सरकार छ भन्ने आभास देऊ



प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भनाइ र गराइमा भिन्नता पाइन्छ । उहाँका हरेक दिनका भाषणहरु सुन्ने हो भने मुलुक उन्नत हुन कुनै समय नै लाग्ने छैन तर उहाँको काम गराइलाई हेर्ने हो भने देश उन्नतिको बाटोतर्फ लम्केला भन्न सकिँदैन । देशको कार्यकारी प्रमुखको दैनिकी देश निर्माणका लागि हरेक दिन विज्ञसँगको छलफलमा व्यस्त हुनुपर्ने थियो तर उहाँ कार्यकर्ता र उद्योगी तथा व्यापारी रिझाउन सामान्य कार्यक्रमको उद्घाटन गर्दै आफ्नो समय खेर फाल्ने काम गर्दै आउनुभएको छ ।

पछिल्लो समय उहाँले स्कुलको स्वर्ण जयन्तीको उद्घाटनदेखि निजी क्षेत्रले बनाएको केबलकार उद्घाटन गर्दै आफ्नो समय व्यतीत गर्दै आउनुभएको छ । चौतर्फीरुपमा उहाँको पार्टी घेराबन्दीमा पर्दै गएको छ । मुलुकका विकास निर्माण ओझेलमा पर्न थालेका छन् तर उहाँलाई यस्ता चिन्ताले छुन सकेको देखिँदैन । पछिल्लो समय लोकतन्त्रमाथि धावा बोल्ने शक्तिहरु जुर्मुराउन थालेका छन् । अहिलेको व्यवस्थाले नेपाली जनताको हित र उन्नति गर्न नसक्ने भन्दै उनीहरु व्यवस्थाको विरुद्ध लाग्दा पनि प्रधानमन्त्री प्रचण्डलाई भने रिबन काट्ने मोहले छोड्न सकेको देखिँदैन ।

प्रधानमन्त्री प्रचण्डका हरेक भाषण क्रान्तिकारी हुन्छन् । उहाँको भाषण सुन्ने हो भने देश कायापलट हुन समय लाग्ने देखिँदैन तर काम गराइमा भने उहाँ पाइला–पाइलामा चुक्दै आउनुभएको छ । जता हेरे पनि निरासाबाहेक केही देखिँदैन । आज रोजगारीको अभावमा विदेशिनेको संख्या हेर्दा डरलाग्दो अवस्था देखिन्छ तर सरकार रोजगारी सृजना गर्नेतर्फ उन्मुख भएको देखिँदैन । मुलुकमा भएका सबै सरकारी कलकारखाना बन्दको अवस्थामा छन् भने नयाँ उद्योग खोल्ने वातावरण पनि बिस्तारै हराउँदो अवस्थामा छ ।

विदेशी लगानीलाई आकर्षित गर्ने योजना ल्याउने कुरा सरकारले हरेक वर्ष बताउने गरेको छ तर त्यो योजनाले कहिल्यै साकार भएको पाइँदैन । चरम बेथितिले सीमा नाघ्न थालेको छ । सरकारी कार्यालयमा बिचौलियाविना काम नहुने अवस्था बढ्दो छ तर सरकार भन्छ– जनतालाई हामीले सहज सेवा दिएका छौं । यस्ता खाले भनाइले जनता आक्रान्त बन्दै गएका छन् । आजको अवस्थालाई विश्लेषण गर्ने हो भने, सरकार छ भन्ने भानसमेत हुँदैन । जनपक्षीय काममा सरकार चुक्दै गएको छ ।

संसारभर देखिएको आर्थिक मन्दीले नेपाललाई समेत छोएको अहिलेको अवस्थामा जनताका जनजीविकाका सवालमा सरकार एकलब्य हुनुपर्ने थियो तर सरकार बरालिँदै गएको आभास हुन थालेको छ । एकले अर्कालाई दोषारोपण गर्नुभन्दा पनि मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउन सरकारले आफ्नो नीतिमा आमूल परिवर्तन ल्याउनुपर्ने थियो तर त्यो हुन सकेको देखिँदैन । जे होस्, सरकारले हिजो के ग¥यो भन्दा पनि भोलि के गर्छ भन्नेमा आमजनताले चासो देखाएका छन् । त्यसैले सरकारले सत्ता टिकाउने खेलमा भन्दा पनि जनताको चाहना परिपूर्ति गर्नेतर्फ आफ्नो गन्तव्य बनाउनुको विकल्प देखिँदैन । त्यसतर्फ सरकारको ध्यान जान जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्