स्वास्थ्य क्षेत्र सुधारका लागि रणनीतिक योजना



नेपाल सरकारले पछिल्लो समय गरेका महत्वपूर्ण निर्णहरुमध्ये स्वास्थ्य क्षेत्र सुधारका लागि गरेको आठबर्से नयाँ रणनीति योजना जनस्वास्थ्यका हिसाबले निकै महत्वपूर्ण र स्वागतयोग्य छ । झन्डै डेढ महिनाअघि बसेको नेपाल सरकार तथा मन्त्रिपरिषद् बैठकले नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (२०७९÷८० – २०८७÷८८) स्वीकृत गर्ने निर्णय गर्नुले भावी योजना बनाउने बाटो खोलेको छ । तर यति ठूलो नयाँ योजना तथा रणनीति स्वीकृत भएको विषयमा स्वास्थ्य मन्त्रालय नै डेढ महिनासम्म अनभिज्ञ हुनुले सरकारको नियतलाई नै शंकाको घेरामा राखेर हेरिएको छ । स्वास्थ्य मन्त्रालयले आठबर्से नयाँ रणनीति ल्याउन २०७९ फागुन १९ गतेको मन्त्रिपरिषद्मा मस्यौदा भएपछि मन्त्रिपरिषद्, सामाजिक समितिमा छलफल गरी पेस गर्ने निर्णय गरेपश्चात् गत ४ वैशाखमा उक्त रणनीति स्वीकृत गर्ने निर्णय गरी योजना बनाएको छ । राज्यले प्रतिबद्धता जनाएको दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने र इन्डिकेटरहरु तय गर्नुपर्ने हुन्छ । यो कार्य पूरा गर्न रणनीति ल्याएको अवस्थामा कार्यान्वयन मजबुत होस् ।

राष्ट्रिय स्वास्थ्य नीति २०७६ को भावना अनुरुप यस क्षेत्रलाई अघि बढाउन मन्त्रालयले नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (२०७९÷८० – २०८७÷८८) अघि सारेको छ । यो रणनीतिले स्वास्थ्य प्रणालीको कुशलता र उत्तरदायित्व अभिवृद्धि गर्नका लागि स्वास्थ्यका बृहत् निर्धारकहरुलाई सम्बोधन गर्न सहज हुन्छ । यसले स्वास्थ्यमा दिगो लगानी र सामाजिक सुरक्षा प्रवद्र्धन हुनुपर्छ । यो रणनीतिले जनसंख्या र बसाइँ सराइको व्यवस्थापन राम्रो भए आठ वर्षमा स्वास्थ्यका लागि सीप–मिश्रित जनशक्तिको उत्पादन, परिचालन एवं समतामा आधारित योजना तर्जुमा सुरक्षित र जनमैत्री स्वास्थ्य पूर्वाधार तयार पार्नुपर्ने देखिन्छ । गुणस्तरीय औषधि र सामग्रीको नियमित उपलब्धता, सुशासन, नेतृत्व र जवाफदेहितामा ध्यान दिनुपर्छ । यस्ता विषयमा सुधार, जनस्वास्थ्य विपत्को प्रभावकारी व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा, सुविधासहितको लगानीमा वृद्धि गरी जनस्वास्थ्यको हितमा काम गर्नेतर्फ सरकारको ध्यान केन्द्रित हुनु जरुरी छ । राष्ट्रिय नीति तथा योजना अनुरुप आम नागरिक र राष्ट्रको स्वास्थ्यमा सरकारले सचेतना अपनाई कार्यान्वयन एवं अनुगमनमा जोड दिनुपर्ने देखिन्छ । यसअघि सरकारको सन् २०१५–२०२० को पाँचबर्र्से रणनीति अनुसार चलेको थियो । यसबीचमा कोभिड–१९ को महामारीका कारण करिब अढाइ वर्षको अन्तरालमा नयाँ रणनीति ल्याइयो । यस्ता रणनीति ल्याउँदा सरकारले कार्यान्वयनमा जोड दिनु आवश्यक छ । नेपाल सरकारले ल्याएका नीति, नियम, कानुन राम्रा छन् तर कार्यान्वयनको पाटो फितलो हुनुले जनस्वास्थ्यको समस्यामा उपलब्धि कम हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्