काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको विवाद उत्कर्षमा

विश्वविद्यालयको आर्थिक नियममा आठौँ संशोधन



काभ्रे। 

काठमाडौँ  विश्वविद्यालयमा प्रो.डा.भोला थापा उपकुलपतिमा नियुक्ति भएसँगै सुरु भएको विश्वविद्यालय र धुलिखेल अस्पताल बीचको विवाद उत्कर्षमा पुगेको छ । तत्कालीन उपकुलपति प्रो.डा. रामकण्ठ माकजु अस्पतालका संरक्षक समेत रहँदा समस्या नदेखिएको भए पनि तेस्रो कार्यकालका लागि माकजुलाई विश्वविद्यालयमा उपकुलपति नियुक्ति नगरेसँगै सुरु भएको विवाद उत्कर्षमा पुगेको हो ।

‘काठमाडौँ विश्वविद्यालय धुलिखेल अस्पतालसँगको सम्बन्धलाई अझै मजबुत बनाउन चाहन्छ, आर्थिक रुपमा पारदर्शी बन्न चाहन्छ’–उपकुलपति डा. भोला थापाले भन्नुभयो–‘त्यसकै लागि काठमाडौँ विश्वविद्यालय सभाले विश्वविद्यालयको आर्थिक नियम २०४९ मा आठौँ संशोधन गरेका हौँ ।’ ‘अस्पताल र विद्यालय दुवै घाटामा जाँदा जाँदै पनि त्यहाँ कार्यरत प्राध्यापक कर्मचारीको तलब वृद्धि गरिएको छ, विश्वविद्यालयले घाटा सहेर भए पनि संस्थाको निरन्तरता र सम्बन्धलाई कसिलो बनाउन चाहेको छ’–डा. थापाले भन्नुभयो– ‘विश्वविद्यालयको कार्यक्षेत्र भित्र पनि अस्पतालले हस्तक्षेप गर्दै एकेडेमिक नियुक्ति गरिरहेको छ । तर, पनि विश्वविद्यालय मौन छ ।’ विश्वविद्यालय आफैले पनि कुप्स नजिकै ३ सय शय्याको अस्पताल निर्माण गरिरहेको उपकुलपति डा. थापाले बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालय अन्तर्गतको स्कुल अफ मेडिकल साइन्स लगातार घाटामा गएपछि काठमाडौँ विश्वविद्यालयको ९५ औं बैठकले विश्वविद्यालयको आर्थिक नियम २०४९ मा आठौँ संशोधन गरेको बताएको छ । विश्वविद्यालयको २८ औं दीक्षान्त समारोहको दोस्रो चरणमा विभिन्न तहका विभिन्न उपाधिहरू प्रदान गर्न ग्रेसलिस्ट स्वीकृत गर्ने कार्यका लागि बसेको सभाले सोही निर्णय गरेको हो । ‘काठमाडौँ विश्वविद्यालय सभाको ९५ औं बैठकले दीक्षान्त समारोहमा पिएचडी, एमफिल, स्नातकोत्तर तथा स्नातक तहका विभिन्न उपाधिहरू प्रदान गर्न ग्रेसलिस्ट स्वीकृत गरेको छ’–रजिस्ट्रार प्रो.डा. अच्युत वाग्लेले भन्नुभयो–‘यस अघि दीक्षान्त समारोहको केही समय अघि नै ग्रेसलिस्ट स्वीकृत गरिँदै आएकोमा यो वर्ष विश्वविद्यालयको २०७८/२०७९ को वार्षिक कार्यप्रगति विवरण, आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक कार्यक्रम तथा अनुमानित आय ब्यय, आव २०७७/२०७८ र आव २०७८/२०७९ को वार्षिक लेखापरिक्षण प्रतिवेदन, आव २०७९/२०८० को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्तिका साथै आर्थिक नियम संशोधन गर्ने निर्णय गरेको छ ।’

मेडिकल साइन्स १८ करोड रुपैयाँ घाटामा गएको रजिस्ट्रार वाग्लेले बताउनुभयो । ‘आर्थिक पारदर्शिता, नियमित लेखापरीक्षण र विश्वविद्यालयको अंग समेत भएकाले त्यसको दायित्व र जिम्मेवारी पनि विश्वविद्यालयकै हो’– वाग्लेले भन्नुभयो– ‘विश्वविद्यालयलाई नै गुमराहमा राखेर भएका शैक्षिक र आर्थिक क्रियाकलापका कारण सिंगो विश्वविद्यालयकै छविमा आँच आउन लागे पछि कुलपतिज्यूलाई सबै विषयमा जानकारी गराएर आर्थिक नियम संशोधन गरेका हौँ ।’

प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले स्कुल अफ मेडिकल साईन्सेज लगायत काठमाडौँ विश्वविद्यालय अन्तर्गतका निकायहरुको खाता कुलपति र रजिस्ट्रार मार्फत सञ्चालन हुने निर्णय गरेको छ । यस अघि त्यस्तो व्यवस्था थिएन । सोही व्यवस्था नहुँदा विद्यार्थी भर्ना तथा अन्य क्षेत्रमा हुने आम्दानी खर्च पारदर्शी नभएको, पारदर्शी नहुँदा निरन्तर घाटामा गएको, विद्यार्थी भर्नामा पनि ७० प्रतिशत भन्दा विद्यार्थी भर्ना नभएको विश्वविद्यालयले बताएको छ ।

ज्येष्ठ २८ गते आइतबार हुने दीक्षान्त समारोहमा पिएचडी ९ जना, एमफिल ४१ जना, स्नातकोत्तर तहका ९८ जना र स्नातक तहका १ हजार ९२ गरी १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित हुँदैछन् । जसमा आर्ट्समा ३५, एजुकेसनमा ५७, इन्जिनियरिङका ३ सय ६५, लका १ जना, म्यानेजमेन्टका ५० जना, मेडिकल साईन्सेजका ५ सय ६५ जना र साइन्सका १ सय ६७ विद्यार्थी दीक्षित हुनेछन् । विश्वविद्यालयको इतिहासमा पहिलो पटक स्कुल अफ इन्जिनियरिङका ब्याचलर अफ आर्किटेक्चरमा २९ जनालाई उपाधि प्रदान गर्नेछ । हालसम्म विश्वद्यिालयबाट ४१ हजार २ सय ७५ जना विद्यार्थी उर्तिण भएका छन् । यो दीक्षान्त समारोहमा भारत लगायत ४ वटा देशका ७३ जना विद्यार्थी पनि सहभागी छन् । अघिल्लो वर्षको तुलनामा कोभिड लगायतका कारण विदेशी विद्यार्थीको संख्या घटेको छ ।

दीक्षान्त समारोहमा चान्सलर स्वर्णपदक स्नातकोत्तर तहमा स्कुल अफ एजुकेसनका सिद्धार्थ रजकले पाउने भएका छन् भने भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा स्कुल अफ एजुकेसनकी सञ्चिता केसीले पाउने भएकी छिन् । त्यस्तै जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक एमबिए तहबाट स्कुल अफ म्यानेजमेन्टकी प्रश्ना भट्टराई र रणबहादुर शाह स्वर्णपदक एमबिए तहमा स्कुल अफ म्यानेजमेन्टकी आयुस्मा पोखरेलले प्राप्त गर्ने भएकी छिन् ।

दीक्षान्त समारोहमा कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, मुम्बई विश्वविद्यालय लगायतका विभिन्न विश्वविद्यालयका पूर्व उपकुलपति र हाल एटलास स्किलटिच विश्वविद्यालय मुम्बईका उपकुलपति प्रो.डा राजन बेल्लुकर सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्