मिस नेपाल इभाना मानन्धर लगायतले विभिन्न विषयमा प्रशिक्षण दिनु हुनेछ ।

दुई दिन चल्ने प्रशिक्षण कार्यक्रममा तालिमका अलावा जुम्बा, फेलोसिप, साइड सिन लगायतका कार्यक्रम पनि समावेश गरिएको लेडी जेसीज काभ्रेकी महासचिव सविता बज्राचार्यले बताउनु भएको छ। कार्यक्रम रुविना मकै श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्