काठमाडौंबाट अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई जना प्रहरीको नियन्त्रणमा



काठमाडौं  । 

अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपास गरेको आरोपमा प्रहरीले चिनियाँसहित दुई जनालाई पक्राउ गरेको छ ।  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार दुई जनालाई पक्राउ गरेको प्रवक्ता एसपी संजयसिंह थापाले बताए ।

ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली खरिबोट बस्ने ३२ वर्षीय चिनियाँ नागरिक झाओ जियङपेङ र सिन्धुपाल्चोक घर भई काठमाडौं महानरगपालिका-१६ बस्ने २२ वर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरेको हो ।

टिकाथलीमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचना सिआइबीले पाएको थियो। त्यसपछि प्रहरीले उक्त स्थानमा निगरानी गर्न थालेको थियो । उनीहरूबाट विभिन्न विदेशी मुलुकका मुद्राहरू पनि बरामद गरिएको प्रहरीको भनाइ छ । उनीहरूबाट ४ लाख ८० हजार रुपैयाँ, एक हजार ९२५ अमेरिकी डलर, २५ लाख २५ हजार इन्डोनेसियन रुपिया, एक लाख १४ हजार ७७० श्रीलंकन रूपी, १० हजार ५०० आइसल्यान्डिक क्रोन, ५ सय चाइनिज येन, २ लाख ६० हजार म्यानमार क्याट बरामद भएको हो । दूरसंचार ऐन, २०५३ अन्तर्गत ललितपुर जिल्ला अदालतबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताए।

प्रतिक्रिया दिनुहोस्