फेवातालको अतिक्रमण हटाउने सरकारको आँट छैन : कृष्ण पाठक



कास्की। 

गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठकले फेवातालको भविष्य खतरामा रहेको बताएका छन् । फेवातालको सिमसार क्षेत्र अतिक्रमण बढ्दै गएपछि अतिक्रमणकारीहरुले घर टहरा बनाउँदै फेवाताल मास्ने काम भएको र सरकार मौन बसेको पाठकले बताए । बिहीबार भएको गण्डकी प्रदेशसभामा बोल्दै उनले पर्यटन प्रबद्र्धनका लागि पहिला फेवाताल बचाउन आवश्यक रहेको धारणा राखे । उनले प्रदेशको मात्र नभई संसारकै केन्द्र विन्दुको रुपमा रहेको फेवातालको स्थिति शुद्ध नरहेको र यसका लागि गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा कुनै ठोस कार्यक्रम ल्याउन नसेकोमा आफुहरुले सरकारलाई साथ दिन नसक्ने बताए । नीति तथा कार्यक्रमा पर्यटन प्रबद्र्धनका ठूला ठुला कुरा गरेपनि वास्तविकता भने फरक रहेको उनको भनाई थियो ।

‘पर्यटन प्रबद्र्धनको क्षेत्रमा यो सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मार्फत धेरै ठूला कुरा अघि सारेको छ । प्रदेशको पर्यटन प्रबद्र्धनका निमित्त प्रदेशको पर्यटन क्षेत्रको पहिचान विस्तार गरिने उल्लेख गरेको छ’ उनलेभने, ‘सभामुख महोदय म धेरै टाढाको ठाउँमा जान चाहन्न । यही प्रदेशको आगनमा रहेको संसारले चिनेको फेवातालको कुरा गर्छु । त्यो फेवातालको क्षेत्रफल कति हो ? कति जग्गा अतिक्रमणमा परेको छ ? अतिक्रमण गरेर कति घरटहराहरु बनाइएका छन् । सरकारले त्यसलाई यकिन गर्न सकोस र बनाइएका घर टहराहरु भत्काइयोस ।’

साथै क्षेत्रफल अनुसारको फेवाताल कायम गर्न सकेमा मात्रैपनि पोखरेलीलेमात्र नभई प्रदेशभरका जनताहरुले सरकारको पक्षमा दीपावली गर्ने उनले सुनाए । उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन चुनौती दिए । ‘के सरकारसँग यो काम गर्ने हिम्मत छ, आँट छ ? मलाई लाग्छ सरकारको त्यो हिम्मत र आट छैन तसर्थ यो नीति तथा कार्यक्रमलाई समर्थन गर्न सकिँदैन खास गरी मुख्यमन्त्रीलाई मेरो अनुरोध छ’ उनले थपे, ‘आफ्नै आगनमा रहेको फेवातालको शिर र पिँधसम्म गएर शिरमा गएर हेर्दा बिस्तारै अब फेवाताल घाँसे मैदानमा परिणत हुने देखिन्छ भने पिँधमा गएर हेर्दा फेवाताल फोहोरै फोहोरको ताल बन्दै भन्ने आवास हुन्छ ।’

नीति तथा कार्यक्रममा पर्यावरण, स्वच्छ वातावरण र हराभराका कुराहरु सैद्धान्तिक ढंगलेमात्रै उल्लेख गरेको तर यसबारेमा कुनै ठोस नीति र कार्यक्रम नरहेको बताए । पछिल्लो पाँच वर्षयता फेवाताल आसपासमा रहेका रामसारहरु पुरिन थालेका छन् । रामसारलाई आवास क्षेत्रमा परिणत गर्दै राज्यले नै रामसार मास्ने गरेको छ । यस अघि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पनि डोजर र टिपर चल्दा फेवाताल रोइरहेको र त्यसको कारण राज्य नै रहेको बताएका थिए । उनले संसदमा बोल्दै राज्यकै लापरबाहीका कारण फेवातालको आयु घट्दै गएको बताएका थिए ।

गण्डकी सरकारले तालहरुको विषयमा आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा ताल संरक्षण तथा सिमसार संरक्षण गर्ने उल्लेख गरेको छ । नीति तथा कार्यक्रममा भनिएको छ,‘ताल संरक्षण तथा विकास प्राधिकरण संस्थागत क्षमता विकासका गरी प्रदेश भित्रका सिमसार क्षेत्रहरुमा संघ सरकार र स्थानीय तहहरुसँगको सहकार्यमा संरक्षण, व्यवस्थापन एवं सौन्दर्यीकरण गरी पर्यापर्यटन प्रवर्द्धन गरिनेछ ।’

तीन वर्षअघि फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको थियो । प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

जिल्ला विकास समिति कास्कीका पूर्वसभापति पुण्यप्रसाद पौडेल संयोजकत्वको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले दिएको प्रतिवेदनलाई आधार मान्दै मन्त्रिपरिषद्ले तालको क्षेत्रफल निर्धारण गरेको हो । तर, सार्वजनिक गरिएको क्षेत्रफलको विषयलाई लिएर सरोकारवालाले असन्तुष्टि जनाएका छन् ।

पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने संयोकत्वमा गठित आयोगले गरेको अध्ययनअनुसार फेवातालको क्षेत्रफल १२ हजार आठ सय ७४ रोपनी (६.५४ वर्गकिलोमिटर) थियो । ०६९ जेठमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई त्यो प्रतिवेदन बुझाइएको थियो । लामिछानेका अनुसार १२ हजार आठ सय ७४ रोपनीमध्ये नौ हजार नौ सय ५५ रोपनी भने पानीले ढाकेको क्षेत्रफल थियो । अहिले लामिछाने प्रतिवेदनले औँल्याएभन्दा १५ सय ४५ रोपनी क्षेत्रफल खुम्चिएको छ । ०३८ मा युएनडिपीले गरेको अध्ययनले फेवातालको क्षेत्रफल ११ हजार चार सय रोपनी (५.८ वर्गकिलोमिटर) तोकेको थियो । तालको क्षेत्रफल ०१८ मा १० वर्गकिलोमिटर थियो । त्यही क्षेत्रफल ०३१ मा ६, ०३८ मा ५.८ र ०६९ मा ५.०६ वर्गकिलोमिटर (पानीको मात्रा) उल्लेख थियो । अहिले मापन गरेको क्षेत्रफल ०३८ को भन्दा पनि थोरै छ ।

प्रतिक्रिया दिनुहोस्